मेची राजमार्ग अन्र्तगत ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारभित्रको सडकको १५ मिटर भित्र सिमाङ्कन गर्न सुरु गरिएको छ।
सडकको मध्यभागमा दायाँ–बाँया साढेसात–साढे सात मिटरका दरले सिमाङ्कन गर्न थालिएको हो। मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन गएको आइतबार सात दिनको अन्तिम म्याद दिएको फुङलिङ नगरपालिकाले सडक नापजाँच गर्न सुरु गरेको छ।
सडक डिभिजन कार्यालय इलाममार्फत मेची राजमार्ग क्षेत्राधिकार भित्रका संरचना हटाउने कार्यमा फुङलिङ नगरपालिकाले सहयोग गरेको छ। फुङलिङ नगरपालिकाले बजारको हेलिप्याड क्षेत्रबाट सडकको सीमाङ्कन सुरु गरेको छ। सडक नापजाँच गर्दै सडकको मध्यभागमा दायाँ–बाँया साढेसात–साढे सात मिटरका दरले भित्र सडक क्षेत्राधिकार कायम गर्दै यो क्षेत्र भित्र निर्माण भएका घर–टहरा लगायतका संरचना हटाउन सम्बन्धित पक्षलाई नगरपालिकाले आग्रहसमेत गरेको छ।
नगरपालिकाले बजार क्षेत्रमा मेची राजमार्ग सडक सीमाभित्रको संरचना हटाउनलाई २०८० साल बैशाख २ गते सम्मको म्याद दिएको छ। तोकिएको समयभित्र संरचना आफैं हटाउन र नहटाए सडक ऐनको व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्नेसमेत सचेत गराइएको छ। सडक डिभिजन कार्यालयले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनलाई पहिलो पटक गत पुस २४ गते ३५ दिने सूचना जारी गर्दा दाँया–बाँया २१–२१ मिटर हुनेगरी उल्लेख गरिएको थियो।
सडक डिभिजनले सडक क्षेत्राधिकारभित्रको संरचना व्यवस्थापनका लागि सीमा क्षेत्रमा पर्ने स्थानीय तहकोसमेत सहयोग मागेको थियो। सडक डिभिजनले मागेको सहयोगअनुसार फुङ्लिङ नगरपालिकाले पहिलो पटकको म्याद सकिएपछि गत फागुन १४ गते दोस्रो पटक सूचना जारी गर्दै १५ दिने म्याद दिएको थियो। त्यसपछि गएको चैत १ गते तेस्रो पटक सात दिने म्याद दिएर संरचनाहरु हटाउनलाई सूचना जारी गरेको नगरपालिकाले अन्तिम पटकभन्दै पुनः सात दिने सूचना प्रकाशित गरेको छ।
प्रकाशित: ३० चैत्र २०७९ ११:०० बिहीबार