४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा पाँच लाख अफिमका बिरुवा नष्ट

रोल्पा प्रहरीले ठुलो परिमाणमा अवैध लागूपदार्थ अफिम खेती नष्ट गरेको छ।

उत्तर पूर्वी रोल्पाको थबाङ गाउँपालिकाका वडा नं ४ र ५ उवाका जंगलमा लगाइएको अफिम खेती चार दिनको समय लगाएर नष्ट गरिएको हो।

गाउँ बस्ती नजिकैको जंगलमा करिब ३ सय २० रोपनी क्षेत्रफलमा लगाइएको लगाइएका करिब ५ लाख २३ हजार ६ सय वटा अफिमका बिरुवा नष्ट गरिएको प्रहरीले बताएको छ। अफिम खेती गरिएको भन्ने खबर स्थानीयले प्रहरीलाई दिएका थिए।

अफिम खेती स्थान खोज्न जिल्ला प्रहरी कार्यालयले ३० जनाको प्रहरी टोली खटाएको थियो। प्रहरीले थबाङ–४ उवाको जुत्तर र भङरङ गाउँमा करिब ३० रोपनीमा लगाइएको ४० हजार बिरुवा, तेल खोला र तल्लो क्षेत्रका २ सय रोपनीमा लगाइएका करिब ३ लाख २३ हजार ६ सय, तेल खोला र माथिल्लो क्षेत्रको ५० रोपनीमा लगाइएका करिब १ लाख २५ हजार र थबाङ–५ उवाकै ठुलो गाउँ र बान्नेखर्कको ४० रोपनीमा लगाइएका करिब ४५ हजार गरी ५ लाख २३ हजार ६ सय वटा अफिमका बिरुवा नष्ट गरिएको थियो।

प्रहरीले अफिम खेती गर्ने व्यक्ति र जग्गा धनी खोजी थालिएको जनाएको छ। अफिम खेती गर्ने र जग्गाधनीको नाम खुल्न आएमा लागू औषध नियन्त्रण ऐन २०३३ को दफा १४, उपदफा १ को च अनुसार २५ बोटसम्म खेती गर्नेलाई १ देखि ३ वर्ष कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना, २५ बोटभन्दा माथि खेती गरेको फेला परेमा ३ देखि १० वर्ष कैद र २५ हजारदेखि २ लाखसम्म जरिवाना हुने व्यवस्था छ।

अफिम खोज्दै प्रहरी गाउँ छिरेको थाहा पाए पछि स्थानीय गाउँ छोडेर भागेका थिए। रोल्पा प्रहरी प्रमुख स्याम सारु मगरले ‘जंगल र छेउछाउमा लगाइएको अफिम कसको हो भनेर पत्ता लाउन गाह्रो छ।’ सारु भन्छन् ‘अघिल्लो महिना परिवर्तन ४ पाछावाङको खोला गाउँमा २८ रोपनीमा खेती गरिएको करिब २६ हजार बोट नष्ट गरिएको थियो। यो कडा लागु औषध हो।’

प्रकाशित: १८ वैशाख २०८० १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App