४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सडकमा कुखुरा फालेर व्यवसायी आन्दोलित

भारतबाट अवैधरूपमा हुने कुखुरा तस्करीको मार खेपिरहेका कुखुरा व्यवसायीहरूले सडकमा कुखुरा फालेर आन्दोलन सुरु गरेका छन्। बिहीबार दिउँसो नेपालगन्जस्थित गणेशमान चोकको सडकमा कुखुरा फालेर उनीहरूले आन्दोलन गरेका हुन्।

दैनिक ठूलो परिणाममा भारतीय कुखुरा अवैधरूपमा बाँकेका विभिन्न नाकाबाट भित्रिँदा कुखुरा व्यवसायीहरू ठूलो मारमा परेको जानकी गाउँपालिका–१ का असगर अली कुरेशीले बताए। ‘खुलेआम तस्करी हुँदा पनि नियन्त्रण गर्ने कोही छैनन्,’ उनले भने, ‘उताबाट तस्करी भएर आएका कुखुराले बजार पाउँछन्। हामीले ठूलो मिहिनेतका साथ उत्पादन गरेका कुखुराले मूल्य र बजार पाउँदैनन्।’ यहाँका कुखुरा व्यवसायीहरूले सुरक्षाकर्मी र भन्सारकै कर्मचारीको मिलोमतोमा कुखुरा अवैधरूपमा तस्करी भइरहेको बताएका छन्। ‘सशस्त्र प्रहरी छ, अर्काे पुलिस छ, ठाउँठाउँमा चेकिङ छ तर पनि कुखुराहरू आइरहेका छन्,’ अहमद हुसेन खाँले भने, ‘करोडौंको लोन छ। कसले तिरिदिन्छ।’ उनले अहिले नेपालमा दुई किलोभन्दा बढीका कुखुरा नै नहुने गरेकोमा बजारमा चार केजीसम्मका कुखुरा पुग्ने गरेको बताउँदै ती सबै भारतीय कुखुरा भएको बताए। उनले कुखुरा तस्करी भइरहेको बारेमा प्रहरीलाई फोन गरेर जानकारी दिँदा पनि नसमातेको भन्दै आक्रोश पोखे।

भारतसँग खुला सीमा जोडिएको बाँकेका आयातमा प्रतिबन्ध लगाइएका भारतीय कुखुराहरूको तस्करी लामो समयदेखि भइरहेको छ। त्यसलाई रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिम्मेवारी ननिभाएको यहाँका व्यवसायीहरूले आरोप लगाउँदै आएकोमा बिहीबार व्यवसायीहरू सडकमै उत्रिएर आक्रोश पोखेका हुन्। कुखुरा व्यवसायीहरूले सडकमै कुखुरा फालेर सिडिओ कार्यालय र प्रहरीविरुद्ध नाराबाजी गर्न थालेपछि केहिबेर सडक अवरुद्ध भएको थियो। उनीहरूले टायरसमेत बालेका थिए।  

व्यवसायीहरूले भारतबाट आउने कुखुरा रोकेर नेपाली व्यवसायीलाई सघाउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा उत्रनु परेको बताएका थिए। भारतबाट जमुनाह, साइगाउँ र नरैनापुर क्षेत्रबाट कुखुराको तस्करी धेरै हुने गरेको उनीहरूले बताए। किसानहरू सडकमा उत्रिएर नाराबाजी गर्न थालेपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मा अन्दोलनस्थलमा पुगेर उनीहरूको मागको सम्बोधन तत्काल गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको थियो।

तस्करी भएर आएको कुखुराको मूल्यसँग स्वदेशी कुखुराले मूल्य धान्न नसक्ने यहाँका किसानहरू बताउँछन्। ‘भारतबाट तस्करी भएर आएका कुखुराको मूल्य सस्तो हुन्छ,’ कुखुरा व्यवसायी अमिर हल्वाइले भने, ‘हामीले उत्पादन गरेको कुखुरा भारतीय मूल्यमा दिन सकिँदैन।’ भारतीय मूल्य बराबर दिँदा लगानी उठ्न नसक्ने उनले बताए।

प्रकाशित: ७ चैत्र २०७९ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App