७ वैशाख २०८१ शुक्रबार
समाज

म्याग्दीको विकट मलम्पारमा यात्रुवाहक बस पुग्यो, चालकलाई भव्य सम्मान

म्याग्दीको विकट मानिने धवलागिरि गाउँपालिका–५ मलम्पारमा पहिलो पटक यात्रुवाहक बस पुगेको छ।

धवलागिरि–६,मराङको मराङ–राम्चे, बुल हुँदै मलम्पार सम्म जोडिएको सडकमा मिनी बस नै सञ्चालन हुन थालेपछि स्थानीय उत्साहित भएका छन्।

यात्रु सहित पहिलो पटक गाउँमा पुगेको ध १ ख ११७ नम्बरको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारबासीले फुल माला लगाएर भव्य स्वागत तथा सम्मान गरेका छन्।

धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुँदै वडा नम्बर ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको वडा अध्यक्ष अमर छन्त्यालले बताए।

‘यात्रा छोटिएको छ, स्थानीयलाई आवतजावतमा सहज हुन्छ’ वडा अध्यक्ष छन्त्यालले भने।

उनका अनुसार गत वर्ष मराङ हुँदै बुल र मल्कवाङ देखि दैडाडामा पुगेको सडकलाई यसपालि जोडेर वडा नम्बर ५ र ६ को चक्रपथ बनाइएको थियो।

मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २५ लाख र प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन गरी पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको थियो। 

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको डेढ घण्टाको बाटो करिब आधा घण्टामा छोटिएको स्थानीय युवा मिलन छन्त्यालले बताए। मलम्पारका १५० घरधुरी सडकबाट लाभान्वित भएका छन्।

स्थानीयलाई आवतजावतसँगै स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्न सहज भएको छ। मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडा बाख्रा निकासी गर्न सहज भएको छ।

धवलागिरि गाउँपालिकाकै अति विकट मानिने गूर्जामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन भने गाउँपालिका भित्रको मुदीको मुख्य बस्ती बाहेकका अन्य विकट बस्तीमा समेत सडक सञ्जाल पुग्न सकेको छैन

प्रकाशित: ५ चैत्र २०७९ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App