८ वैशाख २०८१ शनिबार
समाज

राजकाँडामा पाहुनाको स्वागतार्थ पूर्वलडाकु दम्पत्ति

बोहरा दम्पत्ति र उनीहरुको घर। तस्बिर: योगेश रावल

मीनबहादुर बोहरा र ममताबोहरा दम्पत्ति हुन्। उनीहरु दुवैजना पूर्वलडाकु समेत हुन्। २०५८ तिर भूमिगत भएका उनीहरुले २०६८ मा स्वेच्छिक अवकाश रोजे। उनीहरुले स्वेच्छिक अवकाश पश्चात पाएको रकम लगानी गरेर लम्कीचुहा नगरपालिकाको मोतिपुरमा करिव ५ वर्ष होटल चलाए।

संसारभर कोरोनाले ब्यापार व्यवसाय तहसनहस बनाएको बेला उनीहरुको होटल समेत ठप्प भयो। मीनबहादुर एकदिन मोहन्याल गाउँपालिका–७ राजकाँडा पुगे। जहाँ उनका बुबा तुलबहादुर क्षेत्री र आमा चम्फादेवी बोहरा बस्दै आएका छन। राजकाँडा उनको पुख्र्यौली थलो हो।

उनले बाल्यकालमा राजकाँडामा घना बस्ती देखेका थिए। घरहरु पनि धेरै थिए। मान्छेको बसोबास पनि बाक्लै थियो। मानिसहरु विभिन्न पेशा व्यवशाय गरेर जीविकोपार्जन गर्थे। त्यहाँको माहौल रमणीय नै थियो। उनी लामो समय पछि पुख्र्यौली थलो पुगेका थिए। उनले बाल्यकालमा देखेको राजकाँडा र अहिले देखेको राजकाँडामा निकै फरक पाए। बस्ती उजाड बनेको छ। जताततै खण्डहर बनेका घरहरु मात्रै छन। मान्छेको चहलपहल छैन।

गाउँमा भएकाहरु पनि वृद्धवृद्धा मात्रै छन। बसाईसराईले राजकाँडा रित्तो बनेको छ। केही दिनको बसाईका क्रममा उनले राजकाँडामा नौला मान्छेहरु पनि देखे। ती मान्छेहरु दिउसो घुम्न आउँथे र साँझ फर्किन्थे। दिनै पिच्छे फरक फरक मान्छेहरु राजकाँडामा देखिन्थे। उनले ती मान्छेहरुलाई राजकाँडामा बास बसाउने उपाय सोचे। उनले त्यसरी घुम्न आउने मान्छेहरुसँग बास नबस्नुको कारण सोधे। सबैको जवाफ थियो ‘बास बस्ने ठाउँ नै छैन।’  

उनको पुख्र्यौली जमिन छँदै थियो। मोतिपुरको होटल छोडिदिए। त्यही पुख्र्यौैली जमिनमा काठको घर बनाए। त्यही घरमा होटल सञ्चालन गरे। श्रीमती ममताले होटलको सबै काम सम्हालेकी छिन्। उनी लम्कीबाट होटललाई आवश्यक पर्ने सामान ओसार्छन।

उनको होटलमा २०/२५ जनालाई खानबस्नको व्यवस्था छ। अहिलेसम्म धेरै मानिसहरु उनको होटलमा बास बसिसकेका छन। ‘सबैजना खुशी भएर फर्किएका छन’ मीनबहादुरले भने–‘पाहुनाको स्वागतमा कुनै कमी हुन दिएका छैनौं।’

उनले गाई पालेका छन्। दूध दहीको समस्या छैन। खसीबाख्रा पनि प्रशस्तै छन्। कुखुरा, हाँस,कालिज पाहुनाले छानेर खान पाउने व्यवस्था गरेका छन्। उनले सस्तोमा खानेबस्ने व्यवस्थाको प्रबन्ध गरेका छन्।

