१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

किर्ते गरेको १७ बिघा जग्गा मालपोतले गर्‍यो राष्ट्रियकरण

रौतहट- जिल्ला मालपोत कार्यालय रौतहटले १७ बिघा १ कठ्ठा १७ धुर जमिनलाई राष्ट्रियकरण गरेको छ। भूमाफियाहरुले किर्ते गरी हदबन्दीभन्दा माथिको जग्गालाई व्यक्तिको नाउँमा पारेकोमा जिल्ला मालपोत कार्यालय रौतहटले प्रक्रिया पुर्‍याएर राष्ट्रियकरण गरेको हो।

लक्ष्मीनिया गाविसको वार्ड नम्बर २ को जयन्तकृष्ण मैत्रको नाममा रहेको हदबन्दीभन्दा बढीको जमिनलाई सरकारले राष्ट्रियकरण गरेको र २०३६ सालको बाढी पीडितलाई वितरण गरेको जमिनलाई केही भूमाफियाहरुले किर्ते गरी आफ्नो नाममा ल्याउन सफल भएका थिए।

भूमि सुधार कार्यालय रौतहटले जयन्तकृष्ण मैत्र र लक्ष्मीनारायण राउत कुर्मीको नाममा रहेको जमिनलाई सरकारको नाममा लाजपूर्जा बनाउन सोमवार पत्र पठाएपछि मालपोत कार्यालय मंगलवार सरकारको नाममा लालपूर्जा जारी गर्दै राष्ट्रियकरण गरेको हो।

जिल्ला मालपोत कार्यालय रौतहटका प्रमुख सिकिन्द्र प्रसाद साहले भूमिसुधार कार्यालयको पत्रको आधारमा मंगलवार १७ बिघा १ कठा १७ धुर जमिनलाई व्यक्तिको नामबाट खारेज गरी राष्ट्रियकरण गरिएको बताएका छन्।

लक्ष्मीनिया दोस्तिया गाविस वार्ड नम्बर २ का नवलकिशोर राय यादवले जयन्तकृष्ण मैत्रको नक्कली नागरिकता बनाई वारेशनामा समेत जमिन आफ्नो नाउँमा पार्न सफल भएका थिए।

वस्ती बसिसकेको जमिनलाई यादवका मतियारहरुले खाली गराउन धम्की दिन थालेपछि भूमाफियाको चलखेल सार्वजनिक भएको थियो । भूमाफियाले बस्तीका सबैलाई धम्क्याउन थालेपछि जमिनको विषयमा मालपोत, भूमिसुधार तथा अन्य सरकारी निकायमा खोजबिन थालिएको थियो।

नागरिक दैनिकले भूमाफियाको कारण वस्ती नै उजाडिने विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेपछि सबै सरकारी निकायको ध्यान तानिएको थियो।

 

प्रकाशित: १८ माघ २०७३ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App