काठमाडौं- हात्तीपाइले वा अन्य कारणले अन्डकोष सुन्निने समस्या (हाइड्रोसिल) को शल्यक्रिया प्रमुख सरकारी अस्पतालमा निःशुल्क हुने भएको छ। सरकारको प्रमुख रेफरल अस्पताल वीरमा समेत यो वर्ष २ सय ४४ जनाको निःशुल्क शल्यक्रिया गरिने तय भएको छ। स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार यो वर्ष देशभरका ६० वटा सरकारी अस्पतालबाट ७ हजार १ सय जनाको शल्यक्रिया गर्ने कार्यक्रम छ।
पुरुषको अन्डकोषमा पानी भरिएर ठूलो हुने हाइड्रोसिलको ९० प्रतिशत समस्या हात्तीपाइले रोगका जीवाणु फाइरेरियासिसका कारण हुन्छ। हात्तीपाइलेका कारण हातखुट्टा सुन्निएर हात्तीको जस्तो हुने, हाइड्रोसिल हुनेजस्ता समस्या देखिन्छ।
हात्तीपाइले औषधि सेवनबाट रोकथाम गर्न सकिए पनि रोग लागिसकेपछि हुने अपांताको व्यवस्थापन मात्रै गर्न सकिन्छ, पूरै निको पार्न सकिन्छ। हाइड्रोसिलको शल्यक्रिया गरेर समस्या घटाउन सकिन्छ।
वीर अस्पतालका हाइड्रोसिल उपचार कार्यक्रमका फोकल पर्सन टीका पनेरुका अनुसार सामान्य शल्यक्रिया दैनिक ५ जनासम्मको गर्नेगरी सम्पूर्ण तयारी पूरा भइसकेको छ। 'अब यो सेवा निःशुल्क छ भनेर बिरामी आए भने तत्कालै शल्यक्रिया थाल्न सक्छौं,' पनेरुले भने।
सरकारले यस्ता बिरामीको निःशुल्क शल्यक्रिया कार्यक्रम राखे पनि ठूला अस्पतालहरुले यो कार्यक्रम लागू गरेका थिएनन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष वीरलगायत पाटन र भक्तपुर अस्पतालमा समेत निःशुल्क शल्यक्रिया हुने भएको छ। उपत्यकाबाहिर अञ्चल, क्षेत्रीयसहित शल्यचिकित्सक कार्यरत सबैजसो अस्पताल गरी ६० वटाबाट सो सेवा दिइन्छ।
जिल्लातर्फ कपिलवस्तु, बाँके, बर्दिया, सल्यान, सिन्धुपाल्चोक, सुनसरी, सुर्खेतलगायतका अस्पतालले शल्यक्रिया सुरु गरिसकेका छन्।
चिकित्सकीय हिसाबले सामान्य शल्यक्रिया मानिए पनि थुपै पुरुषले यो समस्या लुकाएर हिँडडुल गर्नसमेत अप्ठेरो भोग्दै आएका छन्। देशभर १ लाखभन्दा बढी हाइड्रोसिलका बिरामी भएको सरकारी तथ्यांक छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका फोकल पर्सन तुलसी अधिकारीका अनुसार विभागले दुई वर्षअघिसम्म २ सय र गत वर्ष २ हजार ५ सयको निःशुल्क शल्यक्रिया गरेको थियो। महाशाखाका हात्तीपाइले कार्यक्रम फोकल पर्सन तुलसी अधिकारीका अनुसार यो वर्ष कार्यक्रमका लागि करिब ४ करोड बजेट छुट्याइएको छ। 'बिरामी आए र अस्पतालहरुले सेवा प्रवाह गर्न सके भने यो कार्यक्रम विस्तार हुँदै जान्छ,' उनले भने। महाशाखाका अनुसार शल्यचिकित्सकले अस्पतालको नियमित सेवा दिएर अतिरिक्त समयमा शल्यक्रिया गरून् भनी अतिरिक्त पारिश्रमिकको समेत व्यवस्था गरिएको छ।
विभागका अनुसार अस्पतालहरुले एकजनाको शल्यक्रिया गर्दा ५ हजार ५ सय अनुदान पाउँछन्। त्यसमध्ये ३ हजार शल्यक्रियामा र बाँकी रकम शल्यक्रियामा संलग्न टोलीलाई उपलब्ध गराइने शाखाका अधिकारीले बताए।
विश्व स्वास्थ्य संगठनले २०२० सम्ममा यो रोग निवारण गर्ने संकल्प लिएको छ। नेपालले सन् २०१५ भित्र नै हात्तीपाइले निवारण गर्ने प्रतिबद्धता गरे पनि पूरा हुन सकेको छैन। लक्ष्य प्राप्त गर्न हात्तीपाइलेको औषधि वितरण कार्यक्रम राखे पनि कडा खालको हुने भएकोले धेरै सेवाग्राहीले औषधि नलिँदा रोग निवारण चुनौतीपूर्ण बन्दै गएको छ।
देशभरका ६१ जिल्लामा हात्तीपाइलेका बिरामी भेटिएका छन्। तीमध्ये तराईका जिल्लामा बढी बिरामी छन्। रोग सुरुमा तराईमा बढी देखिएको भए पनि अहिले पहाडमा बढ्दै गएको कार्यक्रमले जनाएको छ। एक प्रकारको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ। यो मसिनो धागो आकारको उच्चरिया बाँनक्रोफ्टी नामक फाइलेरिया परजीवीका कारण लाग्छ। क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ। हात्तीपाइले रोगको लक्षण नदेखिँदै औषधि खाएमा पूर्ण निको हुन्छ भने लक्षण बाहिर देखिइसकेपछि पूर्ण उपचार सम्भव नहुने भएकाले र समस्याको व्यवस्थापन मात्रै गर्न सकिन्छ।
हात्तीपाइले भएका बिरामीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोकेपछि बढी जाडो महसुस हुने, ज्वरो आउने र शरीर कम्पन हुने, लिम्फनली सुन्निने, रातो भएर दुख्ने, निला र काला धर्सा देखिने, गिर्खा बढ्ने र पुरुषको अन्डकोषको नशा फुलेर दुःख्नेजस्ता लक्षण देखिन्छन्।
बेलैमा उपचार नभएमा अन्डकोष ठूलो हुने, दुःख्ने र गिर्खा भएर वरपर पानी भरिन्छ। महिलामा यौनांग र स्तन सुन्निने–दुख्ने, गोडा सुन्निएर हात्तीको पाइलाजस्तो हुने, पिसाब सेतो हुने, सुक्खा खोकी र दमसँगै दीर्घकालीन रुपमा अपांगता हुने समस्यासमेत हुन्छ।
महाशाखाका अधिकारीका अनुसार पछिल्लोपटक निःशुल्क रुपमा सरकारले रोग भएर अपांगता भएकाको व्यवस्थापन र औषधि खुवाउने कार्यक्रम सँगै गरिरहेको छ। औषधि खुवाउने कार्यक्रम ५० भन्दा बढी जिल्लामा पाँच चरणमा भएर पनि बन्द भइसकेको छ। 'सन् २०१९ सम्ममा सबै जिल्लामा औषधि बन्द भइसक्छ', अधिकारीले भने।
प्रकाशित: २६ पुस २०७३ ०३:२१ मंगलबार