शदीयौंदेखि खानेपानी समस्या झेल्दै आएका उदयपुरको बेलका नगरपालिका– ८ को खसटोलवासी तिर्खामुक्त भएका छन्। भर्खरै सम्पन्न सौर्य ऊर्जा प्रणालीको लिफ्टिङ खानेपानी गाउँमा सम्पन्न भएपछि गाउँलेहरू शुद्ध पिउने पानीबाट लाभान्वित हुन पुगेका हुन्।
बेलका– ८ स्थित खसटोलवासीका लागि ग्रामीण सौर्य ऊर्जामार्फत लिफ्ट प्रविधिमा खानेपानी योजना सञ्चालनमा आएको छ। स्थानीय साप्ला खोलामा निर्माण भएको योजना सञ्चालनमा आएसँगै काकाकुल अवस्थामा रहेको खसटोलवासीलाई शुद्ध खानेपानी उपलब्ध भएको छ। साप्ला खोलाको पानी सौर्य ऊर्जा प्रणालीबाट लिफ्टिङ प्रविधिमार्फत ल्याएर ट्यांकीमा जम्मा गरी बस्तीमा वितरण गरिएको छ।
नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिएस) र जर्मन सहयोग नियोग (केएफडब्लू)को अनुदान तथा बेलका नगरको संयुक्त साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो। १ करोड ६१ लाख रूपैयाँ लागतमा निर्मित योजनामा एईपिएस र केएफडब्लूको ७० प्रतिशत अनुदान रकम रहेको छ भने नगरपालिकाले सहभागितावापत ३० प्रतिशत लगानी रहेका बेलका नगरपालिका– ८ का वडाध्यक्ष जयकुमार राईले बताए।
बेलका नगरपालिकामा सौर्य ऊर्जा प्रणालीबाट निर्माण भएको लिफ्ट प्रविधिको खानेपानी योजना यो नै पहिलो भएको पनि वडाध्यक्ष राईको भनाइ छ। योजना निमार्ण सम्पन्न भएसँगै झन्डै १ सय घरधुरी शुद्ध खानेपानीबाट लाभान्वित हुन पुगेको पनि वडाध्यक्ष राईले बताएका छन्। ‘लामो समयदेखि त्यहाँका स्थानीय खानेपानी समस्या भोग्दै आएका थिए’, वडाध्यक्ष राईले भने, ‘यो योजना चालु भएपछि बल्ल शुद्ध खानेपानी खान पाएका छन्। अहिले सबै घरमा धारा जडान भएर पानी खसेपछि गाउँले खुसी छन्।’
भर्खरै सम्पन्न भएको खानेपानी योजनाको बेलका नगर प्रमुख कार्कीले एक समारोहबीच उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर कार्कीले खानेपानीको चरम समस्या भोगिरहेका नागरिकको तिर्खा मेटाउन पाउँदा खुसी लागेको बताए। अन्य प्रविधिबाट योजना सञ्चालन गर्दा ढिला हुने भएकाले सौर्य ऊर्जा प्रणालीबाट लिफ्टिङ प्रविधिबाट योजना निर्माण गरेर छिटो सेवा उपलब्ध गराउन सफल भएको पनि मेयर कार्कीको भनाइ थियो।
उनले सहयोगी संस्थाहरू एईपिएस र केएफडब्लूलाई धन्यवाद दिँदै शुद्ध खानेपानी पाउने स्थानीयसँग खुसी आदानप्रदान गरे। कार्यक्रममा जर्मन दूतावासका डेपुटी हेड अफ मिसन डा. स्टेफेन रस्सेक र एईपिएसका कामु कार्यकारी निर्देशक नवराज ढकालको पनि उपस्थिति थियो।
प्रकाशित: २० चैत्र २०७९ ०२:११ सोमबार





