१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओझेलमा गृह श्रमिक

कामका कुरा

गोदावरी नगरपालिका चापागाउँस्थित चन्द्रलक्ष्मी शाही विगत ३० वर्षदेखि बुनाइको काम गर्दै आइरहेकी छिन्। आफ्नो घरायसी कामको चाँजोपाँजो मिलाएर कम्तीमा दैनिक तीनचार घण्टा हस्त बुनाइलाई समय दिँदा मासिक ७/८ हजार कमाउँदै आएकी छिन्। रुमाल, टोपी, मफलर, मोजा, स्विटरजस्ता सामग्री बनाएर उनी खाली भएको समयलाई सदुपयोग गर्दै आएकी छिन्।

उनले हस्त निर्मित सामान बनाउनका लागि सभा नेपालद्वारा सामान ल्याउने गरेकी छिन्। ‘परिवारमा १३ जनाको खाना एउटै भान्सामा पाक्छ,’ उनी भन्छिन्, ‘परिवार चुँडिएको छैन। मेरो परिवार लगायत देवर जेठाजुको परिवार सबैको एउटै भान्सामा खाना पाक्छ। घरको सबै काम भ्याएर यो सिलाइबुनाइको काम गर्ने गरेकी छु।’

विवाहपहिले नै हस्त कलाका विभिन्न सिप आउने गरेको उनले बताइन्। उनी खाली समयमा कही कतै डुल्नुभन्दा हस्त निर्मित सामग्रीको काम गर्न धेरै रुचि राख्छिन्।

सजावटका सामग्री एवम् बच्चाका खेलौना बनाई बिक्री गर्दै आएको उनको कथन छ। हुन त यसरी नै बजारमा हस्त निर्मित सामग्री बनाउने कुनै पसल पनि अहिलेसम्म खासै देखिँदैनन्। ‘यो हस्त निर्मित काम गर्दा बुनाइका लागि सियो धेरै चलाउनुपर्छ। यसले गर्दा आँखा पनि कमजोरी भएको छ। आँखाको औषधीमुलो कसले गर्छ?’ उनको गुनासो छ।

कुनै एक हस्त निर्मित सामान बुन्नलाई कम्तीमा चार घण्टा लाग्छ। तर यसको राम्रो बजार व्यवस्थापन नभएको शाहीको गुनासो छ। हस्त निर्मित सामान मेसिनमा सिलाइ गरेकोभन्दा बलियो हुन्छ तर पनि यसको बजारीकरण छैन।

‘परिवारमा १३ जनाको खाना एउटै भान्सामा पाक्छ,’ गोदावरी नगरपालिका चापागाउँस्थित चन्द्रलक्ष्मी शाही भन्छिन्, ‘परिवार चुँडिएको छैन। मेरो परिवारलगायत देवर जेठाजुको परिवार सबैको एउटै भान्सामा खाना पाक्छ। घरको सबै काम भ्याएर यो सिलाइबुनाइको काम गर्ने गरेकी छु।’

चापागाउँकी अर्की गृह श्रमिक रिजना तुलाधर श्रेष्ठ पनि शाहीजस्तै हातबाट बनाइएका सामान निर्माण गर्नमा पोख्त छिन्। धेरै पहिले उनले सभा नेपाल र आइएलओको समन्वयमा तालिम लिएकी थिइन्। अहिले आफै ट्रेनर पनि हुन्। गोदावरी नगरपालिकाबाट उनले साबुन, अचारजस्ता अन्य हस्त सामग्रीको पनि तालिम लिएकी थिइन्।

चापागाउँ बस्तीमा उनले थुप्रै महिलालाई हस्त निर्माणसम्बन्धी तालिम पनि दिँदै आएकी छिन्। लुगा धुने डल्लो साबुन, झोल साबुन, अचार, रेसमको धागोको गहना र जुत्ता तथा अन्य सामानहरू उनी निर्माण गर्छिन्। अब चाँडै नै गोदावरी नगरपालिका वडा नं. ११ को नेतृत्वमा एमरी क्याफे खोल्ने उनले बताइन्।

