२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बिन्दास तन्नेरी

काठमाडौं– ललितपुर, सानेपा बस्ने विमल आचार्य यसपटकको शिवरात्रिको अघिल्लो रात घर बसेनन्। साथीहरुसँग उनले पूरै रात पशुपतिमा बिताए। शिव बुटीका नाममा गाँजा, भाङ वा धतुरो भने सेवन गरेनन्।

शिवरात्रिलाई आम सोचाइजस्तो गरी मनाउन नभई त्यहाँको वातावरण कस्तो हुँदोरहेछ भनेर थाहा पाउन उनी त्यहाँ पुगेका रहेछन्।

वर्षमा एक दिन एकदुई सर्को तान्ने छुटले शिवरात्रितर्फ आकर्षित छ युवा पुस्ता।

फागुन कृष्ण त्रयोदशीका दिन पर्ने शिवरात्रि त्यही एक दिन मात्र मनाइँदैन। पशुपतिनाथ मन्दिरमा केही दिनअघिदेखि नै भक्तजन र बाबाहरुको भीड लाग्न थाल्छ। यही भीडमा आचार्यजस्ता तन्नेरी पुस्ता मिसिन्छन् र  रमाउँछन्।

बालाजुका अभिषेक खनालको बुझाइ भने अलि फरक छ। सानो छँदा आमाले शिव मन्दिरमा पूजा गरेर प्रसाद खान दिँदा नै उनलाई रमाइलो लाग्थ्यो। ठूलो भएपछि यस दिन गाँजा, भाङको स्वाद लिनै मौका पाए। अरु बेला सबैले लागूपदार्थ सेवन गरेको भनेर गाली गर्ने तर त्यस दिन कसैले केही नभन्दा उनलाई झन् रमाइलो लाग्न थाल्यो।

'यस दिन साथीहरुबीच गेट टुगेदर हुन्छ, यसै रमाइलो नि', उनले सुनाए।

अरु दिन भेट हुँदा हाईहेलो गर्ने साथीभाइ शिवरात्रि आउनु केही दिनअघि नै त्यसको सट्टा 'जयशम्भो!' भन्न थाल्छन्। सोसल मिडियामा जय शम्भोको स्टाटस, प्रोफाइल पिक्चर पनि शिव भगवानकै राखेको देखिन्छ। 'घोट्टा, भाङ, गाँजा धेरै नै खाएर हिँड्नु त पक्कै राम्रो होइन', अधिकांश युवाको यही भनाइ छ तर यस पर्व शिवजीकै प्रसाद भनेर थोरै चाख्ने अनि बिन्दास भएर शिवरात्रि मनाउने युवा पुस्ताको जमात अहिले बढ्दो छ। 

दसैंतिहारजस्ता चाडपर्वमा समेत युवाहरुको रुचि घटिरहेको बेला शिवरात्रिप्रति भने बढ्दो देखिन्छ। तन्नेरी पुस्ताका लागि शिवरात्रि 'बिन्दास' पर्व हो। साथीहरुसँग भेट हुने र बेफिक्री रमाइलो गर्न पाउने भएकाले पनि यो चाडपर्व रमाइलो लाग्ने गरेको उनीहरु बताउँछन्।

नयाँबानेश्वर बस्दै आएका खोटाङका सन्तोष ढकाललाई पनि शिवरात्रि साथीहरुसँग भेटघाट हुने र पशुपति मन्दिर परिसर घुमेर रमाइलो गर्न पाउँदा निकै रमाइलो लाग्छ। चार वर्षअघिदेखि नै शिवरात्रिका दिन साथीहरुसँग पशुपति गएर शिवजीको प्रसाद भन्दै भाङ खाने गर्छन्।

मैतिदेवीका विष्णु कार्की धार्मिक, सांस्कृतिकसँगै मनोरञ्जनात्मक पर्व भएकाले शिवरात्रि युवामाझ 'पपुलर' बनेको ठान्छन्। शिवरात्रिको दिन बिदा हुने भएकाले पनि उनी सकेसम्म हरेक वर्ष पशुपति जान्छन्। धार्मिक हिसाबले भन्दा पनि रमाइलो हेर्न र गर्न पशुपतिको रमझममा झुम्छन् यी तन्नेरी।

शिवरात्रिको समयमा पशुपतिमा भारतबाट आउने बाबाहरुको भीड लाग्छ। तन्नेरीहरुका आकर्षण बन्ने बाबाहरु र उनीहरुका गतिविधि नियाल्न मात्र होइन, उनीहरुसँग फोटो खिचाउन पनि तन्नेरीहरुको भीड लाग्छ। युवा मात्र नभई युवतीहरु पनि ती बाबासँग फोटो खिचाइरहेका भेटिन्छन्।

त्यसो त शिवरात्रिमा भगवान शिवको प्रसाद र शिवबुटी भनेर गाँजा, भाङ चाख्न सामाजिक रुपमै अनुमति दिइन्छ। एक सर्को गाँजा तान्न र भाङ मिसाएको प्रसाद खाएर लटि्ठन पनि युवाहरुको पशुपतिमा भीड लाग्ने गर्छ। 'कुलतमा फसेकाहरुले धेरै नै '‰याप' हुने गरी खाने भए पनि शिवरात्रिका दिन अरु बेला नखानेले कस्तो हुँदोरहेछ भनेर चाख्नु स्वाभाविक हो', कार्की भन्छन्।

