१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरानमा उभौली पर्वसँगै गुन्जियो कोशी प्रदेश नामाङ्कन खारेजीको माग

धरानको भानु चोकमा शनिबार साकेला नाच्दै किरात राई समुदाय। तस्बिर: रोहित राई

किराँती समुदाय उभौली पर्वको खुसीयालीमा छन्। विगतमा जस्तै ढोल र झ्याम्टाको तालमा साकेला, च्याब्रुङ नाचिरहँदा भने गीतको लय केही फेरिएको छ।

यसपालि किराँती समुदायले उभौली पर्वलाई कोशी प्रदेश नामाङ्कन खारेजीको आन्दोलनसँग जोडेका छन्, र उभौलीको शुभकामना आदानप्रदान कार्यक्रमहरूमा ढोल झ्याम्टासँगै कोशी प्रदेश नामाङ्कन खारेजीको नारा पनि गुन्जिरहेको छ। वैशाख पूर्णिमादेखि सुरु भएको उभौली पर्वलाई पहिचान पक्षधर सङ्घसंस्थाहरूले सांस्कृतिक आन्दोलनको रुपमा अघि बढाएका छन्।

शुक्रबार साँझ किरात याक्थुङ चुम्लुङले भानुचोकमै यक्वा तङनाम मनाउँदै कोशी प्रदेश नाम खारेजीको माग गरेको थियो। लिम्बु जातिको विशेष खानपिन जाँड वितरण गरेर भानु चोकमा सांस्कृतिक आन्दोलन घोषणा गरिएको थियो। शनिबार भने भानु चोक क्षेत्र राई जातिको साकेला नाचमय बन्यो।

किराँत राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा उभौली शुभकामना आदानप्रदान कार्यक्रममा वृहत् साकेला सिली प्रदर्शनी मात्र भएन, कोशी प्रदेश नामाङ्कन खारेजीको आन्दोलन निरन्तर रहेको उद्घोष पनि भयो।

‘उभौलीको शुभकामना आदानप्रदान र साकेला सिली प्रदर्शनी कार्यक्रम हो, तर प्रदेश १ को नामाङ्कन कोशी गरिएको विरोध पनि हो। कोशी प्रदेश नाम खारेज गर्ने र पहिचान, सभ्यताको आधारमा नामाङ्कन गरिनुपर्छ भन्ने माग गर्दै उभौली मनाउदैछौं, ’यायोक्खा धरान अध्यक्ष लोकेन्द्र चाम्लिङ राईले भने।

वैशाखे पूर्णिमादेखि राई, लिम्बु, याक्खा र सुनुवार चार किरातीहरुले आआफ्नो संस्कार, परम्परा अनुसार उभौली मनाउँछन्। किरात राईहरुले वर्षको २ पटक साकेला उभौली र उँधौली चाडलाई धूमधामले मनाउने गर्छन्।

उभौली वैशाखे पुिर्णमादेखि विधिवत् ढोल झ्याम्टा फुकाएर करिब १५ दिनसम्म आँगनमा स्याउला गाडेर धूमधामसँग साकेला सिली नाच्ने गर्छन्। अन्नबाली लगाउने बेला समय साल राम्रो होस्, अन्नबाली सप्रियोस्, सह बसोस्, अनिकाल नलागोस्, सबै जीव प्रणालीमा सुख, शान्ति होस भन्ने कामना गर्दै उभौली मनाइन्छ।

यस्तै, अन्नबाली पाकी सकेपछि घर भित्र्याएर घरभित्रको पवित्र चुलालाई चढाई आफ्ना पितृहरूलाई पूजा गरी आर्शिवाद मागेर नयाँ अन्नबाली खाने, आफन्तहरुलाई भेला भएर खुसीयाली मनाउने चाड उँधौली भनिन्छ।

किराँत राई यायोक्खा सुनसरीले पनि १५ दिन (जेठ ६) गतेसम्म जिल्लाभरि साकेला उभौली मनाउने तालिका सार्वजनिक गरेको छ, र उभौलीलाई सांस्कृतिक आन्दोलनको रुपमा अघि बढाउने घोषणा गरेको छ।

यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले कोशी प्रदेश नामाङ्कन खारेज नभएसम्म मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवनअघि च्याब्रुङ, ढोल झ्याम्टा बजाएर नाचिरहने बताए।

संविधानसभा सदस्य किरण राईले सरकारले आन्दोलनको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई सरकारले सहिद घोषणा गर्दा नै कोशी प्रदेश नाम खारेज भएको जिकिर गरे। 

यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले कोशी प्रदेश नामले प्रदेशवासीको भावनालाई समेट्न नसकेकै कारण आन्दोलन भइरहेको र प्रदेश अशान्त भएकोले खारेजी हुनै पर्ने बताए।

तस्बिरमा हेर्नुहोस् धरानको साकेला नाच। तस्बिर: रोहित राई/नागरिक

प्रकाशित: २३ वैशाख २०८० १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App