१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

मदन भण्डारी लोकमार्गः खैराहा र असारीको पुल अन्तिम चरणमा

भर्खरै ढलान भएको खैराहाझोडा पुल। तस्विरः महेश्वर

पूर्व झापादेखि पश्चिमको डढेलधुरालाई जोड्ने राष्ट्रिय गौरवको योजना ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुर खण्डमा निर्माणाधीन ४ वटा मोटरेबल पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्।  

सदरमुकाम गाईघाट–बेलटार खण्डमा बन्न बाँकी असारी र खैराहाझोडा खोलामा तथा गाईघाट–कटारी खण्डको मौवासी र बकपति खोलाका पुल निर्माण सकिने चरणमा पुगेका छन्। त्रियुगा नगरपालिका १३ मा पर्ने असारी खोलामा ३५ मिटर लामो १ स्पानको पुलको काम सकेर दाँयाबाँया १ सय मिटर तटबन्ध बाँध्ने काम धमाधम भईरहेको छ। तटबन्ध सकिने बित्तिकै एप्रोच सडक कालोपत्रे गर्ने काम सुरु हुने निर्माण कम्पनीले जनाएको छ। यहीँ चैतभित्र तटबन्धको काम सकेर २०८० वैशाखभित्र एप्रोच सडक कालोपत्रे गरिसक्ने योजना निर्माण कम्पनीले बनाएको छ।  

त्यसैगरी सोही खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका १० स्थित खैराहाझोडाको पुल भने केही ढिला भएकाले भर्खर स्ल्याब ढलान गरिएको छ। गतवर्ष पुल बनाउन सुरु गर्ने क्रममा जग खन्दा बडेमानको ढुंगा भेटिएको र फुटाउन नसपछि केही मिटर ठाउँ सार्नुपर्दा लगभग ६ महिना काम रोकिन पुगेको थियो। २ स्पान, ४५ मिटर लामो उक्त पुलको काम ६ महिना रोक्नु पर्दा ढिला भएर अहिले ढलान गर्नु परेको निर्माण कम्पनी स्वामिनारायण–आशिर्वाद जेवीका प्रतिनिधि मेघराज बुढाथोकीले बताए। उनका अनु्सार बिहीबार गरेको ढलान २८ दिनपछि सेटिङ खोलेपछि रेलिङ पोष्टको काम थालिने छ।

यता गाईघाट–कटारी खण्डमा पर्ने मौवासी खोलाको पुलको ढलान सकेर रेलिङ पोष्टको काम धमाधम भईरहेको छ। २ स्पान, ५५ मिटर लामो सो पुलको पश्चिमतर्फ भने कडा चट्टान परेकाले कटिङमा समय लागिरहेको छ। चट्टान काटे एप्रोच सडक फराकिलो पार्नुपर्ने भएकाले अहिले त्यसको काम धमाधम भईरहेको छ। पश्चिमतर्पm भिरालो पहा भएकाले डाईभर्सन निकाल्न नमिलेर गाडी चलेका बेला चट्टान काट्न अप्ठेरो र ढिला भईरहेको छ। डाईभर्सन निकाल्ने ठाउँ नहुँदा लोकमार्गमा बाक्लो आउजाउ गर्ने गाडी केही बेर रोकेर बिस्तारै कटिङको काम गर्नुपर्ने बाध्यता रहेको छ।  

बुढाथोकीका अनुसार ढिलै भए पनि चैतभित्रमा कटिङ सक्न पाए माटो पुरेर एप्रोचको कालोपत्रे गर्न थाल्ने योनजा निर्माण कम्पनीले बताएको छ। सोही खण्डमा पर्ने मौवासीभन्दा पश्चिमतर्फको बकपति खोलाको अर्को पुल भने सकिइसकेको छ। १ स्पानको ३५ मिटर लामो उक्त पुलको काम भने सबै सकिएर एप्रोच कालोपत्रे गर्न मात्र बाँकी रहेको छ। अव केही दिनभित्रै एप्रोच कालोपत्रेको काम पनि सुरु हुन गईरहेको निर्माण कम्पनीको भनाई छ।

लोकमार्गको उदयपुर खण्डमा पहिले बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्दा इस्टीमेटमा नपरेका ८ वटा पुल लोकमार्ग सञ्चालन हुन थालेपछि थपिएको हो। जसमध्ये सपना निर्माण सेवाले ३ वटा, लामा–शर्मा जेवीले ४ वटा र लुम्बिनी निर्माण कम्पनीले एउटा पुलको ठेक्का लिएका थिए। जसमध्ये सपनाले ठेक्का लिएको सुन्दरी खोला, लामा खोला र ज्यामिरेका ३ वटै पुल गतवर्ष नै निर्माण सकिएर सञ्चालनमा आईसकेका छन्। ती पुलको एप्रोच कालोपत्रेसमेत २ महिनाअघि नै भईसकेको लोकमार्ग कार्यालय उदयपुरका प्रमुख (डिई) गोपाल खकुरेलले बताए।  

उनका अनुसार लामा–शर्मा जेवीले जिम्मा लिएको असारी, खैराजाझोडा, मौवासी र बकपतिका पुलहरु अन्तिम चरणमा पुगेका छन्। यी ४ वटै पुल ढिलोमा आउँदो जेठ दोस्रो साताभित्र सम्पन्न भईसक्ने खकुरेलले बताए। सकेसम्म एप्रोच कालोपत्रेसमेत गरिसक्ने, कुनै प्राविधक समस्या आईपरिहाले पनि आउँदो बर्खायाममा बाढीको समस्याले सडक आउजाउ नरोक्ने गरी काम भईरहेको डिई खकुरेलले बताए। लुम्बिनीले जिम्मा लिएको गाईघाट–कटारी खण्डकै अर्ना, धप्पर र रातुमध्ये धप्पर खोलाको पुल भने भर्खर निर्माण सुरु भएको उनले बताए।  

ठेकेदार कम्पनीले आन्तरिक समस्या देखाएर ढिलाई भएको भन्दै धप्परमा भर्खर जग खनेर पिल्लर गाड्ने काम गरिरहेको डिई खकुरेलको भनाई छ। सँगै एकैचोटी ठेक्का लागेका उदयपुर खण्डका ९ वटामध्ये ४ वटाको एप्रोच कालोपत्रेसमेत भईसकेको र ४ वटा सकिने चरणमा पुगे पनि धप्परको काम ढिला हुनुको कारण सोध्दै तत्काल काम अघि बढाउन लिखित र मौखिक ताकेता गरिहेको खकुरेलको भनाई छ। डिई खकुरेलले सोही लटमा ठेक्का लागेको कटारी–सिन्धुली खण्डमा पर्ने सुनखानी, पँधेरी र थनाहा खोलाका पुलहरु पनि यसअघि नै बनिसकेको बताएका छन्।  

प्रकाशित: १३ चैत्र २०७९ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App