१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कारागारमा छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु

शोकविह्वल मृतककी श्रीमति रन्जनी देवी र परिवारजन। तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– वीरगन्ज कारागारमा पुस ९ गते साँझ छुरा प्रहारबाट घाइते भएका राजन बनियाको उपचारका क्रममा ज्यान गएको छ। छुरा प्रहारबाट गर्दनमा गहिरो घाउ लागेर नशाहरु काटिँदा सिकिस्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

मृतकका बाबु रामधारी दास बनियाले भने उपचार नपाएकोले आफ्नो छोराको ज्यान गएको आरोप लगाएका छन्।  
    
पर्सा प्रहरीका अनुसार कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एउटा कैदीले अर्कोलाई छुरा हानेको घट्ना कैदीहरुले क्रिसमसको रमझम मनाइरहेको बेला भएको थियो। पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहका अनुसार सुनसरीको झुम्का कारागारबाट ३ महिनाअघि सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुली मुद्दामा सजाय काटिरहेका रौतहट घर भएका पनिलाल पँडितले बनिया उपर तरकारी काट्ने छुरा प्रहार गरेका थिए।

वीरगन्जस्थित नेशनल मेडिकल कलेजले अप्रेशन गर्न सल्लाहसहित रिफर गरेको थियो। काठमाडौं लगेर घाइते बनियालाई केन्द्रीय कारागार मातहतको अस्पतालमा पाँच दिन राख्दा उनको अवस्था गम्भीर भएपछि मात्र वीर अस्पताल पुयाइइएको थियो।

‘त्यतिबेला नै तत्काल अप्रेशन गर्न वीर अस्पतालका डाक्टरले भनेका थिए। अप्रेशन त के, समय समय औषधि पनि दिइएन्,’  बाबु राधारीले भने, ‘हामी आफैं उपचार गराउँछौं भन्दा मानेनन्, कुनै ठूलो नेताको सिफारिस गराउनु भनेका थिए।’

उनले छोराको मृत्युको लागि केन्द्रीय कारागारलाई दोषी मानेका छन्। ‘यो एक किसिमले हत्या हो, उपचार पाएको भए मोरो छोरा  मर्ने थिएन्,’ उनले भने। दुई छोरा र एक छोरी गरी मृतक बानियाका १० वर्षमुनिका तीन सन्तान छन्। श्रीमानको मृत्युको खबरले शोकमा परेकी श्रीमति रन्जनी देवी असमान्य भएकी छिन्। घरका अरु सदस्यहरु पनि शोकाकुल छन्। बनियाको कुरुवा बसेकी दिदी सन्तोषी कुमारीले हेरचाहमा चरम लापारवाही भएको बताइन्। परिवारबाट औषधि खरिद र उपचारको चेकजाँच गर्न नदिने र खटाइएका हवलदार गायव रहने भएपछि निकै समस्या भएको उनले बताइन्।

अपहरण तथा जिउ बन्धकी मुद्दामा सजाय काटिरहेका बनिया वीरगन्ज –१३ का ८ वर्षे बालक श्लोक अग्रवालको अपहरणको घट्नामा २०७९ माघ २२ मा समातिएर कैद सजाय भोगीरहेका थिए। आदर्शनगरका व्यापारी अशोक अग्रावालका ८ वर्षीय छोरा श्लोक अग्रवाल २०६९ माघ १३ गते घर नजिकैबाट अपहरणमा परेका थिए। पर्साका तत्कालीन प्रहरी उपरीक्षक पिताम्बर अधिकारीको नेतृत्वमा खटिएको टोलीले भेडियारी गाविस–९ गदियानी टोलका रामनाथ गिरिको घरबाट श्लोकलाई दोहोरो भिडन्तपछि बालकलाई अपहरणमुक्त गराएको थियो। भिडन्तको गोली लागेर दुई जना अपहरणकारीको मृत्यु भएको थियो भने ६ संलग्न जनालाई बिभिन्न ठाउँबाट पक्राउ परे।
मृतक बनिया ती ६ मध्येका एक हुन्। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले घट्नापछि उपचारका लागि सुबिधासम्पन्न अस्पताल भएको ठाउँ भनेर काठमाडौं कारागारमा कैदी सरुवासहित पठाइएको बताए। ‘उपचारमा लापारवाही भयो भनेर विचमा हामी काँहा पनि गुनासोहरु आए, हामीले यहाँबाट बुझ्दा त्यहाँ उपचार भइरहेको थाहा पाइयो’ प्रजिअ घिमिरेले भने, ‘मृत्यु भयो भन्ने खबर आज आयो।’

 

प्रकाशित: १८ माघ २०७३ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App