२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इटहरीमा डिजिटल प्रणालीबाट घर नक्सा पास

इटहरीमा घर नक्सा पास डिजिटल प्रणालीद्वारा लागू भएपछि उद्घाटन गर्दै मेयर हेमकर्ण पौडेल। तस्बिर: नागरिक

इटहरी उपमहानगरपालिकाले बिहीबारदेखि घर नक्सा पास प्रणाली डिजिटल (विद्युतीय) बनाएको छ। डिजिटल प्रणालीको उद्घाटन मेयर हेमकर्ण पौडेलले गरे।

सेवाग्राहीले सेवा चुस्त दुरुस्त नभएको गुनासो गरेकाले गर्दा यसलाई सहज बनाउनकै लागि डिजिटल प्रणालीमा लगिएको मेयर पौडेलले बताए। ‘अब हरेक योजनालाई व्यवस्थित गर्नका लागि उपमहानगरपालिकाले प्राविधको उच्चतम प्रयोग गर्नेछ,’ उनले भने।

समयको मागअनुसार प्रविधिको प्रयोगसँगै घर नक्सा पास जिडिटल प्रणालीमा लगिएको भवन अनुमति तथा मापदण्ड कार्यान्यन शाखाका प्रमुख इन्जिनियर कैशाल तिम्सिनाले बताए। अब डिजिटल प्रणालीबाट नक्सा पास गर्दा सम्बन्धित उपमहानगरपालिका धाइरहनु नपर्ने र घरबाटै नक्सा पाससम्बन्धी सबै काम गर्न सकिन्छ। स्वयम् व्यक्ति लाम लागेर उभिनु नपर्ने र फाइल बोकेर दौडिनु नपर्ने भएकाले प्रभावकारी हुने इन्जिनियर तिम्सिनाले बताए।

कार्यकारी अधिकृत रामचरित्र मेहताले अब डिजिटल प्रणालीबाट नक्सा पास गर्दा कागजपत्र सुरक्षित रहने र चाहिएका बेला तुरुन्त खोज्न सहज हुने बताए। यसरी डिजिटल प्रणालीबाट काम भएसँगै घर नक्सा पासबाट संकलन हुने शुल्कसमेत पारदर्शी हुने बताए।

इटहरीका २० वटा वडाबाट वार्षिक सरदर चार हजार घर नक्सा पासका लागि आवेदन पेस हुने गरेका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ४० हजार दुई सय सात घरधुरी रहेका छन। १ लाख ९८ हजार ९८ जनसंख्या रहेको छ। 

प्रकाशित: १४ वैशाख २०८० ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App