२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मान्छे घरमै, एनजिओको सूचीमा 'बेपत्ता कमलरी!'

दाङ- केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्‍यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ। दाङका पाँच बेपत्ता उल्लेख भएका मध्यलक्ष्मीपुरकी सम्झना चौधरी (नाम परिवर्तन) एक थिइन्। उनको अवस्थाबारे बुझ्दै जाँदा नातेदार दाजुसँग सम्पर्क भयो। नागरिकसँगको कुराकानीमा उनले भने, 'ठ्याक्कै मलाई पनि थाहा छैन, म बुझौंला।'

अर्को दिन बिहान संवाददातालाई एक युवतीको फोन आयो। ती युवती हराएको भनिएकी उनै सम्झना थिइन्। 'मलाई हराएको भनेर किन लेख्दिराख्नुहुन्छ?' उनले भनिन्, 'हराएको भनेर लेखिदिएपछि मलाई घरमा श्रीमानले अप्ठ्यारोमा पार्नुहुन्छ। बिन्ती! म हराएको छैन, केही नलेखिदिनु होला।'

सम्झना अहिले घोराही नगरपालिकाकै एक गाउँका युवकसँग विवाह गरेर घरजममा लागेकी छिन्। 'हो म पूर्व कमलरी हुँ,' उनले भनिन्, 'तर म हराएको होइन, विवाह गरेर बसेकी छु।' उनको यसअघि पनि एक राष्ट्रिय दैनिकमा हराएको खबर छापिएको थियो। त्यो बेला घरमा झगडा परेको स्मरण गर्दै उनले भनिन्, 'कता हराएकी थिइस्? कोसँग थिइस्? भनेर पतिले धेरै गाली गर्नुभएको थियो।'

सम्झनाकै अवस्थाले कमलरी विकास मञ्चको तथ्यांक अविश्वसनीय पुष्टि गरेको छ। कमलरी मुक्त अभियानको सुरुवाती चरणमै तयार पारिएको बेपत्ता कमलरीको तथ्यांक अहिलेसम्म पनि उही कायम छ। उही तथ्यांकलाई देखाएर यो संस्थाले पटकपटक पत्रकार सम्मेलनसमेत गर्दै आएको छ। तर पुरानो तथ्यांक अद्यावधिक गर्ने काम भएको छैन। फलस्वरूप घरमै रहेका पूर्वकमलरी पनि बेपत्ताको सूचीमा छन्। तथापि कमलरी विकास मञ्चले भने आफूहरूको तथ्यांक हालैको भएको दाबी गर्दै विश्वसनीय दाबी गरेको छ। 'त्यो तथ्यांक एकदमै सही हो,' अभियन्ता उर्मिला चौधरीले भनिन्, 'दुई महिना अघिमात्रै हामीले यो तथ्यांक पुष्टि गरेका हौं।' संस्थामा आबद्ध गाउँगाउँमा रहेका पूर्वकमलरीमार्फत तथ्यांक लिने गरिएको पनि उनले बताइन्। 'हामीले गाउँमा रहेका हाम्रा साथीमार्फत तथ्यांक लिने गरेका छौं,' उनले भनिन्, 'हाम्रो तथ्यांक एकदमै सही छ।'

तर यो क्षेत्रसँग नजिक रहेकाले कमलरीसम्बन्धी तथ्यांक आधारहीन भनेका छन्। सूक्ष्म अध्ययनबिनै कमलरीको तथ्यांक तयार पार्ने र सार्वजनिक गर्ने काम एनजिओका तर्फबाट भइरहेको छ। हराएका भनिएका धेरैजना परिवारको सम्पर्कमा आइसकेको दाबी गर्दै निकटस्थ स्रोतले भन्यो, 'तर आधारहीन रूपमा उही पुरानै तथ्यांक सार्वजनिक गर्ने काम भइरहेको छ।' मुक्त हुन बाँकी कमलरीको संख्या समेत आधारहीन रहेको स्रोतले बतायो। पश्चिम तराईका जिल्लाबाट मुक्त हुन बाँकी कमलरीको संख्या दुई सय २८ सार्वजनिक गरेको यो संस्थाको नामावली सूचीमा जिल्लागत रूपमा  त्यो भन्दा बढी संख्या हुन आउँछ। 'प्रत्येक जिल्लाको तथ्यांक हेर्ने हो भने मुक्त हुन बाँकी कमलरीको संख्या तीन सय ७९ पुग्छ,' एक निकटस्थले भने, 'तर उनीहरूले दुई सय २८ मात्रै भन्छन्, यस्तो तथ्यांकलाई कसरी आधार मान्ने?'

हालसम्म पनि सुरुदेखिकै तथ्यांकलाई आधार मानिएका कारण कमलरीसम्बन्धी तथ्यांक अन्योलपूर्ण छ। यो तथ्यांकलाई न कमलरीकै क्षेत्रमा क्रियाशील संस्थाले अद्यावधिक गर्न सकेका छैनन् न त उनीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएको सरकारले नै विश्वासिलो तथ्यांक लिन सकेको छैन।

मञ्चकै आधारहीन तथ्यांकलाई आधार मानेर सरकारले छात्रवृत्ति वितरण गर्दै आएको छ। अहिलेको अवस्थाबारे सरकारले तयार पारेको तथ्यांक अहिले सम्म छैन। उनीहरूको शिक्षामा लगानी गर्दै आएको जिल्ला शिक्षा कार्यालयले कमलरी विकास मञ्चकै तथ्यांकलाई आधार बनाउँदै आएको छ। 'हामीले उहाँहरूले नै ल्याउनुभएको तथ्यांकलाई आधार बनाएका हौं', जिल्ला शिक्षा कार्यालयका उपजिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले भने, 'तर उहाँहरूको तथ्यांक प्रमाणित गर्ने काम बर्सेनि हुँदै आएको छ।' जिल्ला शिक्षा कार्यालयले आफूले कमलरीको तथ्यांकबारे अनुसन्धान गर्ने नभई अघिल्लो वर्षको तथ्यांकसँग पछिल्ल्ाो तथ्यांक भिडाउने गरेको छ। 'अघिल्लो वर्षको तथ्यांक हेरेर पछिल्लो चरणमा आउने नामावलीलाई भिडाउँछौं,' रेग्मीले भने, 'त्यहीअनुसार छात्रवृत्ति वितरण हुन्छ।'

प्रकाशित: २५ माघ २०७३ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App