२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार आरोपी पक्राउ गर्न जाँदा प्रहरी कुटिए

बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बलात्कार आरोपी पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न गएको प्रहरीमाथि गाउँलेले आक्रमण गरेका थिए।

सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए। गाउँलेहरुको आक्रमणबाट स्थाई प्रहरी पाेष्ट करदेबका असई लक्ष्मीरुद्र रावत र पीडित परिवारका सदस्य धनमान विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए।

घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते विकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइते दुबैलाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ। घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकोप्टर पठाइदिन पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए।

बलात्कार आरोपी बुढा हत्कडीसहित फरार भएका छन्। उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको निमित्त प्रहरी प्रमुख बमले जानकारी दिए।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए। पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि सोमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न ढुंगेलसहित चार जना प्रहरी टोली गएको थियो। प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८० ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App