लम्कीको मोतिपुरमा चलिरहेको होटल बन्द गरेर राजकाँडामा होटल सुरु गरेको थाहा पाएपछि उनलाई धेरैले हासोको पात्र बनाए। सबै सुविधा सम्पन्न ठाउँ बसाई सरेका बेला राजकाँडा फर्किनुलाई बौलाहाको संज्ञा दिए। उनका अनुसार स्थानीयले यसो भन्नु् पनि स्वभाविकै थियो। राजकाँडामा बिजुली छैन, पिउने पानीको भरपर्दो व्यवस्था छैन, गतिलो स्कुल छैन,उपचार त परको कुरा सामान्य बिरामी हुँदा ओखती पाउने मेडिकल समेत छैन। यावत समस्याका बाबजुद पनि बोहरा दम्पत्तिले हरेस खाएनन्।

‘यो ठाउँको विकासका लागि कसै न कसैले यो जोखिम उठाउनु पथ्र्यो। हामीले उठायौं’ ममता बोहराले भनिन्–‘कुनै दिन यसको प्रतिफल राम्रै होला।’

हिजो आज राजकाँडामा आन्तरिक पर्यटकको संख्या बिस्तारै बढेको छ। त्यहाँ पुग्नेहरु प्रायःबास बसेर मात्रै फर्किन्छन। बास बस्नका लागि बोहरा दम्पत्तिको होटल बाहेक अन्य विकल्प छैन। एकातिर पर्यटकलाई सुविधा र अर्कोतिर बोहरा दम्पत्तिलाई आम्दानीको स्रोत बढ्न थालेको छ।

‘सुरुमानिकै समस्या भयो। तर अहिले राम्रै भैरहेको छ’ मीनबहादुरले भने–‘दुई छोराहरु राम्रै ठाउँमा पढिरहेका छन्। हाम्रो अवस्था पनि सुधार भैरहेको छ।’ उनीहरुको जेठो छोरा आईटी तर्फ स्नातक तह र कान्छो छोरा सैनिक विद्यालयमा कक्षा १२ मा पढिरहेका छन्।

लडाकु दम्पत्तिको राजनीतिसँगको रस उडिसकेको छ। उनीहरु आफ्नै काममा व्यस्त छन्। पछिल्लो समय विकृती बनेको राजनीतिक अवस्थाले त झन उनीहरुलाई आफ्नो विगत सम्झिन मन छैन। ‘पछिल्लो समय माओवादीसँग त्यत्ति रुची छैन’ मीनबहादुरले भने–‘आफ्नो काम गरेर खानुपर्छ। हामी त्यसैमा खुशी छौं।’

बोहरा दम्पत्ति राजकाँडा पर्यटकीय क्षेत्रका रुपमा विकास हुने कुरामा निकै आशावादी देखिन्छन। उनीहरुलाई चिसापानीदेखी राजकाँडासम्म केवलकार बन्ने कुराले उत्साहित बनाएको छ। उनीहरुले केवलकारले राजकाँडाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छन्। केही महिना भित्रै जालपादेवी केवलकार प्रालिले केवलकार निर्माणको काम सुरु गर्ने बताइएको छ। उसले वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

चुरेको चुचुरोमाअवस्थित राजकाँडा निकै रमणीय छ। यहाँबाट दक्षिणतर्फ तराईको समथर भूभाग र उत्तरतर्फ चुरे पर्वत श्रृङ्खला देख्न सकिन्छ। उत्तरतर्फ नै धेरै पर सेताम्मे हिमाल पनि राजकाँडाबाट सहजै देख्न सकिन्छ।

आँखैले देख्न सकिने भेरी र कर्णालीनदीको दोभान। कर्णाली नदीको पुल, बिहानीपखको सुर्योदय। जताततै हरियाली। राजकाँडाका यिनै कुराले पर्यटकलाई लोभ्याउने गरेको छ।  

राजकाँडा प्राकृतिक रुपमा मात्रै रमणीय छैन। यसको ऐतिहासिक महत्व पनि उत्तिकै छ। राजकाँडा कुन ैबेलाको धुलीकोट राज्यको मुकाम हो। तत्कालिन धुलीकोट राज्यका अवशेषहरु राजकाँडामा भेट्न सकिन्छ।  

प्रकाशित: ६ चैत्र २०७९ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App