पोहोर पुसको १ रात भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सूर्याेदय नगरपालिका–२ को नेपाल–भारत दशगजामा रहेको सीमास्तम्भ नेपाली भूमि नै मिचेर सार्यो। सीमाक्षेत्रका नेपालीले भोलिपल्ट बिहान एसएसबीको ज्यादती थाहा पाए। र, घरलौरी भेला भएर एसएसबीलाई लखेटे।
त्यसराति हिलेको ७१/११ देखि ७२/२५ नम्बर पिलरको बीचमा एसएसबीले नेपाली भूमिमै खम्बा गाढेपछि नेपालीलाई सह्य भएन। ज्यादती सहन नसकेपछि आफ्नो भूमि रक्षाका लागि कम्मर कसेर एसएसबीको बन्दुुकअघि ‘मुकाबिला’ गरेका महिलाको हुलमा पहिलो लहरमा थिइन् स्थानीय कमला सुब्बा शेर्पा। उनले एसएसबीप्रति गरेको विरोध र कटाक्ष सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्यो। नभन्दै, कमलालगायत सयौं महिलाको विरोधपछि एसएसबी पछि हट्यो। र, आइन्दा दुई पक्षकै सहमतिबिना सीमास्तम्भ ‘नछुने’ सहमति पनि भयो।
तर, कमलालाई भोलिपल्टदेखि नै गाउँ–घर डुल्न सकस भयो। त्योभन्दा पनि बिहान–बेलुका हातमुख जोर्ने दाल–चामल किन्नसमेत उनी भारतीय बजार जान सकिनन्। ‘एसएसबी लखेटेको करिब ३ महिनासम्म म बजार जान सकिनँ,’ उनले भनिन्, ‘खुलमखुला उनीहरूको विरोध गर्नेलाई एसएसबीले सधैं तार्गेट गरिरहेको हुन्छ, भारतीय बजारमा किनमेल गर्न जाँदा कुन बेला हामीमाथि कस्तो जोखिम आइलाग्छ भन्ने अनुमान हुँदैन।’
हिले क्षेत्रमा नेपालतर्फबाट पुग्ने सहज सडक छैन। पशुपतिनगरबाट केही किलोमिटरमा रहेको हिलेमा हिउँदमा मरीतरी गाडी पुग्छ तर एकझर पानी आउँदा बाटै बन्द। बौद्धधामबाट पनि करिब ४ किलोमिटरमा हिले पुगिन्छ। तर, यो सडकसमेत सजिलो छैन। साँघुरो सडक, त्यसमा पनि ग्राभेलबिनाको कच्ची भएकाले हिलेमा नेपालपट्टिबाट उपभोग्य पु¥याउन कठिन छ। त्यतिमात्र होइन, नेपालतर्फबाट पैदलै हिँडेर पुुग्न पनि सहज नहुँदा भारतीय सडकमै भर पर्नुपरिरहेको छ। भारतले दशगजामै बनाएको सीमा सडक भने उनीहरूको घरअगाडि नै छ। र, नेपालतिरबाट सहज नभएपछि स्थानीयले उपभोग्य सामग्री लिन भारतीय बजारकै भर पर्नुपरेको छ। ‘एसएसबीलाई लखेटेपछि उनीहरूकै बजार गएर सामान ल्याउन हामीलाई निकै खतरा हुन्छ,’ कमलाले पीडा पोखिन्, ‘उनीहरूको विरोध गरेको निकै महिना हामीलाई उनीहरूको भूमि टेक्न निकै त्रास हुन्छ।’
लामो समयदेखि सीमा समस्या समाधान नहुनु त पहिलो चुनौती छ नै, आफ्नै भूमि प्रयोग गरेर दैनिक उपभोग्य सामग्री ढुवानी गर्न नपाउँदाको पीडा स्थानीयलाई झन् ठूलो छ। ‘नेपाली भूमि रक्षा गर्नु हाम्रो कर्तव्य हो तर त्यसो गर्दा मुखमा माड लगाउनै समस्या आइपर्ने जोखिम छ,’ कमला भन्छिन्, ‘हाम्रै भूमिमा सडक सुविधा पाउने हो भने यहाँको जीवनशैली सहज हुनेथियो, सीमारक्षामा पनि सहयोग पुग्थ्यो।’ उनले आफूले तिरो (कर) तिरिरहेको नेपाली भूमिमा एसएसबी ३ महिना, ६ महिनामा आउनेगरेको र ग्लोबल पोजिसनिङ सिस्टम जिपिएसले देखाएको भन्दै सीमास्तम्भ गाढ्ने प्रयास गर्नेगरेको बताइन्। ‘कोही पराईले नेपाली भूमि मिचिरहेको टुलुटुलु हेरर बस्न सकिँदैन,’ उनले भनिन्, ‘विरोध गर्दा आफैंमाथि खतरा आइलाग्ने डर हुन्छ। तर, हामी अहिलेसम्म पछि हटेका चाहिँ छैनौं।’
