६ वैशाख २०८१ बिहीबार
समाज

साप्सुखोला–बसेरी लिफ्टिङ खानेपानीमा लापरबाहीः पुनर्निर्माण गर्न नगरपालिकाको निर्देशन

तस्वीर: महेश्वर/ नागरिक

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १५ मा निर्माणाधीन लिनेपानी आयोजनामा ठेकेदारको चरम लापरबाही देखिएको छ। १५ नं वडाको विजयखर्कवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माणाधीन ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’ मा ठेकेदारको चरम लापरबाही भएको रहस्य खानेपानीका मुख्य र सहायक ट्यांकी बनिनसक्दै चर्किएपछि खुलेको हो।

आयोजनाको काम गुणस्तरीय नभएको गुनासो गर्दै खबरदारी गर्न ३ सय १३ जनाको हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले आयोजनाको निर्माणस्थलमै पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा खानेपानीको मुख्य ट्यांकी, सहायक ट्यांकी र वितरण पाइपलाइनका काममा लापरबाही भएको निष्कर्ष अनुगमन टोलीको छ। स्थानीयको गुनासोअनुसार ट्यांकी निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएकैले बनिनसक्दै चर्किएको हुन सक्ने नगरपालिकाको निष्कर्ष छ।

विजयखर्कस्थित स्वास्थ्यचौकी डाँडामा निर्माणाधीन २० हजार लिटर क्षमताको मुख्य ट्यांकी बनिनसक्दै चर्किएको स्थलगत अनुगमनमा ठहर भएकाले ठेकेदारको लापरबाही पाइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए। मुख्य ट्यांकीभन्दा मुनि निर्माणाधीन अर्को सहायक ट्यांकी पनि बांगो भएको पाइनुले काममा हदै लापरबाही भएको अनुगमन टोलीको निष्कर्ष छ। टोलीका अनुसार ट्यांकी बनाउँदा गुणस्तरहीन सामग्री लगाएका कारण यस्तो हुन गएको टोलीले जनाएको छ।

ट्यांकी मात्र होइन, आयोजनाको वितरण लाइनको पाइप बिछ्याउँदा पनि लापरबाही गरेको टोलीले फेला पारेको छ। सम्झौताअनुसार ३ फिट गहिरो होल खनेर पाइप गाड्नुपर्नेमा २ फिटमा बिछ्याएर उपभोक्ताका आँखा छल्ने काम गरेको पाइएको छ। गुणस्तरहीन सामग्री प्रयोग गर्दा एकातिर पूर्वाधार संरचना कमजोर बन्न पुगेको छ भने अर्कातिर पाइप लाइन  

बिछ्याउँदा इस्टिमेटभन्दा बाहिर गरेको पाइएपछि नगरपालिकाले भत्काएर पुनः बनाउन निर्देशन दिएको छ। आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन प्रालि बूढानीलकण्ठ–८ काठमाडौं’लाई गुणस्तरहीन काम भएको पाइएकाले भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको बताए।

खानेपानीजस्तो संवेदनशील योजनाको काम गुणस्तरहीन भएको भन्ने स्थानीयबाट गुनासो आएको र हस्ताक्षर संकलन गरेर प्रशासनलाई समेत बुझाएपछि ध्यानाकर्षण हुँदै नगरपालिकाले प्राविधिकसहितको टोली खटाएर स्थलगत अनुगमन गरेको उनले बताए। अनुगमनले सम्झौताबमोजिम काम भएको नपाइएकाले भत्काएर सम्झौताबमोजिमको काम गर्न निर्देशन दिएको मेयर भट्टराईले बताएका छन्। ठेकेदारले सम्झौताअनुसार काम गर्नुपर्नेमा नगरकाले सो ट्यांकी भत्काएर अर्को गुणस्तरीय बनाउन र पाइपलाइन पनि प्राविधिक इस्टिमेटअनुसार बिछ्याउन निर्देशन दिएको हो।

