१५ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य

चैते दशैँको छैठौँ दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदैछ।

छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले आज अर्घ्य अर्पण गर्दछन्। गत शुक्रवारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। मंगलवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ।

कार्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरु नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ। चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ। खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन्। प्रसादमा खीर ,केरा, दूध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ।

पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतीक्षा गर्दछन्। त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन्। अर्घ्यमा मुला, उखु,भाण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरू चढाउने गरिन्छ । सन्ध्या अर्घ्य पश्चात् रातभर व्रतालुहरु जाग्राम बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ।

प्रकाशित: १३ चैत्र २०७९ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App