१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकी प्रदेशका १७ ठाउँमा निरन्तर डढेलो

केहीदिन अघि पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा लागेको आगो। फाइल तस्बिरः नागरिक

गण्डकी प्रदेशभित्रका विभिन्न १७ वटा ठाउँमा डढेलो लागिरहेको गण्डकी प्रदेश प्रहरीले बताएको छ। डढेलोबाट सयौं हेक्टर क्षेत्रफल वन क्षेत्र जलेको प्रहरीको भनाई छ।  

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी शारदाप्रसाद चौधरीका अनुसार १७ ठाउँमा आगलागी भईरहेको छ। ती मध्ये कास्की र स्याङजाका पाँच–पाँचठाउँमा आगलागी भईरहेको छ। त्यस्तै बागलुङका चारठाउँमा, नवलपुरका दुइ र लम्जुङका एकठाउँमा आगलागी भईरहेको प्रहरीले बताएको छ। आगलागी भएका ती सबैजसो वन क्षेत्र हुन्।

चौधरीका अनुसार चैत लागेदेखि अहिलेसम्म प्रदेशका विभिन्न ५१ वटा ठाउँमा आगलागी भईसकेको छ। ‘वन क्षेत्रमा डढेलो लाग्ने क्रम रोकिएको छैन। दिनहुँजसो आगलागी बढिरहेको छ,’ प्रवक्ता चौधरीले भने, ‘ठुलो आकारमा वनक्षेत्र नोक्सान भएको छ।’ वनक्षेत्रमा आगलागी हुँदा वनजंगलसँगै त्यहाँका रुखविरुवा, वन्यजन्तु, महत्वपूर्ण जडिबुटी, चराचुरुंगी नोक्सान भएको उनले बताए। ‘मानवीय क्षति नभएपनि प्राकृतिक क्षति बढिरहेको छ,’ उनले भने।

पछिल्लो समय वर्षा कम भएकोले पनि डढेलो लाग्न सहयोग पुगेको वन कार्यालयका कर्मचारी बताउँछन्। डिभिजन वन कार्यालय स्याङजाका वन अधिकृत होमबहादुर बल्छौडीले अहिले स्याङजाका धेरै वन क्षेत्र डढेलोले नोक्सान गरेको बताए। उनका अनुसार यो वर्षमा मात्र स्याङजाका ६२ वटा वनमा डढेलो लागेको छ। त्यो डढेलोबाट कम्तिमा पाँचसय हेक्टर क्षेत्रफल वनक्षेत्र नोक्सान पुगेको उनले बताए। अझै कतिपय वन क्षेत्र डढेलोको जोखिममा रहेको उनले बताए।

‘कम्तिमा पाँचसय हेक्टर क्षेत्रफलमा योपटक डढेलो लागेको छ। अहिले पनि ठाउँठाउँमा डढेलो लागेको जानकारी आएको छ,’ उनले भने,‘डढेलोले ठुलो आकारमा वनक्षेत्र नोक्सान गरेको छ। त्यत्तिमात्र नभई त्यहाँका रुखविरुवा, वन्यजन्तु, महत्वपूर्ण जडिबुटी पनि जलेको छ।’ उनका अनुसार वालिङ नगरपालिका सहित आँधीखोला र फेँदीखोला क्षेत्रमा बढी आगलागी भएको छ। ‘वनमा आगलागी गर्ने मान्छे नै पहिचान गर्न सकिन्न। कसैले पनि डढेलो लगाउने मान्छे किटान गर्न सक्दैनन,’ उनले भने, ‘वनमा आगलागी गर्नु पनि अपराध हो। तर, कसले आगलागी गर्छ भन्ने कतै पनि थाहा हुँदैन।’

सुराकी गरेपनि आगलागी गर्ने व्यक्ति पहिचान गर्न नसकिएको उनले बताए। ‘हिड्दा हिड्दै मान्छेले आगलागी गर्छन। घास पलाउने लोभमा पनि गाउँलेले वनमा आगो लगाउँछन,’ उनले भने, ‘पहिचान गर्न निकै नै सकस हुने गरेको छ। वनमा आगलागी गर्ने व्यक्ति पहिचान गर्न निकै नै सकस हुने गरेको छ।’ जानीजानी आगलागी गर्ने चलन बढेको उनले बताए। विज्ञहरुले जथाभावि वन क्षेत्रमा आगलागी हुँदा वायुप्रदुषण बढेको बताईरहेका छन । पछिल्लो समय ठुला सहर नै ढाक्नेगरि बाक्लो तुँवालो लाग्नुको मुख्य कारण वनमा लागेको डढेलो रहेको मौसमविदहरुले बताईरहेका छन।

प्रकाशित: ९ वैशाख २०८० ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App