आयोजनाको काम गुणस्तरीय बनाउन उपभोक्तालाई पनि नगरपालिकाले सचेत गराएको छ। आफ्नो गाउँठाउँमा निर्माणाधीन योजना राम्रो र गुणस्तरीय बनाउन स्थानीय उपभोक्ताले पनि उत्तिकै भूमिका खेल्नुपर्ने भन्दै उनले अबदेखि आयोजनाका काममा चनाखो भएर खबरदारी गर्न आग्रह गरे। ठेकेदारले धेरै नाफा कमाउन खोज्दा कमजोरी भएको हो या अन्य कारण हो पत्ता लगाउन उपभोक्ताले पनि खबरदारी गर्नुपर्ने उनको भनाइ छ। आयोजनाको काममा सहयोग गर्न स्थानीय सरोज राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष रामबहादुर कटुवालले बताएका छन्। अध्यक्ष राई ‘सेन्टर फर डेमोक्रटिक इन्जिनियरर्स नेपाल (सिडेन) का पूर्व केन्द्रीय सदस्यसमेत हुन्। अध्यक्ष राईले आफू पनि इन्जिनियर नै भएको भन्दै विजयखर्कको गौरवको खानेपानी आयोजनालाई गुणस्तरीय रूपमा सम्पन्न गर्ने बताए। उनका अनुसार द्रूतगतिमा काम भइरहेको आयोजनाले १५ नं वडा विजयखर्कका ५ सय २३ घरधुरी उपभोक्तालाई छिटै शुद्ध खानेपानी उलब्ध गराउने अपेक्षा गरिएको छ।

संघीय खानेपानी मन्त्रालयको २९ करोड १३ लाख ९९ हजार ९ सय ९० रूपैयाँ लागतमा सो आयोजनाअन्तर्गत साप्सुखोलाको पानी लिफ्ट प्रविधिमार्फत तानेर स्थानीयलाई घरघरमा पुर्याउने प्राविधिक इस्टिमेट छ। गत असार २२ गते सम्झौता गरेर निर्माण सुरु आयोजना दुई वर्षभित्र अर्थात् २०८१ साउन ४ गतेसम्ममा सम्पन्न गरेर हस्तान्तरण गर्ने सम्झौता रहेको आयोजनाका लागि साप्सुखोलामा एक लाख लिटरको रिजर्भ ट्यांकी बन्दै छ भने फूलमती, जुरेथुम्का, बागेढुंगा र स्वास्थ्य चौकी डाँडामा २०–२० हजार तथा सहदेवगढीमा ५० हजार लिटरको गरी ६ वटा मुख्य र सहायक ट्यांकी निर्माण भइरहेको छ। ट्यांकीसँगै सुरक्षााकर्मी बस्ने चौकीदार ब्लक पनि निर्माण भइरहेको छ।

साप्सुखोलाबाट १ हजार ७ सय मिटर लिफ्टिङ गरेर निकालिने पानी वितरण लाइन आइपुगेपछि ५ वटा ट्यांकीमार्फत जम्मा गरेर उपभोक्तासम्म वितरण गर्नुपर्ने प्राविधिक इस्टिमेट छ। वितरण लाइनमा २० हजार लिटरका २ वटा, १४ हजार, १२ हजार र १० हजार लिटरका १–१ ट्यांकी निर्माण गरेर उपभोक्तालाई शुद्ध खानेपानी दिने नगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ। निर्माण कार्य धमाधम भइरहेका बेला गुणस्तरहीन काम भएको पत्ता लागेपछिकेही राजनीतीकरणसमेत हुन पुगेको पनि स्थानीयको गुनासो छ। केही स्थानीयका अनुसार उपभोक्ता समिति गठनदेखि नै राजनीतीकरण सुरु भएकाले पनि यस्तो समस्या आएको पनि आरोप छ।

निर्माण कम्पनीका इन्जिनियर सञ्जीव साहले भने सबै कुरामा गुणस्तरहीन काम नभएको भन्दै एउटा ट्यांकी मात्र सामान्य चर्किएको बताए। उनका अनुसार स्वास्थ्य चौकी डाँडामाथि बन्दै गरेको २० हजार लिटरको एउटा ट्यांकी सामान्य चर्किएको पाइएकाले नगरपालिकाले भनेअनुसार भत्काएर अर्को बनाउने तयारी भइरहेको छ। अरू ट्यांकी सबै ठिकै रहेको, ट्रिटमेन्ट प्लान्टसहित मेनलाइनको ट्यांकी अन्तिम चरणमा पुगेको र समग्र काम ३३ प्रतिशत प्रगति भएको साहले बताएका छन्।

 

प्रकाशित: ४ चैत्र २०७९ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App