१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

हराउँदै चैते दसैंको मौलिकता

यो पैसो कैलेलाई, चैते दसैँलाई

त्यो पनि मागे दिन्न कसैलाई

चैते दसैं मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत। एक दशकअघिसम्म परम्परागत चैते दसैंको छुट्टै रौनक थियो। लोक गायक टीका क्षत्रीको ‘चैते दसैं मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो।

मेलामा यानी माया, सालैजो, झ्याउरे गीत गुन्जिन्थे भने, स्थानीय उत्पादनको व्यापार राम्रो फष्टाउँथ्यो। अहिले रेकर्ड गरिएका आधुनिक गीतले पाका पुस्तालाई चैते दसैं फेरिएको महसुस हुन्छ। बढ्दो आधुनिकतासँगै पहिलाको चैते दसैं र अहिलेको चैते दसैंमा व्यापक परिवर्तन आएको स्थानीय ८५ वर्षीया दुर्गा आचार्यले बताइन्।

पहिला ठेका, डाला, नाङ्ला, आँसी, बाउसा, सेल रोटी विभिन्न अन्नको कारोबार भएपछि पछिल्लो समय आधुनिक उपकरण, प्लाष्टिकका भाडाकुँडा तथा आधुनिक खेलौनाको बढी कारोबार हुने गरेको छ। लिङ्गे पिङ र चर्खे पिङ्गको सट्टा आधुनिक पिङ सञ्चालनमा छन्।

‘ऊबेला चैते दसैंलाई भनेर खर्च जोहो गर्ने चलन थियो, मेलामा स्थानीय उत्पादनको मात्रै कारोबार हुन्थ्यो, राडी, कम्बल लगायत लत्ताकपडाको कारोबार हुन्थ्यो’, आचार्यले भनिन्, ‘एक वर्षलाई पुग्ने गरी स्थानीय उत्पादन खरिद गरेर स्थानीयले लैजान्थे, अहिले त प्लाष्टिकका सामग्रीको बढी कारोबार हुन्छ, स्थानीय उत्पादनले प्राथमिकता पाउँदैन, बढ्दो आधुनिकतासँगै चैते दसैंको मौलिकता फेरिएको पाइन्छ।’

पहिला अहिलेको चैते दसैंको कुनै तुलना हुँदैन। त्यो बेलाको चैते दसैंमा रेरेरे गीत गाउने, घरेलु उत्पादनको खरिद–बिक्री गर्ने चलन थियो। उनले भनिन्, ‘अहिले मेलामा आधुनिक गीतमा नाच गान हुन्छ, लोकदोहरी गीतसमेत खस्केको छ, पहिला चैते दसैंमा दोहोरी गाएकै भरमा यहाँका थुप्रै कलाकार राष्ट्रिय कलाकार भएका छन्, अहिले त नाचगान, खानपिन, रमाइलो मात्रै छ, स्थानीय उत्पादनदेखि नै छाडे, फ्याट्टफुट्ट देखिएका मादल, डाला, नाङ्ला र ठेकासमेत बिक्री भएको पाइँदैन, गिहाले पनि प्रयोग गर्न नभएर सजाउन मात्रै लगेको पाइन्छ।’

पहिला मेलाको नाममा यही एउटा चैते दसैं भए पनि पछिल्लो समय गाउँगाउँमा विभिन्न मेला तथा महोत्सव आयोजना हुन थालेपछि चैते दसैँ मेलाको रौनकतामा कमी आएको स्थानीय राधिका राना मगरले बताइन्। बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीको खरिद–बिक्रीका लागि मेला लागेपछि अहिले यसलाई चैत्राष्टमी मेलाको नाम दिइएको छ।

बागलुङ कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ हो। यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन्। ‘हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ, जसमध्ये नेपालमै कालिका मन्दिरमा बागलुङ कालिका प्रसिद्ध छ’, रानाले भनिन्, ‘कालिका मन्दिरसँगै जोडिएको छ चैते दसैं मेला बागलुङको ब्राण्ड बन्दै गएकामा दुई मत छैन तर पछिल्लो समय यस मेला गीतसंगीत र खानामा मात्रै सीमित भएको पाइन्छ।’

यही चैत १३ देखि १७ गतेसम्म चल्ने चैते दसैं मेला नाचगान, दोहोरी गीत, खानाका परिकार तथा रमाइलो मेलामा मात्रै सीमित भएको कतिपयको गुनासो छ। मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, हँसिया, बाउसा, मान्द्रो, थुन्से, मादल भाँडाकुँडा लगायत दैनिक उपभोग्य वस्तु खरिद-बिक्री हुने गरेकोमा अहिले खेलौना सामग्री र मदिरा र खानाका परिकार मात्रै बिक्री-वितरण हुने गरेको पाइएको छ।

त्यो चैते दसैँ र अहिलेको नाच गान, खानपिन, लत्ताकपडा, रमाइलो मेलासहितको अहिलेको चैते दसैँ धेरै अन्तरवस्तु फरक पाइएको छ। मेलामा मौलिक तथा स्थानीय उत्पादनलाई निःशुल्क कक्ष र यातयात खर्चको व्यवस्थापन गरे पनि स्थानीय उत्पादनप्रति स्थानीयको रुचि घट्दै आधुनिक सामग्रीमा आकर्षण बढेको पाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

‘चैत दसैँमा अहिले घरेलु उत्पादन सामग्री देख्नै दुर्लभ भइसकेको छ, हामीले ठेका, डाला उत्पादन गर्नेहरुलाई फोन गरेर बोलाउन थालेका छौँ, उनीहरुको व्यापार नभए यातयात खर्च समेत आयोजकले व्यवस्थापन गर्छ’, खड्काले भने, ‘तर बढ्दो आधुनिकता, प्रविधिको प्रयोगका कारण मेलालाई प्रत्यक्ष असर पर्दै आएको स्वीकार छ।’

मेला बागलुङको पहिचानसँग जोडिएको र परम्पराकालदेखि मेला लाग्ने भए पनि विस्तारै आधुनिकताका कारण मेलाको मौलिकता हराउँदै गएको छ। पच्चीस वर्षदेखि कालिका  मन्दिरमा डाला र नाङ्ला लिएर व्यापार गर्दै आएका बडिगाड गाउँपालिकाका ससिराम साम्दाखाडी अबको केही वर्षमा यिनै डाला र नाङ्ला समेत देख्न नपाइने बताउँछन्।

‘करिब २५ वर्ष भयो होला, निगालोको चोयाँबाट बनेका डाला, नाङ्ला लिएर बागलुङ बजार आएको पहिला बोकेर ल्याइन्थो, अहिले यातयातका साधनमा ल्याइन्छ, पहिला डाला र नाङ्ला बेचेर वर्षभरि खान पाइन्थ्यो, अहिले परम्परा धान्ने मात्रै काम भएको छ, पहिला जस्तो चैते दसैंको मौलिकता छैन’, उनले भने, ‘स्थानीय उत्पादनलाई राज्यले हेरेन, छोरा नातिले अर्कै काम समाल्न थाले, स्थानीय उत्पादनको व्यापार छैन्।’ ठेका ठेकी बनाउने परम्परासमेत पुस्तान्तरणको अभावमा लोप भइरहेको छ। रासस

प्रकाशित: १६ चैत्र २०७९ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App