११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

लाइसेन्सको अनलाइन फारम सञ्चालनमा

काठमाडौं- सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फारम आइतबारदेखि सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फारमको शुभारम्भ गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आग्रह गरे।

'सवारीचालक अनुमतिपत्रका लागि रातभर लाइनमा बसेर फारम भर्ने युगको अन्त्य गरेका छौँ,' उनले भने, 'अब सेवाग्राहीले घरमै बसेर अनलाइनमार्फत फारम भर्न सक्नेछन्।'

अनलाइन फारम सेवा पहिलो चरणमा यातायात व्यवस्था कार्यालय र सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुना वागमतीमा मात्रै सञ्चालनमा ल्याइएको हो।

यातायात कार्यालय वागमतीका प्रमुख तेजनारायण यादवले मोटरसाइकल र स्कुटरका सेवाग्राहीले मात्रै अनलाइन फारम भर्न सक्ने बताएका छन्। 'दुईपांग्रे सवारीको मात्रै अनलाइनमार्फत फारम बुझाउने व्यवस्था गरिएको छ,' उनले भने, 'चारपांग्रे सवारीको अनलाइन फारम केहीपछि मात्रै सञ्चालनमा ल्याइनेछ।'

अनलाइन फारम सञ्चालनमा ल्याएसँगै कार्यालयमा आउने सेवाग्राहीको  चाप घट्ने कार्यालयले जनाएको छ। कार्यालयमा मध्यरातदेखि नै दैनिक सात सय सेवाग्राही आउने गरेको उनले बताए।

अनलाइन सिस्टमको कन्ट्रोलिङ सिंहदरबारभित्र रहेको गभर्मेन्ट इन्टिग्रेटेड डाटा सेन्टरबाट गरिने कम्प्युटर इन्जिनियर राजकुमार महर्जनले जानकारी दिए।

यातायात व्यवस्था विभाग महानिर्देशक चन्द्रमान श्रेष्ठले सीमित क्षमता भएकाले दैनिक पाँच सयले मात्रै आवेदन दिन मिल्ने व्यवस्था गरेको बताएका छन्। 'अनलाइनमार्फत पाँच सय सेवाग्राहीले मात्रै फारम भर्न सक्नेछ। त्योभन्दा धेरै सेवाग्राही भए अर्काे दिन फारम भर्नुपर्नेछ,' उनले भने, 'राजधानीमा थप तीनवटा यातायात कार्यालय सञ्चालन भएपछि क्षमता वृद्धि गर्दै लैजानेछौँ।'

यातायात व्यवस्था विभागले पुस २७ देखि चारपांग्रे सवारीसाधनको पनि अनलाइनमार्फत फारम बुझाउने व्यवस्था गर्ने बताएको छ। कार्यालयका अनुसार दैनिक पाँच सय मात्रै अनलाइन आवेदन लिन सकिने जनाएको छ। अनलाइन फारम २४सै घन्टा खुला रहने बताइएको छ। अनलाइन फारम सञ्चालनमा ल्याए पनि म्यानुअल फारम भर्ने व्यवस्थालाई केही समय निरन्तरता दिने कार्यालय प्रमुख यादवले जानकारी दिए।

यसरी भर्ने फारम

लाइसेन्सको अनलाइन फारम भर्न यातायात व्यवस्था विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपीमा जानुपर्छ। वेबसाइटको होमपेजमा 'अनलाइन सवारीचालक अनुमतिपत्र' को लिंकमा क्लिक गरेपछि अनलाइन फारम भेटिन्छ। आवेदनकर्ताले आफ्नो विवरण भरेपछि सबमिटमा गएर क्लिक गर्नुपर्छ। यसपछि प्रिन्टमा क्लिक गरी रेफरेन्स नम्बरसहितको प्रिन्टआइट सामग्री लिएर यातायात कार्यालयमा जानुपर्छ। सेवाग्राहीले बायोमेटि्रकका लागि आफैँ कार्यालयमा पुगेर, फोटो, हस्ताक्षर तथा औँठाछापका लागि कार्यालयमा नै पुग्नुपर्नेछ।

प्रकाशित: १२ पुस २०७३ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App