७ वैशाख २०८१ शुक्रबार
समाज

खालिस्थान अभियन्ता सिंह नेपाल पसेको आशंका !

तस्बिर सौजन्य: हिन्दुस्तान टाइम्स (फाइल तस्बिर)

गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रका भूभागमा उच्च सर्तकता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। 

भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल–भारत सीमा क्षेत्र ‘हाई अलर्ट’ मा राखिएको मन्त्रालय स्रोतले जनाएको छ। भारतमा खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल आएको वा आउन सक्ने सम्भावना बढेको भन्दै त्यस्तो निर्देशन दिइएको हो। मन्त्रालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत सीमित प्रहरी अधिकारीहरू नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेका छन्। सो विषयमा विशेष ब्युरोले आजै मात्र कार्यभार सम्हालेका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई रिपोर्ट गरिसकेका छन्।

वारिस दे पन्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको जानकारी दिएपछि भारतीय सुरक्षा स्रोतले त्यहीबाट नेपाल छिर्न सक्ने भन्दै नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोलाई खबर गरेको थियो ।

पछिल्ला दिनमा लन्डन र सान फ्रान्सिसकोमा समेत खालिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गर्दै सिमानामा सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुई दिनअघि सशस्त्र आइजिपी राजु अर्यालले पनि यो विषयमा रिपोर्ट लिइसकेका छन्। ‘दुवै प्रहरी टोलीले आफ्नो संयन्त्र परिचालन गरिसकेका छन्,’ गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार कपिलवस्तुदेखि पश्चिम नेपालबाट नेपाल आउन सक्ने भन्दै सीमा क्षेत्रमा सादा पोसाकका प्रहरीले निगरानी बढाएका हुन्।

भारतीय सुरक्षा स्रोतले वारिस दे पन्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको जानकारी दिएपछि त्यहीबाट नेपाल छिर्न सक्ने भन्दै नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोलाई खबर गरेको थियो। त्यसयता दुवै प्रहरीका गुप्तचरहरू परिचालित भएका हुन्। यो विषयमा नेपालको राष्ट्रिय अनुसन्धान ब्युरो भने बेखबर छ। ‘भारतीय सुरक्षा अधिकारीले पश्चिम नेपालको सीमा क्षेत्रबाट नेपाल पस्न सक्ने खबर गरेका हुन्,’ मन्त्रालयका उच्च अधिकारीले भने। भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पनि उत्तराखण्डबाट नेपाल पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको उल्लेख गरेका छन्। पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ। अमृतपाल सिंह सम्पर्कविहीन भए पनि खालिस्तान समर्थकहरूलाई भने भारतीय प्रहरीले देशैभरिबाट शिख समुदायका व्यक्तिलाई धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भड्कन सक्ने भन्दै भारत सरकारले पन्जाब राज्य सीमाभित्र केही दिनयता इन्टनेरटसमेत अवरुद्ध गरेको छ।

अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समूहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपालविरुद्ध कारबाही सुरु गरेको थियो। भारतीय प्रहरीले उनीमाथि लुकआउट नोटिस तथा बिनाधरौटीको पक्राउ पुर्जी जारी गरिसकेको छ। अमृतपालमाथि धरपकड हुन थालेपछि पश्चिमा मुलुकमा रहेका खालिस्तान समर्थकहरूले भारतीय नियोगमा राखिएका झन्डाहरू निकालेर खालिस्तानी झन्डासमेत राखेका थिए। खालिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको अवस्थामा नेपाली सुरक्षा अधिकारीहरूसमेत ‘हाई अलर्ट’मा बसेका हुन्।

सन् १९८४ को जुन ६ मा भारतीय राज्य पन्जाबको राजधानी अमृतसरमा रहेको शिख धर्मावलम्बीको पवित्र ठाउँ स्वर्ण मन्दिरमा भारतीय सेना बलपूर्वक प्रवेश गरेपछि यो विवाद चर्किएको थियो। त्यतिबेला भारतमा शिख धर्मावलम्बीका लागि अलग देश खालिस्थान स्थापना गराउने पृथकतावादी आन्दोलन उत्कर्षमा पुगेका भन्दै सेना बलपूर्वक प्रवेश गरेको थियो। शिख अभियन्ताले स्वतन्त्र खालिस्तान हासिल गर्न आतंकवादी गतिविधिको सहारा लिएका थिए।

भारतीय सुरक्षा फौजले अन्यत्र टिक्न नदिने देखेपछि पृथकतावादीले स्वर्ण मन्दिरलाई किल्ला बनाएर त्यहीँबाट गतिविधि सञ्चालन गर्न थालेका थिए। अन्ततः भारत सरकारले मन्दिरभित्रै पसेर उनीहरूको सफाया गर्ने निधो गरेपछि उग्र रूप लिएको थियो। भारतीय फौज मन्दिरभित्र प्रवेश गर्दा भएको भिडन्तमा डेढ सय पृथकतावादी, ८३ सुरक्षाकर्मी र करिब ५०० सर्वसाधारणको मृत्यु भएको थियो। त्यस सैन्य कारबाहीलाई ‘अपरेसन ब्लु स्टार’का नामले चिनिन्छ। सो घटनापछि खालिस्तान आन्दोलन सेलाएको थियो।

प्रकाशित: १३ चैत्र २०७९ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App