करिब तीन साताअघि पनि एसएसबीले हिलेभन्दा अघि माथिको नेपाली भू–भागमा नापजाँच गर्दा स्थानीयले थाहा पाएर सुरक्षाकर्मीलाई खबर गरेका थिए। यसरी सीमारक्षामा लाग्दा आफूहरू सधैं त्रासमा रहन बाध्य भएको अर्का स्थानीय धनबहादुर राईले बताए। ‘हाम्रो देशका सुरक्षाकर्मी सीमाक्षेत्रमा खासै देखेका छैनौं तर एसएसबी चाहिँ ठूलो संख्यामा आउँछन्,’ उनले भने, ‘कुनै समस्या आए उनीहरूको प्रतिकार त गर्छौं तर त्यसो गरेवापत् हामीलाई विशेषगरी बर्खामा खाने–लाउने सामान भारतबाट ल्याउन समस्या हुन्छ।’ एसएसबी आउनेबित्तिकै विवाद भइहाल्ने र विवाद भएपछि अरू समस्या निम्तिनेगरेको उनी बताउँछन्। ‘विवाद भएपछि भारतीय बजार जाँदा उनीहरूले हामीलाई नियाल्ने, मुखामुख गर्ने गरेकाले त्रास धेरै हुन्छ,’ उनले सुनाए, ‘मनभरि पीडा बोकेर खाद्यान्न जोहो गर्नुपर्छ। एसएसबीसँग अनुहार जुध्दा पनि सन्त्रास हुने अवस्था छ यहाँ।’
भारतपट्टिबाट सीमाक्षेत्रका नेपाली पसलमा सामान ल्याउनसमेत नपाउँदा आफूहरू दोहोरो मारमा परेको स्थानीय बताउँछन्। ‘नेपालतिरबाट दोकानका लागि सामान ल्याउन सकिँदैन, भारततिरबाट ल्याउन नेपाली सुरक्षाकर्मीले समेत दिँदैनन्,’ कमलाले थपिन्, ‘दैनिक उपभोग्य सामान यहाँसम्म ल्याउनुपर्दा हामी नेपाल–भारत दुवैपट्टिका सुरक्षाकर्मीबाट मारमा पर्छाैं। धेरै दुःख र झन्झट बेहोर्नुपरिरहेको छ।’ स्थानीयका अनुसार बर्खा लागेपछि बाहिरका बजार जानेसमेत सकिँदैन। हिउँदमै बर्खाभरलाई खाद्यान्न जोहो गर्नुपर्छ उनीहरूले।
स्थानीय विमल दाहालले सडक नहुँदा उपभोग्य सामान ल्याउनमात्र होइन, उत्पादित तरकारी बेच्नसमेत समस्या भएको बताए। कोरोना संक्रमणकालमा पनि कतिपय बिरामीको उपचारका लागि अस्पतालै नपु¥याइ मृत्यु भएको उनले सम्झिए। ‘सडक सुविधा राम्रो नहुँदा हामीलाई निकै सास्ती छ,’ उनले भने, ‘उपचार नपाएर ज्यान जाँदासमेत हाम्रो माग कसैले सुनुुवाई गरिदिएनन्।’ उनले अहिले नेपालपट्टिबाट बनेको सडकमात्रै सुविधाजनक भइदिए सीमाका नेपालीको दिनचर्या धेरै सहज हुने बताए। ‘अहिले खुलेको सडकको ट्र्याक सुधार भइदिए हामीले धेरै हदसम्म एसएसबीको ज्यादती पनि सहनुपर्नेथिएन,’ उनले भने, ‘हाम्रो वास्तविक पीडा कसैले बुझिदिएनन्।’
सीमाक्षेत्रको हिलेमा करिब २ सय घर–परिवार बसोबास गर्छन्। सडक सुविधा नहुँदा यहाँका बासिन्दाले पीडा खेप्नुपरेको यही वडाका सदस्य गणेशकुमार खड्का बताउँछन्। ‘यहाँको सडकको विषयमा हामीले बारम्बार नगरसभामा कुरा उठाएका छौं,’ उनले भने, ‘सडकको ट्र्याक त खुलेको छ तर भरपर्दाे छैन।’ उनले सीमा समस्याको दीर्घकालीन समाधान हुँदामात्रै यहाँका बासिन्दाको ‘तनाव’ कम हुने बताए।
सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले नगरपालिकाकै अवधारणाअनुसार बौद्धधामबाट हिले जाने सडक बनिरहेको बताए। ‘हिले क्षेत्रलाई सुविधा पुग्नेगरी छिपिटार–अन्तु–हिले–छब्बिसे सडक पनि बनिरहेको छ,’ उनले भने, ‘सुरुमा बजेट हुञ्जेल त्यो सडक बन्यो, अहिले त्यही सडकका लागि बजेट पहल गर्न काठमाडौं आएको छु।’ मेयर राईले आफूहरूको योजनाअनुसार काम भए केही समयभित्रै हिलेलगायत आसपास क्षेत्रमा सडक सुविधा सहज हुने बताए।
इलामले भारत छोएको साढे ५२ किलोमिटरमा सीमासम्बन्धी समस्या बारम्बार आउनेगरेका छन्। भारतले दशगजा नै मिचेर पक्की सडक बनाइसकेपनि नेपालतर्फ यो सुविधा नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको हो। दशगजामा भौतिक संरचना निर्माणदेखि हरेक निहुँमा स्थानीयले बारम्बार भारतीय पक्षबाट प्रताडित हुनुपरेको छ। सीमा समस्याको दीर्घकालीन समाधानका लागि आफूहरूले संघीय सरकारको ध्यानाकर्षण गरिसकेको मेयर राई बताउँछन्।
प्रकाशित: १७ वैशाख २०८० १३:०३ आइतबार