१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

व्यक्तिकाे नाममा दर्ता १०६ बिगाहा वनबारे बुझ्न अख्तियार टोली रौतहटमा

जिल्ला मालपोत कार्यालय राैतहटका निमित्त प्रमुख चन्द्र भण्डारीले नापी कार्यालयबाट आएको सबै कागजात अध्यन गर्दै। तस्बिरः मदन ठाकुर

राैतहट– किर्ते कागज खडा गरी राष्ट्रिय वन क्षेत्रमा पर्ने १ सय ६ बिगाहा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोली रौतहट अाइपुगेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको निर्देशनमा अाएकाे क्षेत्रीय कार्यालय हेटौंडाका उपसचिव नरेन्द्र भट्टराई नेतृत्वकाे उक्त ५ सदस्यीय टोलीले वन कार्यालयबाट अनुसन्धान अघि बढाएको जिल्ला वन कार्यालय स्रोतको भनाइ छ।

किर्ते गरी व्यक्तिको नाममा वनकाे जग्गा दर्ता गर्ने अवैध कार्यमा संलग्न रहेको अाराेप लगेका जिल्ला वन कार्यालय, नापी कार्यालय, मालपोत तथा उक्त कार्यमा संलग्न व्यक्तिहरुको विषयमा टाेलीले अनुसन्धान शुरु गरेको छ।

अख्तियार टोलीले उक्त किर्ते कार्यामा संलग्न रहेका कार्यालयहरुको कागजात झिएको र केहीको झिकाउन बाँकी रहेको बताइएको छ। टोलीले व्यक्तिको नाममा दर्ता गरिएको रंगपुर गाविस– ३, ४ र ५ को उक्त जमीनको स्थलगत अनुगमन गर्नेसमेत जनाइएको छ।

वनको जमीन व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भएपछि हाल जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, वन, मालपोत, नापीलगायत सरोकारावाला सबै निकायहरुमा खैलाबैला मच्चिएको छ। जिल्ला प्रशासन कार्यालय उक्त विषयलाई गम्भीर रुपमा लिएको र अध्ययन सुरु गरेको जनाएको छ।

जिल्ला नापी कार्यालय कार्यालय रौटहटका प्रमुख भरत सिंह ऐरीका अनुसार उक्त वनकाे जग्गामाथि किर्ते गरी व्यक्तिकाे नाममा दर्ता गर्ने प्रक्रिया २०६४ सालबाट नै रौतहटको ५ नम्बर नापी गोश्वाराबाट सुरु भएको देखिएको छ।

जिल्ला मालपोत कार्यालय रौतहटका निमित्त प्रमुख चन्द्र भण्डारीले भने मालपोत कार्यालयले उक्त किर्ते कामलाई गम्भीरताका साथ लिएको बताए। नापी कार्यालयले उक्त जग्गाको स्रेस्ता कायम गरी फिल्डबुक र नक्सासमेत तयार पारेको भए पनि हालसम्म किनबेच भने नभएको भण्डारीले बताए।

नागरिक दैनिक र नागरिकन्यूजले पुस २९ गते शुक्रबार ‘वन खाँदै भूमाफिया’ शीर्षकको सामाचार प्रकाशित गरेपछि अख्तियारले उक्त किर्ते जग्गा दर्ताका विषयमा अनुसन्धान सुरु गरेको हो। भूमाफियाहरूबीच हलचल पैदा भएकाे छ भने जिल्लास्थित सम्बन्धीत कार्यालयहरु समेतले उक्त किर्ते जग्गाको अनुसन्धान गर्ने विशेष सक्रियता देखाएका छन्।

याे पनि

 

प्रकाशित: २९ पुस २०७३ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App