१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखरामा तुवाँलो: बढ्दैछन् बिरामी

तुवाँलो स्वास्थ्यका लागि हानिकारकः चिकित्सक

तुवाँलोले काठमाडौं सहित पोखरा सहर ढाकेको छ। विगत एकसातादेखिको तुवाँलोले यहाँका डाँडाकाँडा ढाकिएका छन्। तुवाँलोले गर्दा भिजिबिलिटी पनि घटेको छ। भिजिबिलिटी घट्दा हवाई सेवा प्रभावित भएको छ। त्यत्ति मात्र नभई तुवाँलोका कारणले मानव स्वास्थ्यमा पनि समस्या थपिन थालेको चिकित्सकले औँल्याएका छन्।  

यति बेला पोखराका अस्पतालमा बिरामी थपिएका छन्। निजी क्लिनिकमा आफूखुसी औषधि किनेर उपयोग गर्ने पनि उत्ति नै रहेको क्लिनिक संचालकले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार अहिले अधिकांश बिरामी रुघाखोकीका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाटी खसखस ग¥यो भन्ने बिरामी पर्याप्त हुन थालेका छन्।  

नेपाल औषधि व्यवसायी संघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन्। मौसम परिवर्तन हुने बेला भएकोले पनि यो बेला बिरामी थपिएको उनले बताए। सबैभन्दा बढी बिरामी अहिलेको तुवाँलोले बनाएको उनले बताए। ‘चिसो मौसम सकिएर गर्मी चढ्नै थालेको थियो। यत्तिकैमा तुवाँलोले पनि उत्तिकै सताएको छ,’ पाण्डेले भने, ‘हावामा धुलोका कण छन्। यसले मानव स्वास्थ्यमा असर पारेको छ।’ नाक बन्द हुने, रुघाखोकी लाग्ने,श्वासप्रश्वासमा समस्या हुने बिरामी थपिएको उनले बताए।  

‘निजी क्लिनिकमा आफूखुसी औषधि किनेर सेवन गर्ने पर्याप्त छन्। सबैले चिकित्सकको सल्लाह लिँदैनन्,’ उनले भने, ‘यही बेला कोरोना भाइरस संक्रमणले गर्दा बिरामीको संख्या बढिरहेको छ। मानसिक रुपमा नागरिक कोरोनाका कारणले त्रसित पनि छन्।’ कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या भएकोले पनि यो बेला सर्वसाधारण केही त्रसित बनेको पनि उनले बताए।  

‘अहिले गाउँ गाउँमा आगलागी भएको छ। आगलागीको त्यो धुवाँले अहिले पोखरालाई ढाकेको छ,’ उनले भने, ‘पानी परेको छैन। पानी परेर यो तुवाँलो हट्ने हो भने बल्ल सहज हुनेछ। नत्र अझै बिरामी थपिनेछ।’ बिरामी बढे पनि मान्छेले अहिले स्वास्थ्यका मापदण्ड पालना गर्न छाडेको उनले बताए। पहिला पहिला मास्क लगाउने र भौतिक दूरी कायम गर्ने हुँदा यो समस्या कम भएपनि अहिले हेलचेक्र्याइँ गर्दा पनि बिरामी बढाएको उनले बताए।  

सर्वसाधारण पनि एक खालको समस्या लिएर चिकित्सककहाँ जाने गरेका छन्। नाक पिरो हुने, रुघा लागेको, आँखा पोल्ने र ज्वरो आउने गरेको पृथ्वी चोकका भीम न्यौपानेले बताए। उनका अनुसार शरीरमा आलश्यता पनि बढेको छ। ‘घाँटी दुख्ने, आँखा पोल्ने र नाक पिरो हुने गरेको छ। मौसम परिवर्तनको समय भएकोले यो अवस्था आएको हुनसक्छ,’ उनले भने, ‘कोरोना संक्रमण बढ्दै गर्दा थप त्रसित बनाएको छ।’

पोखराको मेडिप्लस अस्पतालका फिजिसियन डा सरोज पोखरेल पनि मौसम परिवर्तन हुन थाल्दा अहिले बिरामी बढेको बताउँछन्। बढ्दो तापक्रमसँगै बिरामी पनि थपिँदै गएको उनले बताए। ‘धुँवाधुलो र वायु प्रदुषण छ। नागरिकले मास्क लगाउन छाडेका छन्। मौसमी ज्वरोका बिरामी पनि ह्वात्तै बढेका छन्,’ पोखरेलले भने, ‘यही बेला तुवाँलोले गर्दा पनि मान्छेलाई बिरामी बनाएको छ।’

