१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लिफ्टिङ खानेपानीमा ठेकेदारको लापरबाही: भत्काएर अर्को बनाउन निर्देशन

निर्माण नसकिदै चर्केको ट्यांकीको अनुगमन गर्दै नगरपालिकाको टोली। तस्बिर: महेश्वर

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ मा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदारको गम्भीर लापरबाही देखिएको छ। १५ नं. वडाको विजयखर्कबासीलाई सुद्ध खानेपानी उपलब्ध गराउने उदेश्यले निर्माणाधीन ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’मा ठेकेदारको चरम लापरबाही भएको कुराको रहस्य खानेपानीका मुख्य र सहायक ट्यांकीहरु बनिनसक्दै चर्किएपछि खुलेको हो।

आयोजनाको काम गुणस्तरीय नभएको गुनासो गर्दै खबरदारी गर्न ३ सय १३ जनाको हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले आयोजनाको निर्माणस्थलमै पुगेर अनुगमन गरेको थियो। अनुगमनको क्रममा खानेपानीको मुख्य ट्यांकी, सहायक ट्यांकी र वितरण पाईपलाईनको काममा लापरबाही भएको निश्कर्ष अनुगमन टोलीलेको छ। स्थानीयको गुनासो अनुसार ट्यांकी निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएकैले बनिनसक्दै चर्किएको हुनसक्ने नगरपालिकाको निश्कर्ष छ।

विजयखर्कस्थित स्वास्थ्यचौकी डाँडामा निर्माणाधीन २० हजार लिटर क्षमताको मुख्य ट्यांकी बनिनसक्दै चर्किएको स्थलगत अनुगमनमा ठहर भएकाले ठेकेदारको लापरबाही पाइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। मुख्य ट्यांकीभन्दा मुनि निर्माणाधीन अर्को सहायक ट्यांकी पनि बाङ्गो भएको पाइनुले काममा हदै लापरबाही भएको अनुगमन टोलीको निश्कर्ष छ। टोलीका अनुसार ट्यांकी बनाउँदा गुणस्तरहीन सामग्री लगाएका कारण यस्तो हुन गएको टोलीले जनाएको छ।

ट्यांकी मात्र होईन, आयोजनाको वितरणलाईको पाइप बिछ्याउदा पनि लापरबाही गरेको टोलीले फेला पारेको छ। सम्झौता अनुसार ३ फिट गहिरो होल खनेर पाईप गाड्नु पर्नेमा २ फिटमा बिछ्याएर उपभोक्ताको आँखा छल्ने काम गरेो पाइएको छ। गुणस्तरहीन सामग्री प्रयोग गर्दा एकातिर पूर्वाधार संरचना कमजोर बन्न पुगेको छ भने अर्कातिर पाईपलाईन बिछ्याउदा इस्टीमेटभन्दा बाहिर गरेको पाइएपछि नगरपालिकाले भत्काएर पुन: बनाउन निर्देशन दिएको छ। आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्शन प्रालि बुढानिलकण्ठ ८ काठमाडौं’लाई गुणस्तरहीन काम भएको पाइएकाले भत्काएर पुन:निर्माण गर्न निर्देशन दिएको बताए।

खानेपानीजस्तो संवेदनसिल योजनाको काम गुणस्तरहीन भएको भन्ने स्थानीयबाट गुनासो आएको र हस्ताक्षर संकलन गरेर प्रशासनलाईसमेत बुझाएपछि ध्यानाकर्षण हुँदै नगरपालिकाले प्राविधिकसहितको टोली खटाएर स्थलगत अनुगमन गरेको उनले बताए। अनुगमनले सम्झौता बमोजिम काम भएको नपाइएकाले भत्काएर सम्झौता बमोजिमको काम गर्न निर्देशन दिएको मेयर भट्टराईले बताएका छन्। ठेकेदारले सम्झौता अनुसार काम गर्नुपर्नेमा नगरकाले सो ट्यांकी भत्काएर अर्को गुणस्तरीय बनाउन र पाईपलाईन पनि प्राविधिक इस्टीमेट अनुसार बिछ्याउन निर्देशन दिएको हो।

