४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सिक्टाको पूर्वी नहर सञ्चालनमा

अघिल्लो बर्खामा पर्याप्त पानी नपर्दा नरैनापुरमा करिब ८५ प्रतिशत जमिन बाँझै रह्यो। सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन्। जसको प्रभाव उत्पादनमा देखिया।े तर, यसपालि सुख्खाग्रस्त नरैनापुरमा अधिकांश खेतबारीमा सिँचाइ पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरमार्फत सफलतापूर्वक पानी सञ्चालन गरेको छ।

२०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुचारु गरिएको थियो। यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनस्थापना हुनेछ। अहिले पूर्ण क्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ। पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटरसम्म छ । अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ। नरैनापुरको गंगापुर, मटहयौ र वडा नम्बर १, २, ३ र ४ मा अर्काे चरणमा काम सुरुवात हुने सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंहले जनाए। उनका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ।

‘पुरानो राजकुलो आठ सय हेक्टर, फत्तेपुर एक हजार हेक्टर र नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरिनै सिँचाइ सुविधा पुग्ने सुनिश्चितता भएको छ,’ उनले भने, ‘बाँकी मुल नहरसहित शाखा नहरको भर्से र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का व्यवस्थापन कार्य अगाडि बढाइछ।’ असार २८ गते ७ घनमिटर प्रति सेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो। परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर रणधीर झाले जनाए। ‘पानी छाडिएपछि किसानलाई ठूलो राहत हुनेछ,’ उनले भने, ‘नरैनापुरको सुख्खा क्षेत्रलाई सिञ्चित गर्नेछ।’ पूर्वी नहरको संरचना भने ३७ किलोमिटर नहर निर्माण भएको छ। केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी विशाल यादवले जनाए।

नरैनापुर नगरपालिकाका यहाँका ९० प्रतिशत परिवार कृषिमा निर्भर छन्। सिँचाइ नहुँदा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्रसमेत घोषणा गरिएको थियो। पूर्वी नहरबाट पानी सुचार भएपछि सुख्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयको अपेक्षा छ। सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन्। सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता हटेको यहाँका किसानको भनाइ छ। ‘गत वर्ष सिँचाइ अभावमा धाननै रोपाइँ गर्न पाइएन,’ स्थानीय किसान अकवीर चौधरीले भने, ‘सिक्टाले सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुने भएको छ।’ गत वर्ष जस्तो यस वर्ष खेत बाँझै राख्नुपर्ने अवस्था नहुने उनले बताइन्।

यस क्षेत्रका किसानले आकासे पानीकै भर परेर खेती गर्नुपर्ने अवस्था थियो। पूर्वी नहरमा पानी छाडिएपछि आकासे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय बुद्धिसिंह थारुले जनाए। पूर्वी नहर निर्माणका लागि कालीका–कुमार जेभीसँग तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: २४ चैत्र २०७९ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App