१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय हवाई सुरक्षा फोरममा नेपाल

काठमाडौं- नेपालले हवाई सुरक्षा, हवाई कारबाही र राहत तथा उद्धारमा एक कदम फड्को मार्दै आफूलाई अन्तर्राष्ट्रिय अनुभवी राष्ट्रबीच उभ्याउने प्रयास थालेको छ। द्वन्द्वकालमा हवाई कारबाही र विपदमा राहत तथा उद्धारमा सीमित नेपाली सेनाले बेलायतमा हुने एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा आफ्नो उपस्थिति जनाउने मात्र छैन, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतले १६ देशका सेनाका उच्च अधिकारीबीच नेपालको अनुभव, आवश्यकता र रणनीतिबारे प्रस्तुति राख्ने तय भएको छ।

नेपाली सेनाले पहिलोपटक सेनाको हवाई सुरक्षा, हवाई उपकरण तथा बदलिएको परिवेशमा हवाई रक्षाप्रणालीका विषयमा बर्सेनि आयोजना हुने अन्तर्राष्ट्रिय सैनिक हेलिकोप्टर कन्फरेन्समा सहभागिता जनाउन लागेको हो।

नेपाली सेनाका अनुसार माघ १८ देखि बेलायतको हिल्टन लन्डन हेनरी वार्फमा आयोजना हुने कार्यक्रममा १५ देशका सैनिक उच्च अधिकारीले सम्बोधन गर्नेछन्। तीन दिनसम्म सैन्य हवाई उपकरणका उत्पादक, प्रयोगकर्ता र विज्ञ तथा उच्च सैनिक अधिकारीले विश्वको हवाई सुरक्षाका विषयमा छलफल गर्ने सम्मेलनको तयारी छ।

सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले नेपालको सहभागिताको पुष्टि गर्दै रथी महतको नेतृत्वमा सैन्यटोली बेलायत जाने तयारीमा रहेको बताए। उनका अनुसार नेपालले विगतमा हवाई सुरक्षा, उद्धार तथा राहत क्षेत्रका क्रियाकलाप र अनुभवबारे सम्मेलनलाई जानकारी गराउनेछ। सहायकरथी कार्कीले नेपालले पछिल्लो भूकम्पमा भोगेका कठिनाइ र पाएका उपलब्धिबारे विश्व समुदायलाई जानकारी दिनेछ।

…पछिल्लो १६ वर्षदेखि नियमित आयोजना हँुदै आएको सम्मेलनमा नेपालले पहिलोपटक सहभागिता जनाउन थालेको हो, हाम्रो भौगोलिक बनोटका आधारमा हवाई उपकरणको विषयले सम्मेलनमा स्थान पाउनेछ,' कार्कीले नागरिकसँग भने। उनले सम्मेलनले नेपाली सेनाको हवाई निर्देशनालयलाई आधुनिक र सक्षम बनाउन विविध उपकरणबारे जानकारी प्राप्त हुने बताए।

यसअघि रक्षासम्बन्धी जानकारी दिने सामूहिक फोरम डिफेन्स आइक्युसँग रथी महतले सम्मेलनबारे बताउँदै नेपालमा ६० देखि ८,८०० समुन्द्र सतहदेखि माथिसम्म नेपाली सेनाले हवाई कारबाहीको अनुभव सँगालेको जनाएका थिए। उनले भौगोलिक बनोट, हावापानी र आवश्यकता अनुसारका सैन्य हवाई उपकरणका लागि नेपालको दीर्घकालीन योजना रहेको बताएका थिए।

रक्षाविज्ञ डा. इन्द्रा अधिकारी नेपालले सामरिक र शक्तिराष्ट्रसँग सम्बन्ध विस्तारका लागि सम्मेलन सुरक्षा कूटनीतिअन्तर्गतकै कडी साबित हुने आशा व्यक्त गर्छिन्। …नेपालले आफूलाई आवश्यक प्रतिरक्षा सामग्री आफ्नो योजनाअनुसार चाहेको देशबाट आवश्यक परिमाणमा खरिद गर्न थालेको छ, यसमा भारत र चीनको कुनै प्रतिक्रिया होलाजस्तो मलाई लाग्दैन,' उनले भनिन्।