आयोजनाको काम गुणस्तरीय बनाउन उपभोक्ताहरुलाई पनि नगरपालिकाले सचेत गराएको छ। आफ्नो गाउँठाउँमा निर्माणाधीन योजनाहरु राम्रो र गुणस्तरीय बनाउन स्थानीय उपभोक्ताले पनि उत्तिकै भूमिका खेल्नुपर्ने भन्दै उनले अवदेखि आयोजनाको काममा चनाखो भएर खवरदारी गर्न आग्रह गरे। ठेकेदारले धेरै नाफा कमाउन खोज्दा कमजोरी भएको हो या अन्य कारण भन्ने कुरा पत्ता लगाउन, उपभोक्ताले पनि खवरदारी गर्नुपर्ने उनको भनाइ छ। आयोजनाको काममा सहयोग गर्न स्थानीय सरोज राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष रामबहादुर कटुवालले बताएका छन्। अध्यक्ष राई ‘सेन्टर फर डेमोक्रटिक इन्जिनियरर्स नेपाल (सिडेन)’का पूर्व केन्द्रीय सदस्यसमेत हुन्। अध्यक्ष राईले आफु पनि इन्जिनियर नै भएको भन्दै विजयखर्कको गौरवको खानेपानी आयोजनालाई गुणस्तरीयरुपमा सम्पन्न गर्ने बताए। उनका अनुसार दु्रतगतिमा काम भईरहेको आयोजनाले १५ नं. वडा विजयखर्कका ५ सय २३ घरधुरी उपभोक्तालाई छिट्टै सुद्ध खानेपानी उलब्ध गराउने अपेक्षा गरिएको छ।

संघीय खानेपानी मन्त्रालयको २९ करोड १३ लाख ९९ हजार ९ सय ९० रुपैँया लागतमा सो आयोजना अन्तर्गत साप्सुखोलाको पानी लिफ्ट प्रविधिमार्फत तानेर स्थानीयलाई घरघरमा पुर्याउने प्राबिधिक इस्टीमेट छ। गत असार २२ गते सम्झौता गरेर निर्माण सुरु आयोजना २ वर्षभित्र अर्थात २०८१ साउन ४ गतेसम्ममा सम्पन्न गरेर हस्तान्तरण गर्ने सम्झौता रहेको आयोजनाका लागि साप्सुखोलामा १ लाख लिटरको रिजर्भ ट्यांकी बन्दैछ भने फूलमती, जुरेथुम्का, बागेढुंगा र स्वास्थ्यचौकी डाँडामा २०–२० हजार तथा सहदेवगढीमा ५० हजार लिटरको गरी ६ वटा मुख्य र सहायक ट्यांकी निर्माण भइरहेको छ। ट्यांकीसँगै सुरक्षााकर्मी बस्ने चौकीदार ब्लक पनि निर्माण भइरहेको छ।

साप्सुखोलाबाट १ हजार ७ सय मिटर लिफ्टिङ गरेर निकालिने पानी वितरणलाइन आईपुगेपछि ५व टा ट्यांकीमार्फत जम्मा गरेर उपभोक्तासम्मम बितरण गर्नुपर्ने प्राविधिक इस्टीमेट छ।  

वितरण लाइनमा २० हजार लिटरका २ वटा, १४ हजार, १२ हजार र १० हजार लिटरका १–१ ट्यांकी निर्माण गरेर उपभोक्तालाई सुद्ध खानेपानी दिने नगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ। निर्माण कार्य धमाधम भईरहेका बेला गुणस्तरहीन काम भएको पत्ता लागेपछ केही राजनीतिकरणसमेत हुन पुगेको पनि स्थानीयको गुनासो छ। केही स्थानीयका अनुसार उपभोक्ता समिति गठनदेखि नै राजनीतिकरण सुरु भएकाले पनि यस्तो समस्या आएको पनि आरोप छ।

निर्माण कम्पनीका इन्जिनियर सञ्जिव साहले भने सबै कुरामा गुणस्तरहीन काम नभएको भन्दै एउटा ट्यांकी मात्र सामान्य चर्किएको बताए। उनका अनुसार स्वास्थ्यचौकी डाँडामाथि बन्दै गरेको २० हजार लिटरको एउटा ट्यांकी सामान्य चर्किएको पाइएकाले नगरपालिकाले भने अनुसार भत्काएर अर्को बनाउने तयारी भइरहेको छ। अरु ट्यांकीहरु सबै ठिकै रहेको र ट्रिटमेन्ट प्लान्टसहित मेनलाइनको ट्यांकी अन्तिम चरणमा पुगेको र समग्र काम ३३ प्रतिशत प्रगति भएको साहले बताएका छन्।  

प्रकाशित: ३ चैत्र २०७९ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App