१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

खुला ठाउँमा माछामासु बेच्न निषेध

फाइल तस्वीर

विराटनगर महानगरपालिले वैशाख १५ गतेदेखि खुला ठाउँमा माछामासु बिक्रीवितरणमा प्रतिबन्ध गर्ने भएको छ। विराटनगर महानगरपालिकाले पशुवध तथा माछामासु बिक्रीवितरणलाई व्यवस्थित बनाउने उद्देश्यले खुला स्थानमा पशुवध गर्ने र माछामासु बिक्रीवितरण गर्ने काममा रोक लगाउने तयारी गरेको हो।  

पशु वधशाला तथा मासु जाँच २०५५ ले खुला रूपमा पशुपक्षीलाई वध गर्न र बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ। विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित सहर बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्रीवितरणलाई पनि व्यवस्थित गर्ने तयारी थालेको नगरप्रमुख नागेश कोइरालाले जानकारी दिए। विराटनगरका विभिन्न स्थानमा खुला रूपमा माछामासु बिक्री गर्ने गरेको पाइएको छ। जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यीकरणमा समेत ह्रास आएको छ। प्रदेशको राजधानीसँगै कोसी प्रदेशको एक मात्रै महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्न जरुरी रहेको मेयर नागेश कोइरालाको भनाइ छ। मेयर कोइरालाले भने, ‘महानगरले वैशाख १५ गते देखि माछा–मासुको बिक्रीवितरणलाई व्यवस्थित बनाउने अभियान सुरु गर्न लागेको छ।’  

महानगरले हाल सरसफाइ, फुटपाथ नियन्त्रण, कर संकलन, नो पार्किङलगायत अभियान जारी राखेको छ। महानगरले वैशाख १५ देखि तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलमा बाहेक पशुपक्षी वध गर्न, माछामासु बिक्रीवितरण गर्न निषेध गरिएको जनाएको छ। विराटनगरमा परम्पराकालदेखि नै साप्ताहिक हाटबजारका साथै सडकछेउछाउ र चोकमा खाट, टेबल, प्लास्टिक ओछ्याएर भुइँमा राखी खुला रूपमा माछामासु बिक्री गर्ने गरिएको छ। महानगरपालिका पशुपक्षी शाखाका प्रमुख शुभनारायण यादवले सार्वजनिक रूपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरिएको जानकारी दिए। महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुला ठाउँमा माछामासु बिक्रीवितरणका साथै पशुपक्षी वध गरेको पाइए कारबाही गरिने यादवले स्पष्ट पारे।  

हुन त विराटनगर महानगरपालिकाले धेरै वर्ष पहिलेदेखि माछामासु बिक्रीवितरणलाई व्यवस्थित पार्न भन्दै हरेक वर्ष अभियान सञ्चालन गर्दै आएको छ। तर महानगरपालिकामा व्यवस्थित वधशालासमेत नहुँदा सो अभियान प्रभावकारी हुन सकेको छैन।

प्रकाशित: ८ वैशाख २०८० ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App