‘हस्त निर्मित सामानका लागि बजार व्यवस्थापन गुणस्तरीय बनाउनका लागि गोदावरी नगरपालिकाले पहल गर्दै छ,’ उनले भनिन्। पहिला महिलालाई घरबाट बाहिर निस्कन धेरै समस्या हुन्थ्यो भने अहिले घरघरमा शिक्षित महिलासहित स्वयम् उद्यमी रहेका छन्। एक घरमा महिलाले उन्नति गर्दा दोस्रो घरका महिलालाई प्रेरणाको स्रोत बनेको छ।

हस्त निर्मित सामग्रीले बजार लिएको देख्दा अन्य छिमेकीलाई समेत यसले प्रभाव पारेको छ। बज्रबाराहीकी आशा तुलाधारले पनि आफ्नै घरमा ५/७ जनालाई काम दिँदै आएकी छिन्। उनी बेहुलीले लगाउने मखमलको जुत्ता दैनिक १०/१५ वटा निर्माण गर्दै आइरहेकी छिन्। ‘हामीले हात खियाएर सामान बनाएका हुन्छाैं तर त्यो सामान बजारसम्म पुग्दा बिचौलियाले दोब्बर तेब्बर नाफा खाएर बेचबिखन गरेको हुन्छन्,’ गृह श्रमिक तुलाधार बताउँछिन्।

सामान राम्रोसँग बजारमा पुग्न नपाएको उनको गुनासो छ। उनले आगामी दिनमा स्थानीय निकायले केही सहयोग गरेमा थप उपकरण खरिद गरी सिलाइबुनाइलाई अगाडि बढाउने उनको कथन छ।  

राज्यले महिलालाई सिप विकासका तालिमहरू सञ्चालन गर्दा यस्तै कार्यक्रममा जोड दिन सकेमा समाजका थुप्रै महिलाले सिप सिकी आयआर्जनका काममा लाग्न सक्छन्।

होमनेट इन्टरनेसनलको कार्यक्रममा विभिन्न २९ देशबाट नेपालका गृह श्रमिकको अवस्था अध्ययन गर्न काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भ्रमण गर्न आएका थिए। नेपालको भ्रमणसँगै प्रत्येक देशको आफ्नो पहिचान देखाउन पनि उनीहरू आएका थिए। उनीहरूले पहिचानसँगै आफूले निर्माण गरेका हस्तनिर्मित सामानहरू काठमाडौंस्थित याक एन्ड यति होटलमा स्टलका रूपमा पनि राखेका थिए।

अप्रिल २५ देखि २८ सम्मका लागि तय गरेको कार्यक्रमको तेस्रो दिन टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा अध्ययन गरेका थिए। ‘हामी धेरै छौं, हामी एकताबद्ध छौं, हामी होमनेट इन्टरनेसनल हौं,’ भन्ने नारासहित होमनेट इन्टरनेसनल टोलीले नेपाल भ्रमण गरेको हो। चार दिन अवधिमा केही औपचारिक कार्यक्रम सम्पन्न भए भने केही अनौपचारिक कार्यक्रम पनि भएका थिए ।

‘हामीले विदेशी पाहुनासँगै काठमाडौं र ललितपुरका दुर्गम बस्तीमा भ्रमण गर्‍यौं। टोलीले त्यहाँका गृह श्रमिकको अवस्थाका बारेमा अध्ययन गरेको छ,’ होमनेट दक्षिण एसियाकी क्षेत्रीय संयोजक सृष्टि मल्ल जोशीले बताइन्।

२९ वटै देशका गृह श्रमिकले नेपालमा के कसरी काम गरिरहेका छन् भन्दै स्थलगत अध्ययन गरेका थियो। उक्त फिल्ड भिजिट खोकना (ओमन अवेरनेस सोसाइटी), साथी काठमाडौं, सुनाकोठी ललितपुर (ओमन फर ह्युमान राइट्स) सभा नेपाल चापागाउँ र बुङ्मतीजस्ता विभिन्न ठाउँमा २९ देशका गृह श्रमिकहरूले विभिन्न क्षेत्रमा भ्रमण गरेका थिए।

