८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङ प्रशासन कार्यालयद्वारा १ सय ७५ थान वैवाहिक अंगिकृत नागरिकता प्रदान

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हाल सम्म १ सय ७५ जनालाई वैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार अहिले सम्म प्रशासन कार्यालयले १ लाख ८२ हजार ४ सय २७ थान नेपाली नागरिकता जारी गरेको छ। त्यसमध्ये १ सय ७५ थान बैबाहिक अंगिकृत नागरिकता रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका कामु शाखा अधिकृत रमेश सिग्देलका अनुसार वैवाहिक अंगिकृत नागरिकता पाउनेमा नेपाली पुरुषसंग बिबाह गरेका भारतीय मूलका महिला बढी रहेका छन्। उनका अनुसार भारतीय मूलका १ सय ६० जनाले बैबाहिक अंगिकृत नागरिकता पाएका छन्। त्यसपछि चिनीया मुलका १४ र १ जना भुटानी मुलका रहेका छन्। १ लाख ८२ हजार २ सय ५२ थान नागरिकता भने बंशजका नाताले जारी भएको प्रशासन कार्यालयले जनाएको छ।  

नेपालको संविधान २०७२ को भाग (२) मा नागरिकता सम्वन्धी व्यवस्था उल्लेख गरिएको छ। जस अनुसार नेपालको नागरिकसंग बैबाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम अंगिकृत नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ। संविधान अनुसार बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्ति,कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेको छ भने त्यस्तो व्यक्तिका सन्तान वालिग भएपछि उसलाई बंशजको आधारमा नेपाली नागरिकता प्रदान गर्न सकिने छ।

यस्तै नेपाल भित्र फेला परेका पितृत्व र मातृत्व ठेगान नभएका प्रत्येक नावालक निजको बाबुआमा फेला नपरे सम्म बंशजको आधारमा नेपालको नागरिक ठहर्ने छ। संविधानमा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबु पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ। तर,बाबु बिदेशी नागरिक भएको ठहरेमा यस्तो व्यक्तिको नागरिकता संघीय कानुन अनुसार अंगिकृत नागरिकतामा परिणतहुने संबैधानिक व्यवस्था रहेको छ।  

प्रकाशित: ८ चैत्र २०७९ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App