केहीदिन अघिको वर्षाले ओझ्याएको उदयपुरको डढेलो फेरि जागेर जंगल सखाप पार्न थालेको छ। साता दिन अघि दुई रात हल्का वर्षा हुँदा चारैतिर लागेको डढेलो आधाभन्दा बढी नियन्त्रणमा आएको थियो।
तर, अघिल्लो रातिदेखि फेरि डढेलो सल्केको दृश्य दिउँसो नदेखिए पनि राति छ्याङ्ग देखिने गरेको छ। लामो समय सम्म पानी नपरेपछि चर्केको खडेरीसँगै सुख्खा मौसम सुरु भएपछि जिल्लाका दर्जनौँ सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा समेत डढेलो लागेको थियो। केही ठाउँमा राम्रै वर्षा भएको तर, सबैतिर भने हल्का मात्रामा वर्षा हुँदा पनि झण्डै ८० प्रतिशत डढेलो नियन्त्रण भएको थियो।
एक नाश पानी नपरेर खण्डवृष्टि भएकाले सबैतिरको डढेलो नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन्।
‘सबैतिर एकैनास दर्के पानी परिदिएको भए सबैतिरको डढेलो नियन्त्रण हुन्थ्यो’ चौदण्डीगढी ४ का हर्कधन राईले भने ‘तर, यही आसपास पनि देउराली जंगल र चौदण्डीगढी जङ्गलदेखि बसाहासम्म भीषण पानी पर्यो, ५ सय मिटर मात्र पर बेलटारदेखि गाईघाटतर्फ छिटा मात्र हान्यो।’
चुरे जंगलक्षेत्र पर्ने भएकाले एक ठाउँमा लागेको डढेलो अर्को सामुदायिक वन क्षेत्र हुँदै पुरै चुरेसम्म फैलने खतरा रहेकाले वर्षाले जस्तो सहजै मान्छेले डढेलो निभाउन सजिलो नहुने राईले बताए।
स्थानीयका अनुसार चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र मात्र दर्जन बढी वन समूहमा चैत सुरुदेखि नै डढेलो लागेको थियो। वन समूह पदाधिकारी, उपभोक्ता, स्थानीय प्रहरी र सब डिभिजन वन कार्यालयका कर्मचारीको ठूलो प्रयासका बाबजुद पनि डढेलो नियन्त्रण ठूलो चुनौती हुने गरेको छ।
जङ्गलभरि खडेरीले सुकेका पत्कर, मौसम परिवर्तनको समय भएकाले साललगायत रुखका पुराना खसेका पात र लामो समय पानी नपर्दा सुख्खा भएको झारपातले सामान्य झिल्को नै भीषण डढेलोका लागि काफी हुने गरेको छ। त्यसमाथि कतिपयले आफै डढेलो लगाउने गरेको पनि स्थानीय भुक्तभोगीहरू बताउँछन्।
डिभिजन वन कार्यालय गाईघाटले ३ दिनदेखि डढेलो लागेको खबर आउन थालेको जनाएको छ। डिभिजनका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले त्रियुगा ११ को नवोदय र चौदण्डीगढी ५ सुन्दरपुरस्थित शिवालय सामुदायिक वन समूहको डढेलो भने भर्खर नियन्त्रणमा आएको बताए।
सुख्खा याम, लामो खडेरी र हावाहुरीको समय डढेलो लाग्ने मौसम नै भएकाले सतर्कता अपनाउँदा अपनाउँदै पनि रोक्न नसकिने उनको भनाइ छ। सकेसम्म डढेलो लाग्न नदिन र लागिहाले तत्काल नियन्त्रण गर्न स्थानी तह, सामुदायिक वन समूह, प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गर्ने, प्रचार प्रसार र अन्य जनचेतनामूलक कार्यक्रमहरु डिभिजनले गरिरहेको साहले बताए।
उता कटारी क्षेत्रमा पनि डढेलो पुनः फैलिएको डिभिजन वन कार्यालय त्रिवेणिले जनाएको छ। निमित्त डिभिजन वन अधिकृत भोगेन्द्र मण्डलले चैत पहिलो सातादेखि नै सुरु भएको डढेलो बीचमा वर्षाले निभाएकोमा फेरि देखिन थालेको बताए।
सो डिभिजन अन्तर्गत पर्ने डाँफे सामुदायिक वन र चियाबारी सामुदायिक वन क्षेत्रमा २ दिनअघि लागेको डढेलो भने मंगलबार बिहानसम्ममा नियन्त्रणमा आएको छ। त्यस्तै अन्य कताकता डढेलो लागेको छ भन्ने कुरा खोजी भईरहेको र नियन्त्रणका लागि व्यवस्थापन र जनशक्ति परिचालन गर्न तयारी अवस्थामा राखिएको डिएफओ मण्डलले बताए।
सदरमुकाम आसपासका दर्जन बढी जंगल क्षेत्रमा पहिलो सातादेखि नै लागेको डढेलो वर्षापछि नियन्त्रणमा आएकोमा फेरि अघिल्लो रातिदेखि पहिलेकोजस्तै जङ्गलभरि डढेलो देखिने गरेको स्थानीयहरु बताउँछन्। घना जंगल भएकाले नजिकमा बसोबास नहुने र दिउसो आगो नदेखिने भएकाले राति मात्र वनमा डढेलो लागेको प्रष्ट देखिने प्रत्यक्षदर्शी बताउँछन्।
उदयपुरमा डिभिजन वन गाईघाट मातहत २ सय ५ वटा सामुदायिक वन समूहहरू रहेका छन्। त्यस्तै डिभिजन कटारी अन्तर्गत १ सय ५४ वटा वन समूह क्रियाशील छन्। गएको असोज यता उदयपुरमा वर्षा भएको थिएन। चैत २ देखि ३ गते बिहानसम्म कतै भीषण वर्षा भयो भने अधिकतर क्षेत्रमा भने हल्का मा वर्षा हुँदा पनि धेरै ठाउँको डढेलो नियन्त्रणमा आएको थियो।
प्रकाशित: १४ चैत्र २०७९ ०९:२५ मंगलबार