उक्त सम्मेलनमा नेपालका गृह श्रमिकबाट के कस्ता सामान बन्ने रहेछन् भनेर २९ वटै देशका गृह श्रमिकले स्थलगत भ्रमण गरेका हुन्। आफ्नो घरायसी काम सकेर गृह श्रमिकबाट एउटा बन्द कोठामा बनाइएका सामानको राम्रो बजारीकरण होस् भन्ने होमनेट इन्टरनेसनलको उद्देश्य हो ।

साथै ओझेलमा परेका महिलाहरूबाट निर्मित सामानलाई गुणस्तरीय बनाउने माग रहेको संयोजक जोशी बताउँछिन्। अत्यधिक मात्रामा गृह श्रमिकले सामान बनाएको खण्डमा पानी चुहिने घर हुँदा वा ओसिलो भुईंले सामान बिग्रने समस्याले गृह श्रमिक पिडित रहेको जोशीले गुनासो गरिन्।

गृह श्रमिकले बनाएका सामान अब गुणस्तरीय हुनुपर्छ, सामानको बजारमा राम्रो व्यवस्थापन हुनुपर्‍यो भन्ने पहिलो अपेक्षा रहेको गृह श्रमिकहरूको गुनासो रहेको छ।

चापागाउँकी अर्की गृह श्रमिक रिजना तुलाधर श्रेष्ठ पनि हातबाट बनाइएका सामान निर्माण गर्नमा पोख्त छिन् । धेरै पहिले उनले सभा नेपाल र आइएलओको समन्वयमा तालिम लिएकी थिइन् । अहिले आफै ट्रेनर पनि बनेकी छिन्।

आफ्ना प्राथमिक क्षेत्रका बारेमा छलफल गर्न होमनेट इन्टरनेसनलले महामारीको समयमा सुरु गरेको एकतालाई थप मजबुत बनाउन पहिलोचोटि प्रत्यक्ष भेटघाट गरेको थियो।  

यस ऐतिहासिक सम्मेलन सन् १९७० को दशकदेखि आयोजना हुँदै आएको हो। संसारभरका गृह श्रमिक आन्दोलनप्रति ऐक्यबद्धता रहेको होमनेट इन्टरनेसलनकी नयाँ अध्यक्ष फिलिपिन्सकी जोसेफिन ओलिभ परिलाले बताइन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले सन् २०१९ मा गरेको अध्ययनअनुसार संसारभर २६ करोडभन्दा बढी गृह श्रमिक छन्। यसले विश्वको श्रम बजारमा ८ प्रतिशत कामदार समेटेको देखिन्छ।

 २६ करोड श्रमिकमध्ये १४ करोड ७० लाख महिला रहेको र संसारभरका झन्डै दुई तिहाइ (६५ प्रतिशत) गृह श्रमिकहरू एसिया प्रशान्त क्षेत्रमा रहेको तथ्यांक छ।

अनौपचारिक अर्थतन्त्रमा अन्य कामदारमा प्रयाप्त आर्थिक अवसर अधिकांश गृह श्रमिकले नपाएको र सामाजिक सुरक्षा, कानुनी अधिकार एवम् आफ्ना आवाजहरू प्रतिनिधित्व गर्न नपाएको होमनेट इन्टरनेसनलमा आबद्ध गृह श्रमिकको गुनासो छ।

खासगरी महिला गृह श्रमिकलाई थप पहिचान र प्रचार गर्न, विश्व मञ्चहरूमा बलियो बनाउन, एकताबद्ध र प्रतिनिधित्वसहितको आवाज प्रदान गर्न होमनेट इन्टरनेसनलको स्थापना गरिएको हो।

सन् २०२१ फेब्रअरीमा २० वटा देशका ३६ गृह श्रमिक संस्था यस होमनेट इन्टरनेसनलमा आवद्ध भएका थिए। ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, पूर्वी युरोप र मध्ये एसियाका ३३ देशबाट ७५ आबद्ध संस्थाहरू होमनेट इन्टरनेसनलमा आबद्ध छन्। 

प्रकाशित: २३ वैशाख २०८० ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App