coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालन

पोखरामा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ चाँडै सञ्चालनमा आउने भएको छ। पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो।

 न्यूरोडस्थित भाटभटेनी भन्दा केही तल रहेको यो शुक्रबारदेखि सञ्चालनमा आउने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार ‘पाल्पा हाउस’को शुक्रबार बिहान पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख (मेयर) सन्तोषलाल श्रेष्ठको संयुक्त बाहुलीबाट समुद्घाटन गर्ने तय भएको छ।

मायाको प्रतीक रानी महलको बनोटमा सेतो र निलो रङ्गको कम्विनेसनमा निर्माण गरिएको ‘पाल्पा हाउस’ आकर्षक छ। दुई तले भवनमा १७ वटा सटर रहेको अध्यक्ष घिमिरेले जानकारी दिए। सबै सटरमा पाल्पा र पोखराको पहिचान बोकेका छुट्टाछुट्टै सामानहरुको स्टल रहने उनको भनाई छ। पाल्पा र पोखराका मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानका रुपमा रहेका वस्तुहरु बिक्री वितरणका लागि राखिनेछन्। उनका अनुसार ‘पाल्पा हाउस’मा पाल्पाको चिनारीका रुपमा रहेको पाल्पाली करुवा, पाल्पाली ढाकासहितका सामानहरु रहेको स्टल रहेका छन् भने पोखराको पहिचान बोकेको पोखरेली जेठो बुढो चामललगायतका वस्तुहरुका स्टल राखिएका छन्। पाल्पा हाउस भित्रै पाल्पामा उत्पादन भएका फलफूल तथा तरकारीहरु बिक्रीका लागि कृषि बजारसमेत रहने अध्यक्ष घिमिरेले जानकारी दिए। ‘पाल्पाका उत्पादक र पोखरेली उपभोक्तालाई जोड्ने उद्देश्यले कृषि बजार राखेका हौँ’–उनले भने।

‘पाल्पा हाउस’मा पाल्पाली स्वाद दिने गरी एउटा रेष्टुरेण्टसमेत सञ्चालन गरिने अध्यक्ष घिमिरेले जानकारी दिए। जहाँ चर्चित पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयलालगायतको स्वाद लिन पाइने उनको भनाई छ। ‘पाल्पाको स्वाद पोखरामै चखाउन पाल्पाली स्वादको रेस्टुरेन्ट राखेका हौँ’–उनले भने।

पाल्पा हाउस नाम भएपनि यहाँ पाल्पा र कास्कीका दुबै ठाउँका सामानहरु राखिनेछन्। ‘पाल्पा हाउस’ सञ्चालनको उद्देश्य पाल्पा र कास्कीका उत्पादनको प्रवर्द्धन गर्नु रहेको अध्यक्ष घिमिरे बताउँछन्। भन्छन्,‘हाम्रो जन्मथलो पाल्पा हो तर कास्की कर्मथलो हो। त्यसैले दुबैप्रति हाम्रो उत्तिकै माया र महत्त्व छ। त्यसैले दुबै ठाउँ र यहाँका उत्पादनलाई प्राथमिकता दिएका हौँ।’ उनले पाल्पाको करुवा र ढाकालाई पोखरामा बजारीकरण गर्ने तथा पोखरेली जेठो बुढो धानलाई पोखराको कोसेलीको रुपमा ब्राण्डिङ गर्ने आफूहरुको योजना रहेको बताए।

उद्घाटनको अवसरमा बैशाख पहिलो हप्तासम्म ‘पाल्पा हाउस’का हरेक सामानको खरिदमा १० प्रतिशत छुट दिइने जनाइएको छ।

पाल्पाली समाज पोखराले ‘पाल्पा हाउस’बाहेक पाल्पाली कोलोनी निर्माण तथा पाल्पाली बहुउद्देश्यीय सहकारी सञ्चालन गर्दै आएको प्रचारप्रसार संयोजक विजय नेपालले जानकारी दिए।

प्रकाशित: ८ चैत्र २०७९ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App