१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खानाको संस्कारमा फेरिंदै स्वाद

साँखुका ७४ वर्षीय जितलाल महर्जनको मन पर्ने खाजा थियो ‘छोयाला/कचेला’। साथीभाइसँग बसेर सहरका गल्ली र चोकमा भेटिने खाजा सुकुलमा बसेर खानुको मजा नै बेग्लै रहेको उनी सुनाउँछन्। 

तर पछिल्लो समय सहरको पाक्वान्नसँगै आफ्नो  स्वाद पनि फेरिएको सुनाउँछन्। बस चढेर काठमाडौं पुग्दा असनमा चिउरातरकारी खाने गरेका उनी पछिल्लो समय सहरका नयाँ रेस्टुरेन्टमा बसेर खाजाको स्वाद लिन थालेको सुनाउँछन्। ‘छोरा नातिको रहरले पनि स्वाद फेरियो,’ उनले भने, ‘विस्तारै सबै मिठो लाग्न थाल्यो।’

लामो समय भटमास–चिउरा, छोयला–कचेला, आलु–बारामा रमाएका उनले पछिल्लो समयमा चाउमिन, मम, पिजा हुँदै यो खान्कीसम्म आइपुगेको बताए। ‘मसलाको पिरो त छोयलाकै मिठो,’ उनले भने, ‘यो ‘कुखुराको सपेटा’ (केएफसी) पनि  कम्ताको छैन।’

उनको मात्र होइन पछिल्लो समय परिकारसँगै खाने मान्छेका स्वाद फेरिएका छन्। चालिस र पचासको दशकमा चना, चाउमिन र  मोमोमा रमाउँदै आएका पुस्ता  अहिले स्यान्डविच, बर्गर  पिज्जा हुँदै फ्राइड चिकेनसम्म आइपुगेका छन्।

‘केटाकेटी पिज्जा भनेपछि हुरुक्क हुन्छन्, ‘ठमेलस्थित एक रेस्टुरेन्टमा भेटिएका नवीन बरालले भने, ‘उनीहरूसँगै आफू पनि रमाउँदै छु।’ २०५० सालतिर  कलेज पढ्दाको समय चना र चिउरामा  रमाउने गरेका उनी अहिले त्यस्ता पसल नै मुस्किलले भेटिने सुनाउँछन्। मकैभटमास र रोटीतरकारी मन पराउने उनी आफैं पनि केटोकटीसँगै बसेर पिज्जाको मज्जा लिन्छन्। ‘केटाकेटीको रहरमा आफू पनि परियो,’ उनले भने, ‘यो साँच्चीकै मिठो छ।’

पछिल्लो समय राजधानीमा खुलेका नयाँ नयाँ चेन रेस्टुरेन्टले सहरवासीको रोजाइन बदलिएको प्रस्ट  देखिन्छ। पसलमा बसेर लाइन लाग्नुपर्ने विगतभन्दा होम डेलीभरी सिस्टमको जमाना आएपछि खाना घरमै आइपुग्न थालेको छ।  

नयाँ प्याकेजमा परम्परागत खाना

आधुनिक खानाको होड चलिरहेको बेला पनि परम्परागत खानाको क्रेज पनि घटेको छैन। सोफामा बसेर पिज्जा र बर्गरको मज्जा लिनेहरु सुकुलमा बसेर नेवारी परिकारमा रमाउन थालेका छन्।कीर्तिपुरका लहना, ससलगायत नेवारी खाजाघर युवाहरुको फेरिएको रुचिको उदाहरण हुन्। ‘नेवारी खाजा खाना छाडेर अन्य खाजा खान थालेका थियौं,’ भक्तपुरका विनय अवाल भन्छन्, ‘अहिले फेरि नेवारी खाजामै रमाउन थालेका छौं।’ नेवारी  खाजा पसल आधुनिक बन्न थालेपछि युवाहरुको रुचि बढेको उनले सुनाए।

देशका नाम चलेका खाना राजधानीमै पाइन्छन्

विभिन्न जिल्लाहरु  विभिन्न परिकारका लागि प्रख्यात छन्। ती खानाले त्यो ठाउँको परिचयसमेत दिलाएको हुन्छ। जस्तै सेकुवाका लागि बारा, तासका लागि चितवन, भक्काका लागि पूर्वी नेपाल भनेजस्तै अन्य सहरहरु पनि स्थानीय खाना र खाजाका लागि प्रख्यात छन्।

तर पछिल्लो समय राजधानीमा मेला र उत्सवमा मात्र होइन,  होटल रेस्टुरेन्टमा पनि ती परिकार बन्न थालेका छन्। जसले विभिन्न जिल्लाबाट राजधानीमा बसेकाको मात्र होइन, राजधानीका रैथानेहरुको पनि स्वाद फेरिने अवसर मिलेको छ।

‘अहिले त खानाले समग्र नेपाल जोडेको जस्तो भान भएके छ,’ कपनस्थित एक होटलमा भक्का खाँदै गरेको दीपेन्द्र थापाले भने, ‘मलाई कोसी प्रदेश गएको जस्तो अनुभव भइरहेको छ।’

बढ्दो पाँचतारे होटल  

नेपालमा पाँचतारे र सो स्तरभन्दा माथिको होटल संख्या १८ पुगेको छ। पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरणअनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँचतारे स्तरको होटल संख्या १७ पुगेको छ।

पर्यटन विभागका अनुसार झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ। कुल १०१ कोठा रहेको यो होटलमा १८५ वटा शड्ढया छन्। होटलले ११० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

पाँचतारे स्तरका १७ वटा होटलमा २ हजार ७ सय ७६ वटा कोठा रहेका छन्। यी होटलले एक साथ ४ हजार १ सय ६० जना पाहुनालाई सेवा दिन सक्छन्। नेपालमा रहेका कुल पाँचतारे होटलले ३ हजार ८ सय ६८ जनालाई प्रत्यक्ष रोजगारी दिएको देखिएको तथ्याकंमा उल्लेख  छ।

होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार   मुलुकभर साना–ठुला होटल, गेस्टहाउस, लज र घरबास ‘होम–स्टे’ गरी करिब १० हजारभन्दा बढी होटल सञ्चालनमा रहेका छन्।  तर यसको आधिकारिक तथ्यांक भने उपलब्ध रहेको छैन। 

नयाँ होटल खोल्ने क्रम नरोकिए पनि कोरोनापछिको समयमा धेरै होटल बन्द भएका थिए। पर्यटन आगमनका कारण बढ्दै गएका होटलहरु कोरोनाका कारण भने ठुलो समस्यामा परेका थिए। त्यसका कारण कतिपय होटल बन्द हुनुका साथै हजारौंको रोजगारीसमेत गुम्न पुग्यो।

प्रकाशित: १२ वैशाख २०८० ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App