८ वैशाख २०८१ शनिबार
समाज

गोरखा दरबारदेखि जितगढीसम्म पदयात्रा

गोरखा–जितगढी एकीकरण पदयात्रा–२०७९ सुरु भएको छ। गोरखादेखि तनहुँ, पाल्पा हुँदै रूपन्देहीको जितगढी पुगेर वैशाख ७ गते यात्रा पूरा हुनेछ।  

गोरखा दरबारबाट बुधबार बिहान पृथ्वीनारायण शाहले एकीकरणको क्रममा स्थापना गरेका श्रीनाथ, कालिबक्स, बर्दबाणी, सबुज, पुरानो गोरख, जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा र नेपालको राष्ट्रिय झण्डासहित ४८ जना सेनाको टोलीलाई बिदाइ गरिएको छ।  

नेपालको इतिहासको जगेर्ना गर्दै ऐतिहासिक महŒव बोकेका स्थानलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ पदयात्रा गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए। यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा–तनहुँ–स्याङ्जा–पाल्पा हुँदै रूपन्देहीको जितगढीसम्म पुग्नेछ। यात्रा दुई सय सात किलोमिटर दुरीको हुनेछ।  

नेपाली सेनाले कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको नेपाली सेनाका पश्चिम पृतनापति दीपककुमार बानियाँले बताए। नेपालको संविधानले सेनालाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्नुका साथै राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी सुम्पिएको बताउँदै राष्ट्रियतालाई थप मजबुत बनाउन सेनाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। जितगढीलाई युद्ध सग्रहालयका रूपमा विकास गर्न विभिन्न पूर्वाधाहरू निर्माण भइरहेको उनले बताए। नेपालको विगतको इतिहासको जगेर्ना गर्दै वर्तमानलाई भविष्यसम्म जोड्ने विशुद्ध योजना अनुरूप पदयात्रा सुरु गरिएको उनको भनाइ छ।  

यात्रा चैत २९ गते गोरखाको पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गरिनेछ। तनहुँमा चैत ३०, वैशाख १ र २ गते यात्रा रहनेछ भने वैशाख ३, ४, ५, ६ गते टोली पाल्पा पुग्नेछ। ७ गते सतिघाटमा यात्रा भव्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ। यात्रामा सहभागी सेनाको टोलीलाई पश्चिम पृतनापति हेड क्वार्टरका दीपककुमार बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर रानामगर, गोरखा नगरपालिका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर, गोनपाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललगायतले विदाइ गरेका थिए।  

त्यस्तै सेनाले यसअघि पनि पृथ्वीनारायण शाहले काठमाडौंसम्म यात्रा गरेको बाटो गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्म टर्च बालेर पदयात्रा गरेको थियो। नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए।

 

प्रकाशित: १ वैशाख २०८० ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App