३ असार २०८१ सोमबार
image/svg+xml
समाज

उपमहानगरपालिकाले भत्कायो वीरगन्ज जीतपुर गौशालाको अवैध संरचना

जीतपुरसिमरा उपमहानगरपालिकाले ‘वीरगन्ज जीतपुर’ गौशालाको नामबाट जीतपुर बजारमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भौतिक संरचनाहरुलाई आईतबार जेसपी लगाएर भत्काएको छ।

वीरगन्ज जीतपुर गौशाला नाम राखेर दर्ता गराइएका गैर सरकारी संस्थाका पदाधिकारीहरुले विगत २८ वर्षसम्म सार्वजनिक जग्गामा अनधिकृत रुपमा शटर बनाएको त्यसको लाखौ रुपैया भाडा असुल्दै आए पछि त्यस जग्गालाई आफ्नो नियन्त्रणमा लिनको लागि जीतपुर–सिमरा उपमहानगरपालिकाले जेसबी चलाएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले उपमहानगरपालिका भित्रको सार्वजनिक जग्गाको स्वामित्व उपमहानगरपालिकाको हुने भएकोले सार्वजनिक जग्गालाई अतिक्रमण गरि वीरगन्ज जीतपुर गौशाला नाम दिएको संस्थाले कब्जामा लिएको जग्गामा रहेको भौतिक संरचना खाली गराउने कार्य शुरु गरिएको बताए।

जीतपुर बजारमै रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको १५ वटा सटर र केही होटल खाली गराउने अभियान शुरु गरिएको पौडेलले बताए।

२०५२ सालमा ‘वीरगञ्ज जीतपुर गौशाला’ नामको एक गैसरकारी संस्था दर्ता गरेर जीतपुरको मुख्य बजारको करिब एक बिघाहा सार्वजनिक जग्गा त्यसका पदाधिकारीहरुले भोगचलन हुँदै आएको उपमहानगरपालिकाले जनाएको छ।

भुमिसुधार लागु भएपछि २०२२ सालमा जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाका नाममा फिल्डबुक तयार भएको थियो। सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालीन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाका नाममा लालपूर्जा कायम गरिएको थियो।

जीतपुर गौशालाको नाममा रहेको जग्गा हडप्ने मनासयले केही व्यक्तिहरु मिलेर २०५२ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा ‘वीरगन्ज जीतपुर  गौशाला’ नामक गैरसरकारी संस्था खोली अनाधिकृत रुपमा जग्गा अतिक्रमण गरिरहेको भन्दै उपमहानगरले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म पुगेको थियो।

सर्वोच्चले २३ जेठ २०७९ मा वीरगञ्ज जीतपुर गौशाला नामको गैरसरकारी संस्था वा व्यक्ति विषेशको नहुने फैसला गरे सर्वोच्चले गरेको फैसलालाई कार्यावन्यन गर्नकै लागि त्यसमा निर्माण गरिएको संरचनालाई खाली गराइएको प्रमुख पौडेलले बताए।

उपमहानगरले गौशालामा रहेका गाइहरुको हेरचाहका लागि आइतबारबाटै २ जना दैनिक ज्यालादारीमा कर्मचारीको व्यवस्था समेत गरेको छ।

प्रकाशित: १७ वैशाख २०८० ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App