२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

किर्ते गरी जग्गा बेचेको आरोपमा दुई जना पक्राउ

किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्। लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष रामनिवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन्।

कुर्मी नगरपालिका-११ थुन्हिया र यादव नगरपालिका-९ वीरपुरका हुन्। दुवैले साबिक वीरपुर गाविस- ९ स्थित मुकेश यादवका नाममा रहेको ११ धुर जग्गा नक्कली राजीनामा बनाएर बेचेका थिए। दुवैले नक्कली राजीनामा बनाएर कृष्णनगर नगरपालिका-११ बस्ने रेखा लोहारलाई सो जग्गा बिक्री गरेको वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लीला कुँवरले बताए।

आरोपी कुर्मीले पीडित लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए।

चौधरीले लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका थिए। चार दिनसम्म पनि जग्गाको पुर्जा नपाएपछि आफूलाई शंका लागेको पीडित लोहारले बताइन्।

 उनले कुर्मी र यादवविरुद्ध इलाका प्रहरी कार्यालय चन्द्रौटामा उजुरीसमेत दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले जग्गाका सबै कागजात झिकाएर अनुसन्धान गर्दा जग्गाको नक्कली कागज खडा गरिएको भेटिएको कुँवरले बताए।

राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविकता, जग्गाको स्रेस्ताको विवरण लगायतका कुरा नक्कली रहेको भेटिएको थियो। मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्ष्मण चालिसेले सो जग्गा किर्ते र जालसाजी गरेर बेचिएको बताए। पक्राउ परेका चौधरी र यादवलाई किर्ते तथा जालसाजी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुमा म्याद थपिएको छ।

प्रकाशित: २६ वैशाख २०८० ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App