झापा— वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले सर्वसाधारणको आर्थिक अवस्था उकासिरहेको समाचार बारम्बार आइरहन्छ । तर, त्यही रेमिट्यान्सले बिदेसिएका युवाका परिवारलाई ‘अल्छी’ बनाइरहेको यथार्थ भने बिरलै आउँछ । झापामा यस्ता धेरै परिवार छन्, जसले गाउँमा भएको खेतबारी बाँझै छाडेर रेमिट्यान्सको बलमा सहरमा डेरा जमाएका छन्।
झापा मेचीनगर—७ की पूजा कार्की तीन वर्षदेखि बिर्तामोडमा डेरा लिएर बसेकी छन्। गाउँमा उनको सुविधासम्पन्न घर छ । तर, बिर्तामोडमा दुई कोठामा तीनवर्षीय छोरासहित उनी बस्दै आएकी छन्। उनको खेतबारी अहिले बाँझै छ।
सहर पस्नुलाई नै धेरैले जीवनस्तर सुधारको मानक ठान्दा यस्तो अवस्था आएको हो। छोराछोरी पढाउने बहानामा, पारिवारिक तनावको निहुँमा सहर छिर्ने तर गाउँमा भएको उर्बर जमिन बाँझै छाड्ने, विदेशमा भएका एकजनाको कमाइबाटै सबै खर्च चलाउने भएपछि विदेशको कमाइ अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । ‘परिवारको एक जनाले कमाउने भएपछि अरुले किन दुःख गर्ने भन्ने मानसिकताले यस्तो भएको हो’, हिमालय कलेजका समाजशास्त्रका अध्यापक सागर सिवाकोटी भन्छन्, ‘यो परम्परागत सोचाइले धेरै जनसंख्यालाई अल्छे बनाइरहेको छ।’
झापा मेचीनगर—७ की पूजा कार्की तीन वर्षदेखि बिर्तामोडमा डेरा लिएर बसेकी छन्। गाउँमा उनको सुविधासम्पन्न घर छ । तर, बिर्तामोडमा दुई कोठामा तीनवर्षीय छोरासहित उनी बस्दै आएकी छन्। उनको खेतबारी अहिले बाँझै छ।
दक्षिणी गाविस कुमोरखोदका महेश दाहालकी पत्नी शोभा गाउँको घर तथा खेतीयोग्य जमिन छाडेर दुई छोराछोरीसहित दमक—१२ मा डेरा लिएर बसेको चार वर्ष भयो । उनको खेतबारी पनि बाँझिएको छ।
पति बिदेसिएपछि गाउँ छाडेर सहरमा डेरा लिनेमात्रै होइन, उर्बर खेतबारी बाँझै छाड्नेको संख्या लगातार बढिरहेको छ। वैदेशिक रोजगारी व्यवसाय चलाइरहेका, बिदेसिएका परिवारका सदस्यका अनुसार बिदेसिएका धेरै पुरुषका पत्नी र धेरै महिलाका पति स्वदेशमा भने ‘अनुत्पादक’ समय बिताइरहेका छन्। ‘यस्तो संख्या बढ्नु समाजको एउटा ठूलो हिस्सा अनुत्पादक बन्नु हो’, सिवाकोटीको भनाइ छ, ‘यसो गर्दा रेमिट्यान्सको दुरुपयोग भएको छ।’ उनले व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले यस्तो कुरामा कमैको ध्यान गएको बताए।
कति त बिदेसिएका पतिकै सल्लाहमा पुख्र्याैली घर छाडेर सहरमा डेरा लिएर बसेका छन्। कतिले भिसा आएपछि विदेश जानुअघि नै परिवारलाई सहरका घरमा डेरामा राखेर विदेश जाने गर्छन्। ‘यो कुनै नौलो कुरा होइन’, ओशो रिक्रुटिङ एजेन्सीका सञ्चालक द्रोण खनाल भन्छन्, ‘धन कमाउन बिदेसिएकाका घरमा प्रायः वृद्घ आमाबाबुमात्रै भेटिन्छन्।’ उनको एजेन्सीबाट मासिक ३० देखि ३५ जना खाडी मुलुक जाने गरेका छन् । खाडी मुलुक जानेमध्ये १५ देखि २० प्रतिशतले घर छाडेर सहरमा डेरा लिएर परिवार राख्ने गरेको खनालको भनाइ छ । धेरैले त घरमा तालाचाबी लगाएरै डेरा लिएर परिवार राखेको पनि भेटिन्छ।
