२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रविको मुद्दामा राजनीतिक सौदाबाजी नगरियोस्: महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन्।  

शुक्रवार महान्यायाधिवक्ता बनेको १ सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन। 

पोखरेलले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यालयले प्रमाणहरूको मूल्याङ्कन गरी प्रक्रियागत रूपमा नै टुङ्ग्याएको दाबी गरे। उनले राहदानीको विषयमा अदालतले प्रक्रियागत त्रुटि छ भनेर कतै नलेखेको उल्लेख गर्दै प्रक्रियागत रूपमा नै अनुसन्धान सकिएकाले मुद्दा नचलाउने निर्णय लिएको बताए। 

पोखरेलले राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णय कसैको दबाबमा नभई विवेकपूर्ण रूपमा गरिएको स्पष्ट पारे। उनले अदालतको फैसलाले नै कतै पनि प्रक्रियागत त्रुटि रहेको उल्लेख नगरेकाले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोड्नु अन्याय हुने बताए। उनले राहदानीको मुद्दा नचलाउने निर्णयको स्वामित्व महान्यायाधिवक्ता कार्यालयले लिने भन्दै राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको जिकिर गरेका थिए।

उनले भने, ‘जहाँसम्म राहदानी प्रकरणको कुरा छ, यसलाई म धेरै भन्न चाहन्न। राहदानी प्रकरणको सम्बन्धमा हामीले प्रमाणहरूको मूल्याङ्कन गरेर प्रक्रियागत रूपमा आएका कुरालाई हामीले टुङ्ग्याएको हौँ। कहिले काहीँ हाम्रो तथ्यका रूपमा पनि समस्या हुन्छ, हामीले नेपाल प्रहरीलाई भनेका छौँ अनुसन्धान पूरा नभई कन आएको डकुमेन्ट हामी स्वीकार गर्दैनौँ भनेका छौँ । अनुसन्धानको प्रक्रियामा कहीँ त्रुटि छ भनेर अदालतले कतै लेखेको रहेनछ। भनेपछि अनुसन्धान पूरा भएर प्रक्रियागत आयो, त्यसपछि काठमाडौँ सरकारी वकिल कार्यालयमा आयो, त्यसपछि उच्चमा गयो, म कहाँ आउँदा पनि यहाँ भित्र पनि एक जना सह न्यायाधिवक्ता र एक जना नायव महान्यायाधिवक्ताको माध्यमबाट आउँछ। राहदानी प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्याङ्कन गरेर विवेकको प्रयोग गरेर गरिएको निर्णय हो, त्यसैले यसलाई कुनै राजनीतिक सौदाबाजीको विषयसँग जोडिनु अन्याय हुन्छ, त्यसो गरिनु हुँदैन भन्ने हाम्रो मान्यता छ। हाम्रो निर्णयको स्वामित्व हामीले लिएका छौँ  हामीले विश्वासकासाथ यो निर्णय गरेका हौँ। कानुन र प्रमाणको मूल्याङ्कन गरेर हामीले विवेकपूर्ण काम गरेका छौँ, राजनीतिक कुरासँग जोडिनु आवश्यक छैन।’

महान्यायाधिवक्ता पोखरेलले बलात्कारका घटनामा पीडितहरूले बयान फेर्ने कुरालाई मध्यनजर गरी महान्यायाधिवक्ताको कार्यालयले साक्षीको सुरक्षाको लागि आवश्यक काम गरिरहेको स्पष्ट पारे । उनले फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना न्याय सम्पादन हुन कठिनाइ हुने पनि बताए।

उनले भने, ‘बलात्कारका घटना पीडितहरूले बयान फेर्ने कामहरू यसमा हामीले साक्षीको सुरक्षाको कुरा हाम्रो प्राथमिकताका कार्यक्रम हुन्। यो हाम्रो रणनीतिक योजना पनि उल्लेख गरिएको छ। पछिल्लो दिनमा हामीले यसलाई समावेश गरेका छन्, पीडितको सुरक्षा, साक्षीको सुरक्षाका कुरा हामीले समावेश गरेका छौँ। फौजदारी न्याय प्रणालीमा साक्षीको सुरक्षा र पीडितको सुरक्षाबिना हामी सफल हुन सक्दैनौँ। अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने? हाम्रो मूल कुरा हो। गलत मान्छे प्रतिवादी बन्ने र प्रतिवादी बनाइनुपर्ने नबनाइनु र नबनाइनुपर्ने मान्छे बनाइने कुराले समस्या हुन्छ भनेर हामीले त्यसमा फोकस गरेका छौँ।’

महान्यायाधिवक्ता पोखरेलले अनुसन्धान र अभियोजनलाई कसरी प्रभावकारी बनाउने? भन्ने कुरा महान्यायाधिवक्ताको कार्यालयको प्रमुख काम भएको उल्लेख गरे।

प्रकाशित: २४ चैत्र २०७९ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App