२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवद्र्धन कार्यक्रम गरिएको छ। चैत १५ देखि १७ सम्म बुद्धको क्रीडास्थल तिलौराकोटमा कार्यशाला सम्पन्न भएको हो। कपिलवस्तु जिल्लाभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउन तीनदिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवद्र्धन कार्यक्रम गरिएको आयोजक सिया आर्ट एन्ड क्राफ्टले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका २३ जना कलाकारको सहभागिता थियो। पहिलो दिन कलाकारलाई कपिलवस्तु जिल्लाको सम्पूर्ण पुरातात्विक स्थलहरूको भ्रमण र त्यसबारे जानकारी गराइएको थियो। दोस्रो दिन तिलौराकोट दरबारमा कलाकारहरूले अवलोकन गरेका स्थलहरूको चित्रकलाबाट प्रदर्शन गरिएको थियो। तेस्रो दिन कलाकारहरूले बनाएका चित्रहरू तौहिलवास्थित तिलौराकोट हाटेलमा प्रदर्शन गरिएको थियो।

राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम ललितकला परिषद्का उपकुलपति लालकाजी लामा, हस्तकला विभागका अध्यक्ष प्रदिप अधिकारी, कलाकारहरू विके नरबहादुर, डिके बराल लगायत भारतीय कलाकारको सहभागिता थियो।

क्राफ्टका अध्यक्ष बालगोविन्द त्रिपाठीले आफूले देशका विभिन्न ठाउँको कार्यशालामा सहभागी हुँदा लुम्बिनी सगरमाथा, पशुपतिनाथ लगायतका क्षेत्रको मात्र नाम आउने गरे पनि तिलौराकोटको कहींकैत नाम समेत नलिने गरिएको बताए। ‘खुला संग्रहालयका रूपमा प्राचीन कपिलवस्तुमा रहेको पर्यटकीय स्थलको प्रचारप्रसार गरी विश्वकै ध्यान खिच्न कार्यशाला गरिएको हो’, उनले बताए।

कुनै पनि जिल्लाको ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न कलाकारहरूको महत्वपूर्ण भूमिका रहने भन्दै उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा आफ्नो देश र ठाउँका कला र संस्कृतिलाई चित्रकलाका माध्यमबाट प्रदर्शन गरिएको बताए।

कार्यक्रम समापनका अवसरमा यशोधरा गाउँपालिकाका प्रमुख शिवदयाल तिवारीले यो कार्यक्रमले ऐतिहासिक कपिलवस्तुको पहिचानमा मद्दत पुगेको बताए। उनले विश्व मानचित्रमा कफिलवस्तुको चिनारीका लागि यो कार्यक्रम फलदायी भएको बताए।

नेपाल ललितकला प्रतिष्ठानको लोककला विभागका प्रमुख प्रदिप अधिकारीले सरकारले आफैं नेपाली कलासँग सम्बन्धित निकायलाई वा एकेडेमीसँग सहकार्य गर्दै अन्तर्राष्ट्रियस्तरमा कला मार्फत यो क्षेत्रको पहिचान गर्न भूमिका खेल्नुपर्ने भए पनि सरकार चुकेको बताए। तर स्थानीय सरकारले सिया आर्टस्सँगको सहकार्यमा आयोजना गरेको कार्यशालाबाट निर्मित चित्र प्रदर्शनीमा गएपछि ती चित्रले यस स्थानको आवाज बोल्ने अधिकारीले बताए। ‘यहाँ बनेका कला कृतिहरू विश्वभर परिचित गराउन कार्यक्रम आयोजनाले सहयोग पुर्‍याउने छ’, उनले भने।

प्रकाशित: १९ चैत्र २०७९ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App