पूजा कार्कीका पति विकास सात वर्षदेखि कतारमा छन्। पूजा भने छोराछोरीको पढाइलाई ध्यानमा राखेर गाउँको घर छाडेर डेरा बसेको बताउँछिन्। विकास ओशो रिक्रुटिङ एजेन्सीमार्फत नै कतार पुगेका हुन्। ‘श्रीमान् विदेश गएको केही वर्षसम्म त म बुबाआमा (सासूससुरा) सँगै बसें’, पूजा भन्छिन्, ‘पछि पतिले नै गाउँमा बस्न असुविधा भयो, बच्चालाई स्कुल पठाउन समस्या भयो भनेर बिर्तामोडमा डेरा खोजेर बस्न भनेपछि यहाँ बसेकी हुँ।’ उनका छोरा बिर्तामोडको निजी विद्यालयमा एलकेजीमा अध्ययनरत छन्। श्रीमती र छोराको डेरा भाडा, पढाइ खर्च, लत्ताकपडा र खानपिनमा न्यूनतम २० देखि ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ।
पति वैदेशिक रोजगारका लागि काम गर्न जाने निश्चय भएपछि छोराछोरीलाई राम्रो स्कुल पढ्न तथा परिवारले दुःख नपाऊन् भनेर डेरा खोजेर राख्ने चलन बढेको महेशकी पत्नी शोभा बताउँछिन्। पाँच वर्षअघि दुबई पुगेका महेशले विदेश पुगेको एक वर्षपछि पत्नीसहित छोराछोरीलाई दमक—१२ मा डेरा लिएर राखे । उनको कुमोरखोदमा करिब आधा बिघा खेतीयोग्य जमिन छ। ‘पति विदेश गइहाल्नुभयो। खेतीकिसानी कसले गर्ने, मलाई नानीहरुलाई खाना बनाएर खुवाएर स्कुल पठाउँदै ठिक्क हुन्छ’, शोभाले भनिन्, ‘अनि उहाँले नै हामीलाई दमकमा बस्ने सल्लाह दिनुभयो ।’ उनले दमक चोकमै मासिक आठ हजार रुपैयाँका दरले तीनवटा कोठा भाडामा लिएकी छन् । उता गाउँको खोतीयोग्य जमिन भने बाँझै छन्।
रोजगारीका लागि विदेश हान्निएका परिवारका धेरै सदस्यले पुरानो थातथलो छाडेर सहर बस्ने गरेको मिमोसा मेनपावर प्रालिका सञ्चालक मेदनी पाठक बताउँछन् । ‘वैदेशिक रोजगारीमा गएका अधिकांशको परिवार गाउँ छाडेर सहर पस्ने गरेका छन्’, पाठकले भने, ‘यसैका कारण घरभाडामा लिएर बस्नेको चाप छ ।’ उनको मेनपावरबाट मासिक १५ देखि २० जनासम्म विदेश जाने गरेका छन्।
पति विदेश गएपछि पत्नी र छोराछोरीलाई सहरमा डेरा खोजेर राख्ने चलनले परिवारका अन्य सदस्यसँग विखण्डन पनि ल्याइदिएको छ । ‘वैदेशिक रोजगारीले ल्याएका धेरै सकारात्मक परिणाम छन्’, वैदेशिक रोजगारी व्यवसायी खनालले भने ‘तर सँगै केही नकारात्मक परिणाम पनि ल्याएको छ । पारिवारिक विखण्डन, अनुत्पादक क्षेत्रमा लगानी र अल्छीपन पनि बढेको छ । यो सकारात्मक कुरा होइन।’
प्रकाशित: १३ फाल्गुन २०७३ १३:५५ शुक्रबार