२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वीरगन्जमा रात्रि बजारले निरन्तरता पाउने

वीरगञ्जमा फेरी पनि रात्रि बजारले निरन्तरता पाउने भएको छ। 

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी सबै तयारी गरिएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले बताए। आर्थिक नगरी वीरगंजको अर्थतन्त्रमा टेवा पुग्ने उद्देश्यका साथ रात्रि बजारलाई निरन्तरता दिन लागिएको उनले बताए।

“रात्रि बजार अबदेखि भने हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो ’उनले भने, ‘जस अनुरूप यही वैशाखको २९ र ३० गते रात्रि बजार लगाइने तयारी गरिएको छ।”

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा आइतबार साँझ बसेको रात्रि बजार व्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई निरन्तरता दिने निर्णय गरेको हो। सोही निर्णय अनुरूप यस पटक रात्रि बजार माईस्थान चोकदेखि आदर्श नगर चोक हुँदै पशुपति घोष चोकसम्म बिस्तार गरेर लगाउने बैठकले जनाएको छ।

बैठकमा नगर प्रमुख सिंहले वीरगन्जको व्यापार व्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तर रुपमा अघि बढाउने प्रयास गरिएको बताए।

महानगरले यहाँको बजार चलायमान बनाउन पहल गरिदिएको भन्दै महानगरप्रमुख सिंहले रात्रि बजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर आउनु पर्नेमा जोड दिए। उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकोले सीमापारिका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे।

बैठकमा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले रात्रि बजार सञ्चालन लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताए। बैठकले अहिले सटरमा सञ्चालन गरिरहेको व्यवसायलाई अबेर रातिसम्म सञ्चालन गराउन आग्रह गर्ने निर्णय गर्नुका साथै रात्रि बजारका दिन आवश्यक स्टलहरूको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

यस अघि नयाँ वर्षको अवसरमा महानगरपालिकाले गएको चैत ३० र वैशाख १, २ गते लगाइएको रात्रि बजारको भव्य आयोजना गरेको थियो।

साँझ नपर्दै सुनसान हुने वीरगन्जमा रातिको समयमा पनि किनमेलको वातावरण बनाउन र वीरगन्जको व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि तीन दिनको रात्रि बजारको आयोजना गरेपछि नगरवासी हर्षित भएका थिए।

यस अघिको रात्रि बजारमा किनमेल गर्न आउनेहरूलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम तथा विभिन्न परिकारका स्टलहरू लगाइएका थिए। आदर्श नगर चौकमा वीरगन्जको पहिचान बोकेको कृत्रिम घण्टाघर र शङ्कराचार्य गेट पनि बनाइएको थियो भने अन्य विभिन्न स्थानमा सेल्फी खिच्ने ठाउँ समेत निर्माण गरिएको थियो।

प्रकाशित: १८ वैशाख २०८० ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App