१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘नागरिकतामा परिचय फेरेपछि यौन हिंसाबाट जोगिएँ’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।

राजनीतिक तथा सामाजिक कार्यमा मात्रै नभई आफन्त र घरपरिवारबाट समेत तातो फलामले डामेजस्तै महसुस गरेकी बुदुजाले बोल्दा बोल्दै आँसु पुछ्दै रुन्चे स्वरमा बोल्दा केही बेर गला नै अवरुद्ध भयो।

म्याग्दी जिल्लाका सार्वजनिक भएकी एक मात्रै तेस्रो लिङ्गी बुदुजाले बाल्यकालदेखि अहिलेसम्म भोकेको पारिवारिक, राजनीतिक तथा राज्यका संयन्त्रबाट गरिएको तल्लो स्तरको व्यवहारका बारेमा खुलेर बोलिन्। उनी आँखाबाट आँसु निकालेर बोल्दै गर्दा वरिपरि रहेका अन्य सहभागीको समेत आँखा रसाए। समाजको चाहना अनुसार महिला र पुरुष नहुँदा भोकेको पीडा सुनाउँदै गर्दै कार्यक्रममा सहभागी महिलाको आँखा रसाएको थियो।

‘बाल्यकालदेखि अहिलेसम्म तेस्रो लिङ्गी भएकै कारण मसँग कहिल्यै मीठो बचन बोलेनन्,‘यौन हिंसादेखि धेरै लडाई पार गदै यहाँसम्म आएको छु’ बुदुजाले भनिन्। 

हाउभाउ र बोल्ने शैली छोरीको जस्तै भए पनि शरीर पुरुषको भएकाले हिजडा भन्दै अपमान गर्ने गरेको उनले बत्ताइन्। बि.स २०६८ सालमा महिलाको परिचयबाट तेस्रो लिङ्गीको नामबाट नागरिकता निकालेपछि राजनीतिक रुपमा पहिचान समेत गुमाएको उनले बत्ताइन्।

उनले आफ्नो नाम दिलकुमारी बुदुजा देखेपछि ज्यान नै जोगाउन समस्या भएपछि आफुँले नागरिकताबाट कुमारी हटाएको बत्ताइन्। 

‘जागिरदेखि राजनीतिक अवसरसम्म तेस्रो लिङ्गीकै कारण वञ्चित हुनुपर्‍यो,‘नेताहरूबाटै झण्डै बलात्कारको सिकार भए’ समावेशी मञ्च नेपालका अध्यक्ष बुदुजाले भनिन्। 

बोल्ने क्रममा घोप्टिएर आँसु लुकाउने प्रयास गरेकी बुदुजाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएकै कारण राजनीतिक रुपमा समेत  उम्मेदवार बनाउनबाट वञ्चित गराएको गुनासो गरिन्।

हत्तपत्त आँसु नखसाल्ने बुदुजाले पत्थरको जस्तै मुटु भए पनि आफ्नो जीवनमा भोकेको समस्याले रुन बाध्य भएको बत्ताइन्। गएको प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभाका लागि  नेकपा एकीकृत समाजवादीको तर्फबाट समानुपातिककी उम्मेदवार समेत रहेकी बुदुजाले प्रणालीमा परिवर्तन र राज्यबाट सहयोग नपाएको गुनासो गरिन्।

उनले निर्वाचन आयोग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरोधी भएकाले कानुनी लडाई लडेर मात्रै उम्मेदवार बन्न सफल भएको बत्ताइन्। बि.स २०७४ सालको स्थानीय चुनावमा उम्मेदवारी दिन चाहे पनि आफ्नै पार्टीले पहिचानसहितको नागरिकताले उम्मेदवारी खारेज हुने भन्दै अवरोध गरेको बत्ताइन्।

‘मैले राजनीतिक यात्रा छोड्दैन्,‘लैङ्गिक पहिचानबाटै संसद्मा पुगेर आफ्नो नाम राख्ने छु’ बुदुजाले भनिन्। बुदुजाले भोगिरहेको समस्यालाई “विभेदको फरक स्वरूप र राज्यको नजरमा दोस्रो दर्जाको नागरिकको संज्ञा दिएकी छन्। 

म्याग्दीमा आफुँजस्ता धेरै भए पनि परिचय खुलाउन नसक्ने अवस्था रहेको बत्ताइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले हरेक निकायमा व्यवधान झेल्नु पर्ने भएकाले अबको लडाई कानुनी र प्रतिरोधात्मकता हुने उनीहरुको भनाई छ। 

म्याग्दीको स्थानीय तहका जनप्रतिनिधिहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकारको सुरक्षा र कार्यान्वयनका लागि आफूहरू संवेदनशील रहेको प्रतिबद्धता जनाएका छन्।

नेपालको संविधानले धारा १२ मा नागरिकताको हक, धारा १८ मा समानताको हक र धारा ४२ मा सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हक सुरक्षित गरेको छ। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनसङ्ख्या १० लाख रहेको जनाइएको छ। सामान्यतया: कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छन् वा कोही शारीरिक रूपमा महिलाको रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबले आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र पर्दछन्।

प्रकाशित: २७ वैशाख २०८० १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App