१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ठगी रोक्न ट्याक्सीमा बिल प्रिन्टर

काठमाडौं- काठमाडौं उपत्यकामा ट्याक्सीबाट उपभोक्ता ठगिएका गुनासा धेरै आएपछि सरकारले ट्याक्सीको मिटरमा विद्युतीय बिल प्रणाली लागू गर्ने भएको छ। यातायात व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, महानगरीय ट्राफिक महाशाखा, ट्याक्सी व्यवसायीलगायत सरोकारवालाको छलफलले मंसिरभित्रै ट्याक्सीमा विद्युतीय बिल प्रणाली लागू गर्ने निर्णय गरेको हो। यसअघि भदौ २३ मा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै ट्याक्सीमा विद्युतीय बिल प्रणाली लागू गर्ने घोषणा थिए। यसै अनुसार ट्याक्सीमा विद्युतीय बिल अनिवार्य गर्ने तयारी थालिएको हो।

'ट्याक्सीले बढी भाडा असुलेर यात्रु ठगेको दैनिक २/४ वटा गुनासा आउँछन्,' यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने, 'अनुगमन गर्दागर्दै पनि ट्याक्सीको ठगी शून्य हुन सकेको छैन। ट्याक्सीको ठगी रोक्न बिल प्रिन्टर जडान गर्ने तयारी गरिएको हो।' उनका अनुसार यसले मिटरको विश्वसनीयता कायम गरी ट्याक्सीको ठगी न्यून पार्नेछ। विद्युतीय बिल प्रणाली लागू गरेपछि ट्याक्सी चढ्ने यात्रुले मिटरमा उठेको भाडाको बिल पाउनेछन्। बिलमा ट्याक्सी नम्बर, चालकको नाम, समय, दुरी र उठेको भाडार रकम समेत उल्लेख हुनेछ। ट्याक्सीमा प्रिन्टर जडान भने गुणस्तर तथा नापतौल विभागले गर्नेछ।

नापतौल विभागले मंसिरभित्रै ट्याक्सीमा बिल प्रिन्टिङ प्रणाली लागू गर्ने जनायो। 'मंसिरभित्र प्रिन्टर जडान गराउन लगाउनेछौं,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, 'सुरुमा २ सय ट्याक्सीमा प्रिन्टर जोडेर परीक्षण गरिनेछ। परीक्षणपछि समय तोकेर सबै ट्याक्सीमा प्रिन्टर जडान गर्न लगाइनेछ।' उनका अनुसार मंसिरभित्र परीक्षणकाल र पुसभित्र सबै ट्याक्सीमा प्रिन्टर जडान गरिनेछ। प्रिन्टर जडानपछि भने मापदण्ड अनुसार चले नचलेको, यात्रुलाई बिल उपलब्ध गराए नगराएको यातायात व्यवस्था विभाग र महाशाखाले अनुगमन गर्नेछन्।

ट्याक्सी व्यवसायी प्रिन्टर राख्न सहमत भए पनि प्रिन्टर खरिदमा सहुलियत दिनुपर्ने बताउँछन्। 'हामी प्रिन्टर राख्न सहमत छौं,' नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले भने, 'प्रिन्टर जोड्न अहिलेको मिटरले काम पनि गर्दैन। मिटर प्रिन्टर किन्दा करिब ३५/४० हजार रुपैयाँ खर्च लाग्छ। हामी यत्रो रकम एकमुष्ट खर्च गर्न सक्दैनौं। त्यसैले सरकारले नयाँ मिटर र प्रिन्टर खरिदमा सहुलियत दिनुपर्छ।'

बिल उपलब्ध गराउनु व्यवसायीको दायित्व भएकाले ट्याक्सी किनेर चलाउन सक्नेले प्रिन्टर मेसिन पनि किन्न सक्नुपर्ने विभाग प्रमुख पुडासैनीले बताए। उनले तोकिएको समयभित्र मिटर नराखे त्यही अनुसार कारबाही गर्ने चेतावनी समेत दिए।

महाशाखाले पनि सबै ट्याक्सीले प्रिन्टर राखेपछि ट्याक्सी ठगी घट्ने विश्वास राखेको छ। महाशाखाका डिएसपी सविन प्रधानले प्रिन्टरले यात्रुलाई समेत सचेत गराउने हुँदा ठगी रोकिन सक्ने बताए। अहिले काठमाडौं उपत्यकामा ८ हजार ५ सय ट्याक्सी सञ्चालनमा छन्।

महाशाखाले साउनयता बढी भाडा असुल्ने २ हजार ४ सय २१ ट्याक्सीलाई कारबाही गरेको छ। महाशाखाले कारबाहीमा परेका ट्याक्सीलाई कानुनअनुसार हदैसम्म ५ हजार जरिवाना गर्दा पनि ट्याक्सीले यात्रु ठग्न छाडेका छैनन्। महाशाखाको तथ्यांक अनुसार साउनमा ४ सय ९४, भदौमा १ हजार १ सय ९, असोजमा २ सय ७, कात्तिकमा ४ सय ४३ र मंसिरमा १५ गतेसम्म १ सय ६८ ट्याक्सी बढी भाडा असुलेकोमा कारबाहीमा परेका छन्। महाशाखाले सादा पोसाकमा परिचालन गरेका प्रहरीले दैनिक अनुगमन गरी बढी भाडा लिने ट्याक्सीमाथि कारबाही गर्दै आएको छ।

प्रकाशित: १७ मंसिर २०७३ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App