नेपालको हवाई सुरक्षा मजबुत बनाउने रणनीति

नेपाली सेनाले सैनिक हवाई निर्देशनालयलाई हवाई सुरक्षा र कारबाहीका लागि मजबुत र तालिमप्राप्त बनाउने योजनाअन्तर्गत सम्मेलनमा भाग लिन लागेको हो। उच्च सैनिक स्रोतका अनुसार नेपालले विगतमा भारत तथा अन्य देशबाट विभिन्न माध्यमले प्राप्त गरेका सैन्य हवाई उपकरण हटाएर नयाँ, आधुनिक र क्षमतावान उपकरणसहित साधनस्रोतसम्पन्न बनाउने तयारी थालेको हो।

मुख्यालयको योजनाअनुसार हाल सेनासँग रहेका उपकरण लिलाम बिक्री गरी वा थन्क्याएर ३० थान साना, मझौला र ठूला हेलिकोप्टर तथा उपकरण खरिद गरिनेछ। सेनाले विसं २०८० सम्ममा हवाई निर्देशनालयलाई आपतकालीन अवस्थामा हवाई प्रतिरक्षासहितको साधनस्रोत सम्पन्न बनाउन पहल सुरु भएको हो। सोही दीर्घकालीन योजनाअनुसार जंगीअड्डाले युद्ध तथा प्रतिरक्षा र प्राविधिक अधिकारीसहितको टोली बेलायत पठाउन लागेको हो।

नाटो संगठनको पंक्तिमा नेपाल

विश्वमा बढ्दो आतंकवादविरुद्धको प्रतिरक्षा र कारबाहीका लागि जोखिममा रहेका राष्ट्रलाई साधनसम्पन्न बनाउने शक्तिराष्ट्रको योजनाअन्तर्गत नेपालले स्थान पाएको छ। उत्तरएटलान्टिक सन्धि संगठन (नाटो) अन्तर्गत रहेका सैन्य र सामरिक शक्तिराष्ट्रमाझ सम्मेलनमा नेपालले प्रस्तुति राख्नेछ। मुख्य वक्ता रहेका १६ देशमा नेपाल परेको छ। सम्मेलनको आधिकारिक वेबसाइट मिलिट्री हेलिकोप्टर डटआइक्युपिसी डटकोडटयुकेका अनुसार सम्मेलनमा आयोजक बेलायतसहित नेपाल, बेल्जियम, फ्रान्स, जर्मन, फिनल्यान्ड, अमेरिका, कोलम्बो, ब्राजिल, इटली, नाइजेरिया, जाम्बिया, रोमानिया, पोल्यान्ड, अस्ट्रेलिया र पाकिस्तानका वरिष्ठ सैन्य अधिकारी वक्ता रहनेछन्।

वेबसाइटका अनुसार अघिल्लो वर्ष पोल्यान्डको वार्सामा भेला भएका नाटो सदस्यराष्ट्रका सरकार र राज्यप्रमुखको भेलाले युरोप र पूर्वी एसियामा बढेको आतंकवादी गतिविधिविरुद्ध हवाई सुरक्षा मजबुत बनाउन सम्मेलनमा सामूहिक रणनीति र उद्देश्य तय गरेको थियो।

भारतीय कम्पनीले सहभागिता जनाएन

सैन्य हेलिकोप्टर सम्मेलनमा यसपटक भारतीय उत्पादक कम्पनीले सहभागिता जनाउनेछैनन्। अघिल्लो वर्ष आयोजना भएका सम्मेलनमा भारतीय सैन्य हवाई उपकरण निर्माता हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) ले सहभागिता जनाएको थियो। भारतीय सञ्चार माध्यमले कारण नखुलाई सम्प्रेषण गरेका समाचारमा एचएएल सहभागी नहुने उल्लेख गरेका छन्।

प्रकाशित: १३ माघ २०७३ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App