उनका अनुसार अहिले सहरमा कोरोनाका बिरामी पनि बढेका छन्। कोरोना परीक्षण गर्न बिरामीले मानेका पनि छैनन्। कोरोना देखिए पनि आइसोलेसनमा बस्ने नगर्दा अहिले सहरमा भित्रभित्र संक्रमण फैलिएको उनले बताए। खुलमखुला रुपमा हिँडडुल बढ्नु, वायुप्रदुषण र खानपिनमा हेलचक्र्याइँ गर्दा समस्या बढ्दै गएको पोखरेलले बताए।

डा पोखरेलका अनुसार तुवाँलोले श्वासप्रश्वासका बिरामी बढेका छन्। अहिले तुवाँलोको असर फोक्सो पर्ने र त्यसले कमजोर बनाउँदै गएमा पछि निमोनिया समेत गराउने उनले बताए। रोग प्रतिरोध क्षमता कम हुनेलाई यो बेला समस्या हुने उनले बताए।

डा पोखरेलका अनुसार अहिलेको वातावरणीय प्रदूषणले गर्दा घाँटी खसखस हुने, टाउको दुख्ने, हल्का रुघा लाग्ने जस्ता समस्या भएका बिरामी बढेका छन्। चैत पहिलो सातादेखि यो खालका बिरामी देखिएको उनले बताए। ‘बेलैमा यो समस्याबारे ध्यान नदिने हो भने दीर्घकालीन रुपमा यसले असर पार्न सक्छ,’ उनले भने, ‘मौसमी स्वास्थ्य समस्या हामीकहाँ बढ्दै गएको छ।’  

तापक्रम बढेसँगै यहाँ तुवाँलोले ढाक्न थालेको थियो। केही दिन अघिसम्म पानी पर्दा चिसो महसुस गरेको पोखरामा वर्षा रोकिएपछि यहाँ तुवाँलोले ढाकेको हो। मौसमविद्ले अझै केही दिन पोखराको यो तुवाँलो हट्ने अवस्था नरहेको बताएका छन्। तत्काल कुनै मौसमी प्रणाली विकसित भइहाल्ने अवस्था नरहेकोले तुवाँलो हट्न समय लाग्ने उनीहरुको भनाई छ।  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पोखरा कार्यालयका मौसमविद् मीनकुमार अर्यालका अनुसार पानी नपरेकोले यो अवस्था आएको हो। ‘पानी परेन, हावा चलेन, त्यसले गर्दा पोखरा धुम्म परेको हो,’ अर्यालले भने, ‘तापक्रम पनि नजानिँदो खालको तातो छ। पोखरा यति बेला दिउँसोको समयमा हपक्क बनेको छ।’ अहिले वायुमण्डलमा धुलोका कणहरू रहँदा पोखरा प्रदूषितजस्तो बनेको उनले बताए। चैत–वैशाख जंगलमा डढेलो लगाउने समय भएको र यो बेला धेरैतिर डढेलो लाग्दा पनि वायुमण्डल बढी प्रदूषित भएको हुनसक्ने उनले बताए।

उनका अनुसार अहिले पोखरालाई बाक्लो तुवाँलो सहितको बादलले ढाकेको छ। यसले भिजिबिलिटी पनि घटाएको छ। ‘लामो समय पानी नपर्दा यो अवस्था आएको हो, यो मौसम खुल्नका लागि कि त स्थानीय मौसमी प्रणाली सक्रिय हुनुपर्छ वा पश्चिमी वायु आउनुपर्छ,’ उनले भने, ‘पोखरामा तालतलैया भएकोले यहाँ स्थानीय वायुको प्रणाली पनि विकसित हुने गर्छ। तर, अहिले त्यो पनि सम्भावना देखिएको छैन।’ वायुमण्डल चल्न नसक्दा अहिले मौसममा समस्या थपिएको उनले बताए। प्रदूषण बढ्नासाथ वायुको गुणस्तरमा कटौती आउने उनले बताए। योखालको वायुमण्डलले नागरिकको स्वास्थ्यमा समस्या हुने उनले बताए। 

प्रकाशित: ३ वैशाख २०८० १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App