८ वैशाख २०८१ शनिबार
समाज

यी हुन्– सक्षम दृष्टिविहीन

बायाँबाट दृष्टिविहीन सीता धमला, उत्सव नेपाल, वासुदेव अधिकारी र सुशील अधिकारी। तस्बिरः विजय यादव

काठमाडौं– काठमाडौं महानगरपालिका बौद्ध–६, सिमलटार निवासी वासुदेव अधिकारीसँग यो संसार हेर्न सक्ने क्षमता छैन । तर पनि उनले हरेस खाएनन् । आफ्नो बहुआयामिक व्यक्तित्व प्रस्फुटन गर्न आँखाको कमजोरी अधिकारीका लागि तगारो बन्न सकेन ।

आत्मविश्वास  नगुमाई संघर्ष जारी राखेका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चौथो तहमा कार्यरत छन् । विमानस्थलमा ८ वर्षदेखि टेलिफोन अपरेटरका रुपमा सेवा प्रदान गर्दै आएका उनी सञ्चारकर्मी पनि हुन् । उनी धुलिखेलको ग्रेस एफएममा क्यारिकेचर कार्यक्रम प्रस्तुत गर्छन् । साथै ब्राइट स्टार सोसाइटी संस्थाको अध्यक्ष पदको जिम्मेवारीमा छन् ।

अधिकारीले सुरुमा तिलगंगा आँखा अस्पतालमा जलबिन्दु सहयोग समूहमा परामर्शदाताको रुपमा १० वर्ष काम गरे । नेपाल दृष्टिविहिन कल्याण संघको छात्रवृत्ति पाएर २०५८ सालमा प्रवेशिक परीक्षा उतीर्ण गरेका बासुदेव अधिकारीले ‘आफूलाई सफल र सक्षम दृष्टिविहिन’ भन्ने गरेका छन् ।

दृष्टिविहिन अधिकारीले आफूभन्दा दुईवर्ष भन्दा बढी उमेरका केटीसँग प्रेम विवाह गरी अहिले सुखद दाम्पत्य जीवन बिताइरहेका छन् । धुलिखेलको सञ्जिवनी विद्यालयको होस्टेलमा बसेर कक्षा १० मा अध्ययन गरिरहेका बेला प्लस टुमा अध्ययनरत अस्मिता अधिकारीसित पहिलो भेटमै प्रेम भएको अधिकारीले बताउँछन् । दृष्टिविहिन भएर पनि केही गर्नसक्ने अदम्य साहस देखेर अस्मिताले मलाइ मन पराएकी थिइन्, अधिकारीले भने । अहिले उनको जेठो छोरा कक्षा ७ मा पढिरहेका छन् भने कान्छो कक्षा ५ मा अध्ययनरत छन् । अधिकारी प्रविधिसँग हातेमालो गरेर अगाडी बढिरहेका छन् । उनले समाजिक सञ्जालका हरेक एप्सहरुको राम्रो ज्ञान राखेका छन् ।

पाल्पा तानसेनबाट दृष्टिविहिनले पढ्न सकिन्छ भनेर सुनेपछि २०६१ सालमा काठमाडौं छिरेका उत्सव नेपाल समाजशास्त्रमा स्नातक गरेका छन् । सानैदेखि संगीतमा रमाउने र गीत गाउन रुचाउने नेपाल दुइवटा एल्बम सार्वजनिक गरिसकेका छन् । २०६९ सालमा नेपालका ‘तिमी टाढा छौं’ भन्ने गीत सार्वजनिक भएका छन् भने ‘औधीं माया गरेकी मैले’ बोलको गीत उनले सार्वजनिक गरेका छन् । दृष्टिविहिनहरुको लागि संगीत क्षेत्रमा संघर्ष गरेर अगाडी बढ्नु चुनौती र अवसर पनि रहेको नेपालले बताउँछन् ।

