१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

३० वर्षे सेवावधि हट्ने सम्भावना न्यून

फागुन २६ गते गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका र बुधबार दज्र्यानी चिह्न लगाएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सँग प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘तपाईंहरूमध्येबाटै एकजना आगामी प्रहरी महानिरीक्षक (आइजिपी) बन्नुहुनेछ।’ गृहमन्त्रीको जिम्मेवारीमा समेत रहेका दाहाललाई भेट्न बुधबार आइजिपी धीरजप्रताप सिंहसहित पाँच नयाँ एआइजी प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए। गृहको बढुवा समितिले गरेको सिफारिसका आधारमा सोमबार (चैत ६ गते) बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा रिक्त पाँच दरबन्दीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गरेको थियो।

नयाँ एआइजीलाई आइजिपी सिंहले बुधबार दज्र्यानी चिह्न लगाइदिएका थिए। त्यसलगत्तै पाँचैजनालाई लिएर आइजिपी सिंह सिंहदरबार गएका थिए। सोही क्रममा नयाँ एआइजीहरूलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले पाँचजनामध्येबाटै मुलुकले आगामी आइजिपी पाउने अभिव्यक्ति दिएको स्रोतको भनाइ छ। ‘आइजिपी साबले असल परम्पराअनुसार नयाँ बढुवा भएका एआइजीहरूलाई प्रधानमन्त्री, मुख्यसचिव, गृहसचिवलगायतसँग चिनजान गराउन सिंहदरबार लैजानुभएको थियो,’ स्रोतले भन्यो, ‘सोही भेटमा नयाँ बढुवा भएका एआइजीहरूलाई बधाई तथा शुभकामना दिँदै पाँचजनामध्येबाटै आगामी आइजिपी हुने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीले सुझाउनुभएको छ।’ भेटका क्रममा दाहालले यसपालिको एआइजी बढुवामा वरीयता नमिचिएको र बढुवा निर्विवाद बनेको भन्दै खुसी पनि व्यक्त गरेका थिए।

यस्तै सुशासन र समृद्धिका लागि काम गर्दै प्रहरी संगठन र सरकारको छवि उच्च बनाउँदै जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउनेगरी काम गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन्।  

आइजिपी सिंह प्रहरी नियमावली २०७१ संशोधन गराएर त्यसमा रहेको ३० वर्षे सेवावधि हटाउँदै आफ्नो कार्यकाल लम्ब्याउने अभ्यासमा थिए। नियमावलीको नियम १२७ (घ) मा प्रहरी कर्मचारीको अधिकतम सेवावधि ३० वर्ष रहने प्रावधान छ। प्रधानमन्त्री दाहालले नै प्रस्ट रूपमा आगामी आइजिपी पाँचजना नयाँ एआइजीमध्येबाटै हुने भनेपछि आइजिपी सिंहको कार्यकाल निरन्तर रहने सम्भावना कम भएको स्रोतको दाबी छ। नियमावली तत्काल संशोधन नभए आइजिपी सिंहको कार्यकाल शुक्रबार (चैत १० गते) मध्यरातबाट सकिनेछ। सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका थिए।  

बिहीबार र शुक्रबार गरी दुई दिन मात्रै आइजिपी सिंहको सेवावधि बाँकी रहँदा गृह मन्त्रालयमा बुधबार साँझसम्म पनि नियमावली संशोधनको प्रक्रिया थालिएको छैन। मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले पनि बुधबार कार्यालय समयभित्र त्यसबारे कुनै छलफल र औपचारिक कुराकानी भएको जानकारी नभएको बताए। प्रधानमन्त्री दाहालको सचिवालयले पनि तत्काल नियमावली संशोधनको सम्भावना नरहेको बतायो। ‘अब त्यो (नियमावली संशोधन) सम्भावना छैन भने पनि हुन्छ। प्रधानमन्त्रीज्यू आफैंले आजै (बुधबार) पाँचजनाबाटै नयाँ आइजिपी हुने भनिसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘बरु आगामी आइजिपीका लागि दलहरूबीचमा केही छलफल हुन सक्छ।’  

उता नेपाल प्रहरी प्रधान कार्यालय नक्साल भने सरकारकै निर्णय पर्खिरहेको छ। ‘सरकारले जे भन्छ, त्यसै गर्न हामी तयार छौं,’ कार्यालयका एक विशिष्ट प्रहरी अधिकृतले भने, ‘पुरानै आइजिपी साबको थपिए निरन्तर हुन्छ। नभए नयाँ आइजिपीलाई स्वागत गर्छौं। दुवै कुराको ५०/५० सम्भावना होला।’ नियमावलीमा रहेको सेवावधिको प्रावधान नहटे आइजिपी सिंहसहित उनको ब्याचमा भर्ना भएका एआइजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, डिआइजीहरू नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहनकुमार आचार्यलगायत प्रहरी अधिकारी १० गते रातिबाट अवकाशमा जानेछन्। त्यसपछि आइजिपीका लागि अहिले बढुवा भएका पाँच एआइजी नै आगामी आइजिपीका प्रतिस्पर्धी हुनेछन्। उनीहरूमध्ये कुँवर, राई, ज्ञवाली र बज्राचार्य २०५१ चैत ५ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका हुन् भने थापा २०५२ भदौ १९ गते सेवा प्रवेश गरेका हुन्। उनीहरू गत असार १९ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा भएका थिए।

प्रकाशित: ९ चैत्र २०७९ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App