१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सर्लाहीमा प्रहरीमाथि आक्रमण गर्ने सात जना पक्राउ

सर्लाहीमा प्रहरीमाथि आक्रमण गर्ने सात जना पक्राउ परेका छन्। सर्लाही सदरमुकाम मलंगवामा आगलागीको घटनामा दमकल छिटो नआउँदा स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेका थिए।

आइतवार राति करिब सबा आठ बजे मलंगवा नगरपालिका ४ शिवसागर चोकमा रहेको राम स्वरुप महरा चमारको फुसको छानो भएको घरमा आगलागी भएको थियो।

आगलागी नियन्त्रणका लागि पुगेका प्रहरीको टोलीमाथि करिब तिन सय जनाले आक्रमण गरेका थिए। आगो निभाउने दमकल किन नआएको भनी आक्रोशित समुहले प्रहरी कर्मचारी र प्रहरीको गाडीमाथि आक्रमण गरेका थिए।

आक्रोशित समूहको ढुंगा प्रहारबाट प्रहरीको मोबाइल,गाडीको सिसा फुटेको छ। यसै गरी आक्रोशित समुहले नगरपालिकाको कार्यालयको कम्पाउन्डभित्र रहेको दुई ओटा मोटरसाइकलमा पनि आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ।

आक्रोशित स्थानीयवासीले नगरपालिकाको कार्यालयमा पनि आक्रमण गरेको छ। आक्रमणकारीको ढुंगा प्रहारबाट नगरपालिका कार्यालयको झ्यालको सीसा फुटेको छ। आक्रोशित समुहले नगर प्रमुखको घर, जिल्ला प्रशासन कार्यालय तथा सर्लाही जिल्ला अदालतमाथि पनि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। अदालतको दोस्रो तल्लाको झ्यालका सीसाहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

होहल्ला गर्दै सरकारी कार्यालयहरुमाथि आक्रमण गर्ने र प्रहरीलाई देख्नासाथ ढुंगा प्रहार गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।

घटनामा पाँच जना प्रहरी घाइते भएका छन्। सर्लाही जिल्लामा दक्षिणी क्षेत्रका पालिकाहरुमा दमकल नै नभएको अवस्थामा प्रहरीले दमकल नल्याएको भन्दै प्रहरीमाथि आक्रमण गर्ने कार्य निन्दनीय भएको सर्लाहीका बुद्धिजीवीहरुले प्रतिक्रिया दिएका छन्। आगो लागेको घटनाबारे थाहा पाउनासाथ प्रहरी परिचालन भएको र आगो नियन्त्रणको लागि सक्दो प्रयास गरेको अवस्थामा प्रहरीमाथि उल्टै आक्रमण गर्ने काम निन्दनीय भएको बुद्धिजीवीहरुको भनाइ छ।

रातिको समयमा आगलागीजस्तो दैवी प्रकोपको सामना गर्न गएको प्रहरी टोलीमाथि नै निसाना बनाएर आक्रमण गर्नु र झन् जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, नगर प्रमुखको घर, नगरपालिकाको कार्यालयमाथि आक्रमण गर्नुले सर्लाहीको शिर निहुरिएको प्रतिक्रिया बुद्धिजीवीहरुको रहेको छ।

स्थानीय सरकारलाई दमकल किन्न र संचालनको लागि दबाब दिनुपर्नेमा प्रहरीमाथि आक्रमण भएको तथा प्रहरीले देखाएको संयमता र विवेकीपनले मलंगवामा ठूलो दुर्घटना हुनबाट जोगिएको बुद्धिजीवीहरु बताउँछन्।

मलंगवाको अवस्था आइतवार राति तनावग्रस्त रहेको भए पनि सोमवार दिनभर भने सामान्य रहेको छ। सोमवार दिनभर मलंगवामा दमकल किन्नुपर्ने चर्चा बुद्धिजीवीहरुमा चलेको छ।

प्रकाशित: ४ वैशाख २०८० १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App