ललितपुरको भैसेंपाटीमा बसिरहेका नेपालले घरमै ‘गीतार’ बजाउने तालिम विद्यार्थीहरुलाई दिइरहेका छन् । तालिम प्रदान गरेवापत राम्रै आम्दानी भइरहेको नेपालले सुनाउँछन् । उनले आफ्नो मिठो स्वरको गीतबाट श्रोतालाई मन्त्रमुग्ध नै गर्छन् । उनी एक सक्षम दृष्टिविहिनको रुपमा स्थापित भएका नेपाल दृष्टिविहिनहरुको लागि प्रेरणाका स्रोत पनि हुन् ।

सातवटा देशमा नेपालको दृष्टिविहिनहरुको अवस्थाको बारेमा अवगत गराउन र विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागि भएका सुशिल अधिकारी त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नात्तकोतर गरेका छन् । ब्राइज्ट स्टार सोसाइटि संस्थामा कार्यरत अधिकारी दृष्टिविहिनहरुको शिक्षा, स्वास्थ्य लगायतका हरेक विषयमा सक्षम बनाउनका लागि काम गर्दै आएका छन् ।

सात वर्षसम्म फोरवार्ड लुकिङ्ग संस्थामा कम्प्यूटर तालिम प्रदान गरेर हजारौं युवालाई सक्षम बनाउन सफल भएका अधिकारी अमेरिका, जपान, स्पेन, कोरिया, मंगोलिया र भारत लगायतका देशहरुमा दृष्टिविहिनको अधिकार मुद्दालाई अगाडी बढाएको छ । उनले अन्तर्राष्ट्रिय स्तरमा रहेको दृष्टिविहिनहरुको सेवा सुविधा नेपालमा कार्यान्वन गर्न पहल गरेका छन् ।

नेपालमा दृष्टिविहिनहरुको संख्या दिनानुदिन बढदैं गएको नेपाल दृष्टिविहिन कल्याण संघका महासचिव विवेककुमार पौडेलले बताए । उनका अनुसार २०७२÷०७३ को असार मसान्तसम्ममा पुर्नस्थापन कार्यक्रमबाट छहजार आठ सय २८ दृष्टिविहिनलाई संघले आयमुलक तालिम दिएपछि त्यसमध्ये एकहजार एकसय एकजनाले रोजगारी पाएका छन् । उनीहरु साबुन झोल, मैनबत्ती, अगरबत्ति लगायतका समानको उत्पादन कार्यमा काम गरिरहेका छन् । संघले तीनसय ३७ जना दृष्टिविहिनलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृति प्रदान गरेको छ । एक हजार ३ सय २४ जना दृष्टिविहिनलाई व्यवसायिक तालिम प्रदान गरेर उनीहरुलाई रोजगार समेत प्रदान गरेको छ । उनीहरु गाई पालन, भैसी पालनदेखि लिएर बाख्रा र कुखुरा पालन व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेको महासचिव पौडेलले बताए । कल्याण संघले अन्तिम आर्थिक वर्षसम्ममा दुईलाख ७२ हजार दुईसय ८६ जना दृष्टिविहिनलाई नेत्र परीक्षण तथा उपचार गराएको तथ्याङमा रहेको पौडेलले बताए ।

नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बुका अनुसार हालसम्ममा चारजना दृष्टिविहीनले विद्यावारिधि गरिरहेका छन् भने, ५५ जना स्नातकोत्तर, १५० जना स्नातक तहमा र ८५० जना एसएलसी दिने तयारी गरिरहेका छन् ।

संघको निर्देशक लिम्बुका अनुसार कुल ९५ हजार दृष्टिविहिनमध्ये तीनजनाले क्याम्पसमा प्रध्यापक छन् । चारसय जनाले विद्यालयमा शिक्षक र शिक्षिकामा रोजगारी पाइसकेका छन् भन् उनका अनुसार कलाकारिता क्षेत्रमा ४० जना दृष्टिविहिन रहेको छन् भने गैरसरकारी संस्थामा छजना दृष्टिविहीन, टेलिफोन अपरेटरमा छजना दृष्टिविहीन, उद्यमीतर्फ एकजना, नेपाल सरकारको निजामति सेवा तर्फ नौजना रहेका छ । जसमा तीनजना अधिकृत, पाँचजना सुब्बा र एकजना खरिदार पदमा रहेर सेवा प्रदान गरिरहको गुरुङले बताए ।

प्रकाशित: १८ मंसिर २०७३ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App