केही वर्षअघि उनले पनि यसै गरी चाखी हेरौं न त भनेर शिवरात्रिका दिन गौशालामा भाङ हालेको लड्डु खाएका थिए। 'त्यो लड्डुले फनफनी पार्‍यो। त्यसपछि दिनभर कता गइयो, के गरियो पत्तै भएन। बेलुका बल्लबल्ल साथीको कोठामा पुगिएछ। भोलिपल्टसम्म ‰याप पारिरहेको थियो', उनले हाँस्दै सुनाए। त्यसपछि भने उनलाई भाङ खान नहुने रहेछ भन्ने महसुस भयो।

भारतबाट शिवरात्रि मेला भर्न पशुपतिनाथ आएका बाबासँग मागेर गाँजा तानेको अनुभव छ खनालसँग पनि। पशुपतिमै उनले भाङको लड्डु पनि चाखेका छन् तर उनको पशुपति जानुको खास उद्देश्य भने गाँजा र भाङ मात्र हुँदैन। साथीहरुसँग 'ह्याङआउट'को राम्रो अवसरको रुपमा उनी लिन्छन्। 'साथीहरु नभई त के रमाइलो? धार्मिक, सांस्कृतिक कुराले भन्दा पनि साथीभाइसँगको भेटघाटले महŒव राख्छ शिवरात्रिमा', खनाल भन्छन्।

'यस वर्ष पनि भाङ चाख्न छाडिएन', ढकाल हाँस्दै भन्छन्। उनका केही साथी गाँजा र भाङ खान 'पर्फेक्ट' भइसकेका छन्। उनीहरुको टोलीमै ढकाल पशुपति जान्छन् र शिवजीको प्रसाद चाख्छन्। '११ कक्षामा पढ्दादेखि नै प्रगाढ रहेको भाङसँगको सम्बन्ध अचेल अलि फिक्का हुँदै गइरहेको छ। गाँजा चैं निष्ठुरी र बैगुनी भएर हो कि आजसम्म सम्बन्ध गाँसिएको छैन', उनले ठट्य्ौली पारामा भने।

कक्षा ११ मा पढ्दा शिवरात्रिका दिन जीवनमा पहिलोपल्ट भाङ खाएको र त्यो दिन चोकमा बसेर छाँटेको गफ र हाँसेर रात कटाएको घटना उनका लागि अविस्मरणीय छ।

भक्तपुरका राजेश घिमिरेलाई फागुन महिना लाग्नासाथ रमाइलो लाग्न थाल्छ। शिवरात्रि यही महिनामा पर्ने र शिवरात्रिसँगै जाडो सकिने भएकाले उनी फागुन भन्नेबित्तिकै उत्साहित हुन थाल्छन्। अरुजस्तै उनी पनि शिवरात्रिको समयमा साथीहरुसँग पशुपतिनाथ मन्दिर वरपर घुम्छन्। बाबाहरुसँग रमाइलो गर्छन्। यो वर्ष पनि उनले शिवरात्रिका दिन पशुपति गएर रमाइलो गरे। 'प्रायः साथीहरु कुलतमा परेका छैनौं। तर शिवरात्रिको दिन वर्षको एकचोटि सबै साथी भेला भएर घोट्टा पकाएर खान्छौं', उनी भन्छन्, 'अनि नाचगान गर्दै मनाउँछौं।'

घिमिरेसँग पनि घोट्टा खाएपछिको रमाइलो घटना छ। एकपटक शिवरात्रिको दिन घोट्टा पिएर उनको एक जना साथीले सानो लट्ठीले इनार खन्न खोजिरहेका थिए। 'अनि हामी पाँच जना साथी कति बेला उसले इनार खनेर पानी निस्केला र पानी पिउँला भनेर कुर्दै थियौं', उनले सुनाए, 'त्यो पल सम्भि्कँदा अहिले पनि हाँसो उठ्छ।'

कार्कीका साथीहरु शिवरात्रि आउनुभन्दा एक साता अघिदेखि नै कसरी मनाउने भन्ने प्लान गर्न थाल्छन्। 'पढाइ र अन्य कामबाट ब्रेक लिन थाल्छन्। एक सातादेखि नै शिवरात्रि दिमागवरपर घुम्न थाल्छ', उनी भन्छिन्। पाँच वर्षअघिको शिवरात्रिमा उनी साथीहरुसँग पशुपति गएर तीन जना नागा बाबासँग बसेर गाँजाको सर्को तानेका उनी वर्षमा एक दिन शिवजीको बुटी खानुलाई सामान्य मान्छन्।

'नियमित रुपमा गाँजा र अन्य नशालु पदार्थ खाने बानी छैन। वर्षमा एक दिन खानु त सामान्य नै होजस्तो लाग्छ', उनी प्रस्ट्याउँछन्।

प्रकाशित: १४ फाल्गुन २०७३ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App