१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तलेजु पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं-राजधानीको हनुमानढोकास्थित तलेजु मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पले क्षतिग्रस्त तलेजु मन्दिर पुनर्निमाण तीव्र गतिमा भइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले दाबी गरे।

हनुमानढोका संग्रहालय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीका अनुसार साउनमा सुरु भएको तलेजु पुनर्निर्माणमा समितिले पनि आर्थिक सहयोग गरेको छ । समितिका सिनियर इन्जिनियर गोपाल झाका अनुसार तलेजु पुनर्निर्माणमा छानाको गजुर बलियो बनाइएको छ । पुनर्निर्माणमा सबैभन्दा माथिको छानामा पुरानै तामाको पाता प्रयोग गरिएको छ भने तामाका केही नयाँ पाता पनि प्रयोग गरिएको छ ।

नकर्मीका अनुसार सबैभन्दा माथिको छानामा समितिले ९ लाख रुपैयाँ खर्च गरेको छ । अन्तिम चरणमा रहेका बीचको छानाका लागि समितिले ४० लाख रुपैयाँ छुट्याएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार तलेजु मन्दिर जीणोद्धारका लागि विभागले ९० लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकमले तलेजु परिसरको पर्खाल, पेटीको मर्मत र पेटीमा रहेका साना मन्दिर पुनर्निर्माण गरिनेछ।

तलेजुको छाना, पर्खाल र पेटीको पुनर्निर्माण सकिएपछि विज्ञबाट विस्तृत अध्ययन गराइ थप काम गरिने इन्जिनियर झाले बताए । उनका अनुसार जेठसम्म सबै काम सकिने विभागको लक्ष्य छ ।

विश्व सम्पदा सूचीमा रहेका सम्पदा क्षेत्रमा पुनर्निर्माण गर्दा धेरै पक्षमा ध्यान दिनुपर्ने भएकाले पुनर्निर्माणमा बढी समय लागेको प्रमुख नकर्मीले बताइन् । उनले भनिन्, ‘वसन्तपुर क्षेत्रका ७ वटा सम्पदा र ५ वटा स्तम्भको पनि निर्माण चाँडै सुरु हुने छ ।’

नकर्मीका अनुसार भूकम्पमा क्षतिग्रस्त सम्पदाका मूर्ति, गजुर, काठका कलात्मक झ्यालढोकालगायत पुरातात्विक सामग्री हनुमानढोका संग्रहालयमा सुरक्षित राखिएका छन् । तीमध्ये तलेजु पुनर्निर्माणमा पुरातात्विक सामग्री प्रयोग गरिएको नकर्मीले बताइन् ।

भूकम्पमा सम्पदाका ससाना सामग्री हराए पनि ठूला र महत्वपूर्ण सामग्री सुरक्षित रहेको नकर्मीले बताइन्। ‘तलेजु पुनर्निर्माणमा भूकम्पमा जोगिएका सामग्री नै प्रयोग गरिएको छ,’ उनले भनिन्, ‘भूकम्पमा भत्केका स्मारकहरूको पनि मर्मत भइरहेको छ । पुनर्निर्माण गर्दा सकेसम्म पुरानै र प्रयोग गर्नै नसकिने अवस्था भएमात्र मौलिकता रहने गरी नयाँ सामग्री प्रयोग गरिएको छ ।’

वसन्तपुर क्षेत्रका तलेजु मन्दिर सँग–सँगै च्यासीं देगः, ताणिनी देवी, कागेश्वर र महादेव मन्दिर र स्तम्भहरुको निर्माण कार्य भइरहेको विकास समितिका कार्यकारी निर्देशक नकर्मीले बताइन् ।

भुकम्पमा वसन्तपुर दरवार क्षेत्रका प्रसिद्ध काष्टमण्डप मन्दिर, नौतले दरबार, शिवमन्दिर, त्रैलोक्यनाथ मन्दिर, कुमारी घर, विष्णु मन्दिर, ठूलो नगरा, जग्गानाथ मन्दिर, राधाकृष्ण मन्दिर, कामदेव मन्दिर लगायतका ९ वटा मन्दिर पूर्णरुपमा क्षति ग्रस्त भएका थिए भने, २० वटा मन्दिरमा आंशिक क्षति भएको थियो । 

देशभरका सम्पदाको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले दुई अर्ब ३१ करोड रूपैयाँ छुट्याएको थियो । प्राधिकरणका प्रवक्ता भिष्मकुमार भुषालको अनुसार ७ वटा सम्पदाको निर्माणका चाँडै सुरु हुने र ३ वटा सम्पदाको पुनर्निमाण कार्य ०७४ अषाढ मशान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

 

प्रकाशित: १५ मंसिर २०७३ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App