७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

महिलामाथि हुने हिंसा बढ्दै

अन्तरक्रिया कार्यक्रममा सहभागीहरू। तस्बिरः गोल्डेन बुढा/नागरिक

महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ। मंगलबार जुम्लामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडि प्रथा,बोक्सीको आरोप,बालविवाह लगायतका प्रथाहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आयोगका अध्यक्ष माननीय कृष्ण कुमारी पौडेल (खतिवडा)ले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताइन्।

उनका अनुसार राष्ट्रिय महिला आयोगको तथ्यांक अनुसार गत आवमा मात्रै मुलुकभरबाट १ हजार ४ सय ८५ वटा घरेलु तथा महिला हिंसाका उजुरी दर्ता भएका छन्। जसमा घरेलु हिंसाका १ हजार ३ सय १८ र महिला हिंसा १ सय ४६ वटा उजुरी दर्ता भएका हुन्। जम्मा उजुरीमध्य ५ सय २८ उजुरीको फछ्यौट भईसकेका छन्। त्यस्तै मानसिक हिंसाका १ हजार ३ सय ७४, आर्थिक हिंसाका १ हजार १२, शारिरिक हिंसाका ७ सय ६९ यौनजन्य हिंसाका ९३ वटा उजुरीमा आयोगमा परेका छन्। घरेलु हिंसामा दर्ता भएका उजुरीमध्ये मानाचामल, सम्बन्धविच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएका छन्। आयोगको टोलीले अहिले कालिकोट र सुर्खेत हुदै जुम्लाका  जनप्रतिनिधिसँग बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा,  कुरीति, अन्धविश्वास, स्थानीय तहमा महिला समावेशिताका कुराबारे जानकारी लिएको छ।टोलीले महिलाको शिक्षाको अवस्था, स्वास्थ्यमा पहुँच, महिलाको आर्थिक अवस्थामा परिवर्तन ल्याउन ल्याएका योजना तथा नीति, रोजगारको अवस्था, ऐन, कानून निर्माण गर्दा महिला समावेशिता र न्यायिक समिति गठन, पूर्वाधार र जनशक्तिबारे जानकारी लिएको हो।  

आयोगका अध्यक्ष कृष्ण कुमारी पौडेलले मुलुकमा महिला हिंसाको घटना दिनानुदिन बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गरिन्।उनले महिलामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताइन्।  

संघीय सांसद विनिता कठायतले शिक्षाक्षेत्रमा सुधार हुने हो,भने महिला हिंसा कम हुने बताइन।अशिक्षाले बालविवाह,बहुविवाह र छाउपडि प्रथा र हिंसा स्थान पाएको बताइन्।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताए। जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार वितेको साढे तीन वर्षमा महिला तथा घरेलुहिंसाका २ सय १ वटा उजुरी दर्ता भएको डिएसपी प्रल्हाद कार्कीले बताए।

पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले राष्ट्रिय महिला आयोग महिलाको अभिभावक भएको बताइन्। महिलाका हक अधिकारका लागि लडाइ गर्ने आयोग जुम्लामा पुगेको भन्दै खुसी व्याक्त गरिन्।

प्रकाशित: २० वैशाख २०८० ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App