२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नापी प्रमुखको ‘सेटिङ’ मा सार्वजनिक इनार व्यक्तिको नाममा

नापी कार्यालय धनुषाका प्रमुख सुमन किशोर मिश्रले सार्वजनिक इनारको जग्गा व्यक्तिको नाममा सारेको पाइएको छ। अनुचित लाभ लिएर जनकपुरधाम उपमहानगरपालिका २१ काे सार्वजनिक इनारलाई नै लुप्त बनाइएको हो।

नापी कार्यालयको ७ नम्बर फारममा जगदीश झाको नाममा ९ धुर जग्गा कायम रहेको देखिन्छ। जगदीश झाले दाजुभाइमा गरेको अंशवण्डामासमेत ९ धुर जग्गा नै उल्लेख छ। तर टोली प्रमुख दिलीप कुमार साह र नापी कार्यालय प्रमुख सुमन किसोर मिश्रले मोटो रकम लिएर सार्वजनिक इनार रहेको ७ धुर जग्गा थप गरी १६ धुरको प्रमाण पुर्जा बनाएको आरोप स्थानीयले लगाएका छन्। नक्सा र पुर्जासमेत मिश्रले बनाइ दिएका छन्। 

फिल्ड बुक उतार, ७ नम्बर फारमको प्रतिलिपि र झाको अंशबन्डा भएको कागजातको प्रतिलिपिसमेत नापी कार्यालयमा निवेदन साथ स्थानीय बासिन्दाले पेस गरेका छन्। जग्गा नापी गर्ने अमिन नवलकिशोर यादवले प्रतिवेदन दिएको आधारमा जग्गाको पुर्जा कायम भएको टोली प्रमुख साहले बताए।

‘मैले कुनै लेनदेन नगरी सिफारिस मात्र गरेको छु’ उनले भने, ‘जसको टेबुलबाट भएको हो, त्यसले जानुन्।’

उनले इनार रहेको विषयमा कुनै प्रतिक्रिया जनाउन चाहेनन्। ०६९ कार्तिक २० मा इनारको जग्गा रोक्न मागसहितको निवेदन दर्ता भएपछि कार्यान्वयन रोकिएको थियो।

२०७९ मंसिर १५ गते टोली प्रमुख दिलीप कुमार साह र कार्यालय प्रमुख मिश्रले ९ धुर जग्गालाई १६ धुर कायम गरी प्रमाण पुर्जा बनाउन मोटो रकमको चलखेल भएको बताइएको छ। गाउँ ब्लकको जग्गा नापी हुँदा कुर्था वडा नम्बर ८ सिट नं.५–३१३–०३ कित्ता नम्बर २६ को जग्गा १ नम्बर नापी टोलीबाट नापनक्सा हुँदा ०,२३०.०० वर्ग मिटर कायम गरिएकोमा ७ दिन भित्र नै स्थानीय बासिन्दाले आवश्यक प्रमाणसहित इनारको जग्गा पास नगर्न निवेदन दिएको देखिन्छ।

स्थानीय बासिन्दाका अनुसार त्यहाँ हाल पनि सार्वजनिक इनार कायम रहेको छ। तर नापीले त्यो इनारलाई नै लुप्त बनाइदिएको छ। सडक छेउमै रहेको सो इनारको पानी स्थानीय बासिन्दाहरूले उपभोग गर्दै आएका छन्। नापीले इनारलाई लुप्त गरी त्यो जग्गा जगदीश झाको नाममा कायम गरिदिएको छ।

कार्यालयले गरेको ठहर निर्णयमा कि.नं. २६ को जग्गा जगदीश झाको हक प्रमाण बलियो देखिएकोले निजको नाममा अस्थायी दर्ता गर्ने गरि निर्णय ठहर गरिएको उल्लेख छ।

वडा अध्यक्ष राजु साहले झालाई दिएको भोग सिफारिसमा खाली जग्गादेखि उत्तर उल्लेख रहेको छ। इनारको खाली जग्गा र त्यसपछि इनार कायम रहेको साहले बताए।

स्थानीयहरूका अनुसार त्यहाँ इनारसमेत चारैतर्फको खाली जग्गा गरी ८ धुर छ। तर झाले नाममा नापी कायम गराएपछि सो इनार पुर्ने प्रयास गर्दा स्थानीय बासिन्दाले रोकेका हुन्। स्थानीय बासिन्दाहरूका अनुसार त्यहाँ प्रति धुर जग्गाको ५ लाख भन्दा बढी मूल्य रहेको छ।

सार्वजनिक कृति इनारसमेत ७ धुर जग्गा जगदीश झाको नाममा गर्दा कम्तीमा १० लाखको चलखेल भएको स्थानीय बासिन्दाहरूको अनुमान रहेको छ।

प्रकाशित: २१ वैशाख २०८० ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App