१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पत्रकारिता मर्यादित हुनुपर्छ: अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता मर्यादित हुनुपर्नेमा जोड दिएका छन्।

ख्वप मावि देकोचा भक्तपुरमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीसँग उनले त्यसैका लागि काउन्सिलले आचारसंहिता बनाउनेदेखि कार्यान्वयन गराउने कामसम्म गर्दै आएको जनाए।

काउन्सिलको अध्ययन भ्रमणमा आएका उनले आचारसंहिता कार्यान्वयन भएको छ कि छैन भनी अनुगमन गर्ने काम पनि काउन्सिलले निरन्तर गरिरहेको बताए। आचारसंहिताको पालना नगर्ने सञ्चारमाध्यम र पत्रकारलाई सचेत पार्ने काम पनि गर्दै गरेको उनले बताए।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलको इतिहासबारे चर्चा गर्दै उसले गर्दै आएका काम, कर्तव्य अनि अधिकारबारे विद्यार्थीलाई जानकारी गराए। त्यस अवसरमा उनले पत्रकार मर्यादित भए पत्रकारिता मर्यादित हुने उल्लेख गरे।

यसै गरी नेपाल पत्रकार महासंघको भ्रमणमा महासंघका सचिव अमृता अर्यालले पत्रकारिताको भविष्य सुनौलो रहेको बताइन्। मिहेनत गर्नेहरुका लागि पत्रकारिता एउटा उचित पेसा भएको भन्दै पत्रकारले इमानदारितापूर्वक काम गर्नुपर्ने खाँचो उनले औँल्याइन्।

स्कुलमा कक्षा १२ मा पत्रकारिता विषय लिई अध्ययन गरेका विद्यार्थीले सञ्चारग्रामको अवलोकन भ्रमण गरेका थिए। एयरपोर्ट नजिक रहेको सञ्चारग्राममा रहेका प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको उनीहरुले अवलोकन भ्रमण गरेका थिए। 

भ्रमणको क्रममा विद्यार्थीले ती दुवै कार्यालयले गर्दै आएका विभिन्न कामहरुको बारेमा अवलोकन गरेका थिए।

कार्यक्रममा पत्रकारिता शिक्षक कृष्ण किसीले पत्रकारिताबारे व्यवहारिक ज्ञान दिलाउन नियमित रुपमा भ्रमण गराउने कार्यक्रम अन्तर्गत सञ्चारग्रामको भ्रमण गराएको बताए। कहिले मिडिया हाउस, कहिले मिडियासँग सम्बन्धित कार्यालयको अध्ययन भ्रमण गराइरहेको उनले बताए।

प्रकाशित: ६ चैत्र २०७९ १४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App