२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

महोत्तरीमा विपन्न समुदायलाई निःशुल्क एलपिजी ग्यास वितरण गरिने

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आज यहाँ आयोजित एक कार्यक्रममा दूतावासका प्रथम सचिव करुण वंशल र फाउन्डेसनका निर्देशक सुशीला ठाकुरले हस्ताक्षर गरेका थिए।

भारत सरकारले उक्त फाउन्डेसनलाई उपलब्ध गराएको करिब पाँच करोड अनुदानबाट महोत्तरी जिल्लाका पाँच नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने कुरा सो सम्झौतामा उल्लेख छ।

दाउरा, कोइला, गुँइठाजस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपिजी ग्यास उपलब्ध गराउने उद्देश्यले भारत सरकारको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ अन्तर्गत सो अनुदान उपलब्ध गराएको हो।

सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८ वटा सम्पन्न भइसकेका छन्। तीमध्ये महोत्तरी जिल्लाका छवटा गरी मधेस प्रदेशमा मात्र ८१ वटा आयोजना रहेका छन्।

यसका अतिरिक्त भारत सरकारले महोत्तरी जिल्लाका विभिन्न अस्पताल एवं स्वास्थ्यचौकीलाई २३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ।

एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ।

प्रकाशित: २१ वैशाख २०८० १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App